सत्य निरपेक्ष हो कि सापेक्ष ?, एउटा विवाद आदिकालदेखिको

फर्कलान् र ती दिनहरू

सत्य निरपेक्ष हो कि सापेक्ष ?, एउटा विवाद आदिकालदेखिको

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  श्रावण ३०, २०७८

हामीलाई हाम्रा पुर्खाले भनेका रहेछन्- सत्यं वद अर्थात् सत्य बोल । झूठो नबोल । हुन पनि त्यो त साह्रै मुस्किल काम रहेछ, र त हजारौँ वर्षदेखि भनिँदै आयो कि सत्य बोल । तर, सत्य बोल्नु भनेको त एउटा तपस्या रहेछ । सबैले कठोर तपस्या गर्न पनि सक्दैनन् र पालना गर्न पनि सक्दैनन् । 

पहिलेदेखिको परम्परालाई धान्न आज पनि त्यसैले होला, कुनै पनि जबाफदेहीपूर्ण काम गर्ने बेलामा शपथ लिनुपर्छ- ‘... म सत्य, निष्ठापूर्वक काम गर्नेछु । काम गर्ने सिलसिलामा थाहा पाएका कुराहरू आवश्यक पर्ने ठाउँमा बाहेक अन्यत्र कतै वा जथाभावी आफूलाई थाहा भएको कुरा भन्नेछैन ।’

यसैलाई गोपनीयताको शपथ ग्रहण पनि भनिन्छ । अचम्म छ, सत्य बोल्ने कुरालाई जीवनको महत्त्वपूर्ण र नैतिकताको पहिलो कडी मान्ने पूर्वीय दर्शनको आज संसारभर मान्यता छ । हामीले पहिले पहिले केटाकेटीमा सुन्थ्यौँ कि कुनै बेलामा केही कुरा भनाउनका लागि सोधेको कुरा सत्य बोल्छन् कि बोल्दैनन् भनेर हाम्रो देशमा तामा-तुलसी समाएर, तामाको पाथी टाउकोमा राख्न लगाएर, बालबच्चा छन् भने काखमा राख्न लगाएर सत्य बोल्ने कुराको प्रत्याभूति लिइन्थ्यो । हिन्दी सिनेमामा त अहिले पनि कुनै साक्षीलाई केही कुरा इजलासले सोध्ने बेलामा धार्मिक पुस्तकमाथि हात राख्न लगाएर भन्न लगाएको देखिन्छ- ‘म सत्य बोल्नेछु, सत्यसिबाय केही भन्ने छैन ।’

अझ संयुक्त राज्य अमेरिकाका राष्ट्रपति हुने मानिसले त ( सामान्यतया पुरुष राष्ट्रपति भएका रहेछन् आजसम्म) आफ्नो परिवारको सबैभन्दा पुरानो बाइबलमा हात राखेर शपथ लिनुपर्नेरहेछ, जसमा उनकी (यदि विवाहित हुन् भने) श्रीमतीले बाइबल समाउने अनि एउटा हात उठाएर अर्को हातले बाइबल छोएर शपथ लिनुपर्नेरहेछ । 

सामान्यतया कुनै सांसद या संवैधानिक अंगको नियुक्ति पाएको व्यक्तिले पनि कार्यभार सम्हाल्ने भनेको नै शपथ ग्रहण गरेपछि हो । कतिपय देशमा शपथ ग्रहणको एउटै भाषा हुन्छ तर आजभोलि हाम्रो नेपालमा भने ईश्वरका नाममा या जनताका नाममा शपथ लिने चलन छ । यसो हुनुमा के पनि कारण होला भने नेपालमा आफूलाई कम्युनिस्ट सिद्धान्त मान्नेहरू पार्टीको सिद्धान्तअनुसार नै चुनिएर आउन थाले । धर्म भनेको अफिम हो भन्ने सिद्धान्त र द्वन्द्वात्मक भौतिकवादप्रति आस्था भएकाले ईश्वरका नाममा शपथ नलिएको बुझ्न सकिन्छ तर हालै मात्र प्रधानमन्त्री पदबाट भूतपूर्व हुनुभएका नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पदको शपथ ग्रहण समारोहमा शपथ ग्रहण गर्दागर्दै ‘प्रतिज्ञा’ भन्ने शब्दसमेतलाई भन्न रुचाउनुभएन ।

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीजीले सायद त्यो शब्द प्रधानमन्त्रीले ध्यान दिन सक्नुभएन कि भनेर दोहोर्‍याएर भन्दा ‘त्यो पर्दैन’ भनेर उल्टै राष्ट्रपतिजीलाई सिकाएको सुन्दा सत्यप्रति उहाँलाई कति अपत्यार रहेछ भन्ने पनि लाग्यो । शपथ ग्रहण गराउने आधिकारिक सम्माननीयले बोलेको शब्दलाई त यथावत् बाचन गर्नुपर्छ नत्र त्यो शपथ लिएको ठहरिँदैन भन्ने पनि सुनिएको हो । जस्तो कि संयुक्त राज्य अमेरिकामा जब राष्ट्रपति पदमा बाराक ओबामा विजयी भएर ह्वाइट हाउसमा शपथ ग्रहणका लागि उपस्थित भएका थिए, त्यसबेलामा उनले शपथ बाचन गर्दा स्पष्ट नभएका शब्दहरूलाई तत्कालीन प्रधानन्यायाधीशले फेरि दोहोर्‍याएर शपथ ग्रहण गराएको पनि उदाहरण छ । नेपालमा पनि पहिलो उपराष्ट्रपति परामानन्द झाले या त नेपालीमा बाचन गर्नुपर्ने या त आफ्नो मातृभाषामा बाचन गर्नुपर्ने शपथ ग्रहणलाई हिन्दीमा बाचन गरेको कुराले संवैधानिक व्याख्यासमेत भयो र त्यो शपथलाई मान्यता दिइएन । केही समयपछि उनले नेपालीमा नै शपथ ग्रहण गर्नुपरेको थियो । 

पूर्वउपराष्ट्रपति सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पनि भएका व्यक्ति थिए । एउटा प्रावधानचाहिँ रहेछ, यदि शपथ ग्रहणका लागि मातृभाषामा लिने हो भने आधिकारिक रूपमा नेपाली भाषाको शपथपत्रलाई त्यही मातृभाषामा अनुवाद गरेर सम्बन्धित शपथ दिलाउने आधिकारिक व्यक्ति या संस्थालाई पहिले नै दिनुपर्ने रहेछ ।  

सत्यसँग सबैको साक्षात्कार भएको हुन्छ र सत्यको पक्षमा उभिन सकिन्छ त भनिन्छ तर सबैभन्दा मुस्किल काम रहेछ यो । हामीलाई आमाको पहिलो शिक्षा नै थियो- सत्य बोल्नू, सत्यको विपक्षमा कहिल्यै नजानू । मैले कक्षा १ मा पढ्ने बेलामा राम्रो नेपाली भाग १ भन्ने पुस्तक थियो, २०१७ सालमा ।  त्यसबेलामा नेपालभरि एउटै पाठ्यक्रम र पाठ्यपुस्तक हुँदो रहेनछ भन्ने पछि मात्र थाहा भयो । सायद जनकपुर र सगरमाथा अंचलका लागि त्यो पुस्तक तयार गरिएको थियो । 

मेरी आमाले सत्यको कुरा गर्दा भन्नुहुन्थ्यो मलाई, ‘हेर हरि, सधैँ सत्यको मात्र कुरा गर्दा त्यो सत्यले अरूको हानि गर्छ, आफूलाई पनि ग्लानि हुन्छ र अहित गर्छ भने सकेसम्म मौन बस्नू, नभए तत्काललाई असत्य बोलेर पनि अरूको ज्यान बचाउनू, अरूको इज्जत बचाउनू, जसले समाजलाई अनुशासनहीन हुनबाट बचाउँछ ।’

पाठ्यपुस्तकका भरमा पढ्ने त हो नि अहिले पनि । त्यो पुस्तकको पहिलो पाठमा नै ‘सत्य बोल’ भन्ने पाठ थियो, जसमा राम र हरि नामका २ दाजुभाइ थिए । राम दाजु र हरि भाइ हुन् । उनीहरूका पिताजीले आँपका बिरुवा लगाएका हुन्छन् । राम र हरि विद्यालयको चौरबाट खेलेर आउँदा रामले एउटा आँपको बिरुवा उखेलेर फ्याँक्छ । साँझमा उसका पिताजीले त्यो बिरुवा उखेलेको देखेर कसले उखेलेको ? भनेर सोध्छन् । रामले मैले त होइन भन्छ । हरिसँग सोधेपछि हरिले सत्य बोल्ने भएर दाजुले उखेलेको हो भन्छ । 

पिताजीले रामलाई गाली गरेको र हरिलाई स्याब्बास भनेको कथाले मलाई एउटा प्रभाव के परेको थियो भने हरिले जहिले पनि सत्य बोल्नुपर्छ । अर्थात् कसैसँग पनि असत्य बोल्नुहुँदैन । एउटा प्रभाव परेको हो । म पनि सतप्रतिशत नै सत्य नै बोलेँ हुँला भनेर त भन्न सक्दिनँ अहिले आएर तर सकेसम्म आफूले जाने सुनेसम्म सत्यको पक्षमा नै रहेको छु । 

हाम्रो समाजको एउटा आदर्श नै हो कि सत्य बोल्नुपर्छ । सत्यमेव जयते नै भनिन्छ अर्थात् अन्तमा सत्यको नै विजय हुन्छ । हाम्रो समाजमा जेसुकै भए पनि सत्यको पक्षमा बोल्नेलाई भलाद्मी भनिन्छ, असल मानिसको रूपमा लिइन्छ जबकि यो साह्रै नै कठिन काम हो र तपस्या पनि हो रहेछ । 

कतिपय कुरा सबैले मनमा दबाएर राखिन्छ किनभने तत्काललाई त्यसबाट अपमान हुन्छ, सामाजिक हानि हुन्छ । त्यसैले महाभारतमा भनिएको छ, ‘सामूहिक हितका लागि सत्यभन्दा पर पनि अर्को सत्य हुन्छ, त्यो हो- आपद्धर्मको रक्षा ।’

मलाई त्यस्ता धेरै समस्या आएका छन् र पनि सकेसम्म सत्यको पक्षमा उभिँदा समाजका कतिपय संभावनाका क्षणहरू गुमेका छन् तर त्यसमा कहिले पनि ग्लानि भएन । किनभने म  सत्यको पक्षमा थिएँ । तर, एक पटकको एउटा घटनाले मलाई अहिले पनि नमिठो लाग्छ । भएको के थियो भने, सन् १९९४ मा दक्षिण कोरियाको राजधानी सोलमा वा सिउल जे भनौँ, त्यहाँ एसियाली खेलकुद लेखकहरूको सम्मेलन थियो, जहाँ म नेपालका तर्फबाट नेपाल खेलकुद लेखक संघलाई प्रतिनिधित्व गर्दै भाग लिइरहेको थिएँ । त्यो साल निर्वाचन भएको थियो एउटा वरिष्ठ उपाध्यक्षको पदमा । अरू सबै पदमा त निर्विरोध भएको थियो । एएसपीयू भन्ने नाम थियो त्यो संस्थाको । वरिष्ठ उपाध्यक्ष पदमा मलेसियाका जोन भन्ने भारतीय मूलका पत्रकार नै उठेका थिए भने भारतबाट प्रतिनिधित्व गर्ने श्यामसुन्दर घोष पनि उठेका थिए । उनले मलाई भनेका थिए, ‘हरि भाइ, तिम्रो मत आयो भने म जित्छु ।’ मैले भनेँ, ‘हुन्छ, पक्का दिन्छु दादा तर अध्यक्षमा निर्विरोध भएका पार्क कापचुललाई पनि एक पटक तिमी र म भएर कुरा गरौँ ।’

उनले मलाई विश्वासका साथ भने, ‘पार्कको उम्मेदवार मै हुँ र मलाई नै मत दिनका लागि उनले भन्नेछन् । कुरा गर ।’

मैले फेरि भनेँ, ‘दादा, म कुरा गर्छु है त पार्कसँग ।’

उनले दृढताका साथ ‘हुन्छ कुरा गर । उसले जे भन्छ, त्यही गर’ भने ।

एक त अध्यक्ष भइसकेका छन् पार्क, अर्कोतिर उनकै आयोजनामा कार्यक्रम सफलताका साथ सम्पन्न हुँदै छ, त्यत्रो खर्चका साथ । होटेर सोल टावर जस्तो महँगो होटलका कार्यक्रम भएको छ । आयोजक राष्ट्र, आयोजक संस्थाको पहिलेको र अहिलेको अध्यक्षलाई सोधेपछि जे भन्नेछन्, त्यही गर्ने निधो मैले गरेँ । निर्वाचनका दिन बिहान उनैले बोलाएर मलाई सोधे, ‘कसलाई दिनुहुन्छ त भोट ?’

मैले भनेँ, ‘मसँग त भोट श्यामजीले मात्र मागेका छन् तर तपाईं नै भन्नुहोस्, तपाईंको टिममा को छ र कसलाई भोट दिने हो ?’

उनले भने, ‘मेरो कुरा भइसकेको छ, श्यामलाई होइन, मलेसियाको प्रतिनिधिलाई दिने कुरा भएको छ । श्यामलाई अरू नै जिम्मा दिने कुरो भएको छ ।’

अनि मैले भनेँ, ‘खोइ त, श्यामले उम्मेदवारको सू्चीबाट नाम निकालेको छैन त ?’

पार्कले हाँसेर भने, ‘उनले झिक्नेछन् । ल त्यही कुरा भयो है !’

मलाई लाग्यो, कुरा मिलेछ । श्याम दादाले नाम निकालेछन् किनभने पार्कले भनेको मान्नू भनेर उनले नै मलाई भनेको सम्झिएँ । नभन्दै मतदान एकछिनका नै सम्पन्न भयो र नतिजा पनि तत्कालै आयो । 

उनी मनेर आएर रिसाउँदै सोधे, ‘जम्मा हामी २ जना हिन्दु थियौँ र पनि मलाई भोट नदिएर मलेसियनलाई दिएछौ त भाइ ?’

मैले सोधेँ, ‘दादा, कति मत आयो त ?’

उनले झर्किंदै भने, ‘मेरो मात्र एक मत आयो नि !’

यदि २ मत मात्र आएको थियो भने उनले त्यो मत मेरै भन्ने ठान्ने रहेछन् । 

मैले हिन्दीमै स्पष्टीकरण दिएँ, ‘श्याम दा’, आपने तो कहा था पार्क जो कुछ कहेगा, वैसा ही करना । तो पार्क नै मुझे कहा कि श्यामको नहीं, जोनको मत देना क्यों कि वही मेरा पक्षका है और श्याम से बात हुआ है ।’ 

मैले हिन्दीमा बोल्नुपर्ने कारण थियो- यदि म अंग्रेजीमा भन्थेँ भने अरूले पनि बुझ्ने थिए । पार्क आएर श्यामलाई लिएर कतै गए अनि मलाई ग्लानि पनि भयो एकातिर भने अर्कोतिर उनले नै मलाई जे भन्छ पार्कले, त्यही मान्नू भनेकाले पश्चात्ताप नै त भएन । त्यसपछि त्यो मेरालागि अविष्मरणीय घटना बनेको छ जीवनमा । 

फेरि मैले त्यो समितिमा सहभागिता पनि जनाएको छैन र फेरि उताबाट बोलावट पनि आएको छैन । त्यसको कारण थियो- नेपाल खेलकुद पत्रकार मञ्चले नेपाल पत्रकार महासंघको एसोसिएट सदस्यता लिएकाले मैले एउटै देशबाट धेरै संस्थाको प्रतिनिधित्वले विवाद जन्मने र म पनि खेलकुद पत्रकारितामा सक्रिय नभएकाले अनि मेरा साथीहरू पनि त्यति सक्रिय नभएकाले त्यो संस्था नै अहिले निस्क्रिय नै छ र पनि २७ वर्षअघिको त्यो घटनाले मलाई अहिले पनि मैले गल्ती पो गरेको थिएँ कि भन्ने लाग्छ । 

भोलिपल्ट बिहानै सोलको अन्तर्राष्ट्रिय विमानस्थलमा म बैंककका लागि उडेँ । त्यसपछि मेरो सम्पर्क पनि भएन श्यामसुन्दरसँग अनि पार्कसँग पनि, जोनसँग पनि । 

मलाई र कृष्ण केसीलाई एउटै कुरामा गर्व छ कि हामीले नेपालको खेलकुद पत्रकारको संस्थालाई एसियन खेलकुद पत्रकारको संस्थामा जोडेका हौँ । अहिलेको नयाँ पुस्तालाई थाहा पनि छैन होला किनभने अहिले नेपालमा खेलकुद पत्रकार मञ्चले आफ्नो गतिशीलता देखाएको छ र खेलाडी, पत्रकार तथा खेल पत्रकारितालाई मद्दत गर्नेहरूलाई पुरस्कृत गरेको सुन्न र देख्न पाइन्छ । खुसी लाग्छ, कम्तीमा पनि नेपाली पत्रकारहरूको पनि खेलकुद विधामा राम्रो विकास भएको छ । 

हामीले त राजनीतिक , साहित्यिक, खेलकुद, अपराध, आर्थिक सबै खालका विधामा लेख्ने बेलामा पत्रकारिता सुरु गरेका थियौँ । खेलकुद परिषद्मा हामी पंचायतविरोधी पत्रकार भनेर चिनिएकाहरू त्यति जाँदैनथ्यौँ तर खेलकुद पत्रकारहरूका गुरु मानिएका गोपाल बस्नेतले हाम्रो व्यवस्था गरेर खेलकुदको बेलामा सित्तै प्रवेशको व्यवस्था गर्नुभएको थियो । साप्ताहिक पत्रिकामा खेलकुदका बारेमा खासै समीक्षा नहुने भए पनि सुरु भने गरिएको थियो विज्ञान पत्रकारिता, खेलकुद पत्रकारिताका विधामा हाम्रो राष्ट्र पुकारमा पनि । मैले राष्ट्र पुकारमार्फत् नै विज्ञान पत्रकारिता, विकास पत्रकारिताका तालिम लिने मौका पाएको थिएँ । 

कुरो सत्यको पक्षमा कसरी उभिने भन्ने प्रसंग थियो । मेरो अनुभवमा सत्य साँच्चै नै कडा अनुशासनको नाम हो, जसलाई पालना गर्न मुस्किल मात्र होइन कि त्यो तपस्यामा सफल हुन साँच्चै मुस्किल हुन्छ । सबैजसो मानिसका लागि केही न केही गोप्य कुराहरू हुन्छन्, अनुभूतिमा त्यस्ता कुराहरू जमेर बसेका हुन्छन्, जुन अरूले थाहा नपाऊन् भन्ने मनमा परेको हुन्छ । 

अहिलेको खोजी पत्रकारिताको एउटा चुनौती पनि त्यही हो, मानवीय कमजोरीको त्यो पाटोलाई कति बाहिर ल्याउने हो वा कति समाजका लागि पाच्य हुने हो, खोजी गरेपछि समाजलाई, राज्यलाई फाइदा भयो भने मात्र त्यसले प्रतिफल दिन्छ । कतिपय समयमा खोजी पत्रकारिताले दिएको परिणामले न समाजलाई, न राज्यलाई, न त सम्बन्धित पक्षलाई नै फाइदा हुन्छ । सत्यको खोजी अनवरत आवश्यक छ र त्यहीचाहिँ  सदैव चुनौतीको रूपमा सगरमाथाको उचाइ लिएर बसेको हुन्छ । 

सबैका मनमा रहेका सत्यहरू बाहिर प्रकाशमा आउँदा कतिपयको आत्महत्या गरेका छन्, कतिपयको परिवार टुटेको छ र कतिपय गलत जानकारीका कारणले आजीवन जेलमा सडेका छन् किनभने सत्यको खोजीमा कतै न कतै कमजोरी भएकाले सत्य कतै हुन्छ तर परिणाम अर्कै सत्यको रूपमा देखापर्छ । 

महाभारतमा बारम्बार एउटा प्रसंग आउँछ- महामन्त्री विदुरले महाराजा तथा आफ्ना दाजु धृतराष्ट्रलाई जतिसुकै सम्झाए पनि र आफ्ना सन्तान तथा भाइ पाण्डुका सन्तानलाई बराबरी व्यवहार गर्नका लागि सुझाव दिँदा पनि महाराज धृतराष्ट्रले पुत्रमोहका कारणले छोराहरूका गलत दबाबलाई छिचोल्न सकेनन् । 

अर्को पनि मनोवैज्ञानिक कारण देखिन्छ- सत्ता भनेको सधैँ पाइँदैन, एक पटक पाएको सत्तालाई गुम्न दिनुहुँदैन । जसरी पनि सत्तामा टिक्नै पर्छ र जे गर्दा हुन्छ, त्यसैगरी सत्तालाई टिकाउनुपर्छ । आफ्नो कुनै गल्तीका कारणले नभएर प्राकृतिक रूपमा नै जन्मँदै दृष्टिहीन धृतराष्ट्रका लागि राजा विचित्रवीर्यकी महारानी अम्बिकाको छोरो, पहिलो छोरो हुँदा पनि राजा हुने साइत जुरेन । जेठो छोरो नै राजा हुने तत्कालीन परम्परामा त्यही दृष्टिहीनता नै अभिशाप बन्यो र उनी राजा हुन पाएनन् । उनको हकको राज्य उनका अर्की आमा अम्बालिकाबाट जन्मेका भाइ पाण्डुको हातमा पुग्यो । वास्तवमा ती बालकहरूलाई त केही पनि थाहा थिएन किनभने त्यसबेलाको राज्यको हर्ताकर्ता त राजमाता सत्यवती र हस्तिनापुरका अभिभावकका रूपमा रहेका राजकुमार देवव्रतको हातमा थियो सम्पूर्ण राज्यसत्ता । 

स्वयं देवव्रत सत्यभाषी र दृढ प्रतिज्ञ राजकुमार थिए । उनी त्रिकालदर्शी थिए र पनि उनले सत्यको पक्षमा सधैँ उभिन नसकेकाले होला, कुरुवंशीमध्ये धृतराष्ट्रका सन्तानहरू सखाप भए, मारिए र मात्र कौरवको सत्यानाश भएको होइन कि पूर्वीय सभ्यताको एउटा युगको नै विनाश भयो, जसले विश्वयुद्धको रूप लियो सत्य र असत्यका लागि । 

श्रीकृष्णले सत्यको पक्षमा उभिनका लागि बारम्बार आफूले अवतार लिने र धर्मको, सत्यको पक्षमा जीत गराउने भनेका पाइन्छ र भीष्म पितामह अर्थात् देवव्रतलाई उनको अन्त्यकालका त्यसको सम्झना गराए पनि आफूले प्रायश्चित गर्ने भनेर हतियार छाडी प्राप्त दैवी क्षमताको प्रयोग गर्दै उत्तरायणमा मात्र देहत्याग गर्ने समय कुरेर बसेका थिए मृत्यु शय्यामा । 

मेरी आमाले सत्यको कुरा गर्दा भन्नुहुन्थ्यो मलाई, ‘हेर हरि, सधैँ सत्यको मात्र कुरा गर्दा त्यो सत्यले अरूको हानि गर्छ, आफूलाई पनि ग्लानि हुन्छ र अहित गर्छ भने सकेसम्म मौन बस्नू, नभए तत्काललाई असत्य बोलेर पनि अरूको ज्यान बचाउनू, अरूको इज्जत बचाउनू, जसले समाजलाई अनुशासनहीन हुनबाट बचाउँछ ।’

भन्नुहुन्थ्यो, ‘कहिलेकाहिँ नरो वा कुञ्जरो वा हुन्छ ।’

महाभारतमा पनि त्यस्तो भएको रहेछ । युधिष्ठिर जस्तो सत्यवादीले पनि एक पटक झूठ बोलेर जिउँदै स्वर्ग पुगे पनि एक पटक नरकको दर्शन गर्न बाध्य भएका थिए रे ! पछि जब मैले महाभारतको अध्ययन गर्ने मौका पाएँ हो रहेछ । धर्मका अवतार मानिएका महाराज युधिष्ठिरले पनि द्रोणाचार्यको अन्त्यका लागि रचिएको असत्य संवादमा सहभागिता राखेको देखिन्छ । कस्तो रहेछ भने कथा- गुरु द्रोण सबै हतियारका ज्ञाता, ब्रह्मास्त्रका ज्ञाता र सिकाउने उनै । चक्रव्युह रच्ने, अरू पनि युद्धका रणनीतिका महान् गुरु र आफैँ लडाकु पनि । उनको मृत्युका लागि द्रुपदको यज्ञबाट जन्मेका सद्य युवा धृष्टद्युम्न र सँगै जन्मिएकी कृष्णा, जसलाई पछि द्रुपद पुत्रीका रूपमा द्रौपदी भनेर चिनियो र पाण्डवकी साझा रानी । विश्रुत उद्भट विद्वान् तथा लडाकु योद्धा महारथी द्रोणाचार्यको अन्त्य नभई पाण्डवको जीत सम्भव थिएन र नियतिले धृष्टद्युम्नलाई जन्माएको नै गुरु द्रोणको मृत्युको कारण बन्न थियो । धृष्टद्युम्नले नै मार्नुपर्ने विधिको विधान रहेछ । तर, गुरु द्रोणले पाएको वरदान रहेछ, छोरा अश्वत्थामाको मृत्युको शोकले मात्र उनले मृत्यु वरण गर्ने अर्थात् त्यो शोकले मात्र गुरु द्रोणले समाधि कस्ने आँखा चिम्लेर । 

फेरि त्यो समयका चर्चित गुरुकुलका कुलपति नै द्रोण थिए र धृष्टद्युम्न, शिखण्डिनी (पछि शिखण्डी, सुरुमा महिलाको रूपमा जन्म, पछि स्थूणाकर्ण यक्षमार्फत पुरुषको पुंसत्व प्राप्त गरेको क्लीव राजकुमार, जसको कारणले भीष्म पितामहको मृत्यु हुनु थियो) पाण्डव र कौरवसँग पढेका थिए । त्रिकालदर्शी गुरु द्रोणलाई थाहा थियो, उनको मृत्युको कारण मित्र पछि शत्रु बनेका द्रुपदको यज्ञदत्त पुत्र धृष्टद्युम्न नै हुन् । 

गजबको समीकरण । छोरोका मृत्युको खबरले वा पक्का समाचारले या मृत शरीरको दर्शनले मात्र द्रोणको मृत्यु संभव हुने, छोरो चिरञ्जीवी, कहिल्यै नमर्ने अनि छोरो नमरीकन बाबुको मृत्यु नहुने । धृष्टद्युम्नको जन्मको कारण नै गुरु द्रोणको मृत्युका लागि । जसरी हुन्छ, अश्वत्थामाको मृत्यु हुन जरुरी थियो तर जो चिरञ्जीवी छ, त्यसलाई कसले मार्ने र ? तर, एउटा रणनीति अपनाइयो, अश्वत्थामा नामको हात्तीको हत्या गर्ने र हल्ला चलाउने कि अश्वत्थामाको मृत्यु भयो । 

एकातिर गुरु द्रोणलाई छेकेर राखिएको छ युद्ध मैदानमा किनभने उनले गर्ने लडाइँले पाण्डव सेना सखाप हुँदै थिए । अर्कोतिर अश्वत्थामाको मृत्युको हल्ला पनि आवश्यक थियो र गुरुले आफ्नै आँखाले नदेखी नपत्याउने कुरा थियो । पाण्डव पक्षतर्फ खुसियाली हुन थाल्यो- ‘अश्वत्थामाको मृत्यु भयो’, ‘अश्वत्थामाको मृत्यु भयो ।’

त्यो हल्लाका कारणले गुरु विक्षिप्त भए तर उनलाई के विश्वास थिएन भने मेरो चिरञ्जीवी छोरो कसरी मरेको होला र ? कसले पो मारेको होला र ? हल्ला थियो- भीमले मारेको । थाहा थियो गुरुलाई कि मेरो छोरालाई भीमले मार्नै सक्दैन किनभने नियतिको खेलमा त्रिकालदर्शी गुरुलाई त्यो  कतै शंका नै थिएन । तर, हल्ला जो भएको थियो अश्वत्थामाको मृत्युको । 

भीम पनि नाच्दै गाउँदै खुसी हुँदै गुरुको वरिपरि नाच्न थाले । गुरुले पनि शंका निवारणका लागि युधिष्ठिरले भनेमा मात्र आफूले पत्याउने भने । उता, युधिष्ठिरलाई नाटकमा पात्रले बोल्ने पाठ जस्तो सिकाइएको थियो कि अश्वत्थामाको मृत्यु भएको कुरा सम्प्रेषण गर्नुपर्छ गुरुको अघिल्तिर । तर, युधिष्ठिरका लागि यो ठूलो परीक्षा थियो जीवनमा किनभने अरूको त के कुरा भयो र, आफ्नै गुरुको अन्त्य तत्कालै हुने थियो आफूले सत्यको पक्ष नलिँदा भने सत्यको पक्षमा उभिँदा आफ्नो हार निश्चित थियो द्रोणाचार्यको शूरताका कारणले ।

गुरु नै थिए सेनापति पाण्डवका विरुद्धमा दुर्योधन र शकुनिको षड्यन्त्रमा । गुरुलाई पनि थाहा थियो सत्य र धर्म पाण्डवको पक्षमा थियो तर आफू अर्को सत्यका लागि लड्दै छु, त्यो हो- दुर्योधनका लागि हस्तिनापुरको रक्षाको प्रतिबद्धता । २ वटा परस्पर सत्यको बीचमा भएको अन्तरद्वन्द्व नै गुरुको महाभारतको युद्धमा उपस्थिति थियो । 

थाहा थियो द्रोणाचार्यलाई कि यो युद्धको अन्तिम परिणाम पाण्डवको पक्षमा हुनेछ तर कसरी थाहा थिएन, त्यो त थाहा थियो मात्र भीष्म पितामह, श्रीकृष्ण अनि सहदेवलाई र भविष्यलाई । 

युधिष्ठिरले भने गुरुले सुन्नेगरी, ‘हो गुरु, अश्वत्थामाको मृत्यु भएकै हो तर मानिस हो कि हात्तीको थाहा भएन । नरो वा कुञ्जरो वा अश्वत्थामा हतोहतः । मानिस हो कि हात्ती हो, अश्वत्थामाचाहिँ मरेकै हो गुरु ! ‘हात्ती’ वा ‘कुञ्जरो वा’ भन्ने बेलामा बाजा बजाइयो, नगडा बजाइयो अनि गुरुले हात्ती भनेको सुनेनन् । 

युधिष्ठिरको विश्वासमा, सत्यवादिताको पूर्ण विश्वासमा द्रोणाचार्यले द्रोणीको मृत्यु भएको ठानेर समाधिमा बसेकै बेलामा उनकै चेलो धृष्टद्युम्नले टाउको छिनाएको थियो, जसलाई पाण्डवहरूले चिन्ताको विषय माने तापनि आफ्नो विजयका लागि त्यो नै अर्को सत्य ठाने । 

यसपछि मेरी आमाको नरो वा कुञ्जरो वाको अर्थ मैले थाहा पाएको हुँ । सत्यका कतिवटा रूप हुने रहेछन् त ? त्यसैले सत्यको अवस्था पनि निरपेक्ष नहुने रहेछ भन्ने मेरो मान्यता रहेको छ तर सत्य एउटै हुन्छ, त्यो सापेक्ष भए पनि सबैलाई थाहा हुन्छ । के सत्य हो, के असत्य हो भनेर भारतका राष्ट्रपिता मोहनदास करमचन्द गान्धीले भनेका थिए । उनलाई एउटा अन्तर्ज्योति प्राप्त भएको थियो- उनको हत्या बन्दुकको गोलीले नै हुन्छ । उनले भनेका रहेछन्, ‘मेरो हत्या भयो भने पनि म त्यसलाई सहर्ष स्वीकार गर्छु र प्रतिवाद गर्नेछैन । र, अरूले पनि उसको प्रतिहत्या नगर्नू ।’

२ दिनअघि मात्र आफ्नो सत्यका लागि प्रवचन कार्यक्रममा गान्धीले यो कुरा भनेका थिए भन्ने लोकोक्ति छ । महात्मा गान्धीलाई सत्यप्रति अत्यन्तै आस्था थियो र उनका लागि धर्म भनेको सत्य हो र सत्य भनेको पनि धर्म हो भन्ने थियो ।

क्रमशः