दुई हजार सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण

दुई हजार सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

काठमाडाैं । आइतबार दिनभरजसो सरकारी वेबसाइटहरू खुल्न सकेनन् । एकसाथ सर्भर ‘डाउन’ हुँदा वैदेशिक रोजगार, राहदानी, राजस्व र मालपोतलगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुप-यो । एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवरुद्ध भयो । चिनियाँ ह्याकरले सरकारी वेबसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुसन्धानले पत्ता लगाएको छ ।


त्यसो त चार दिनदेखि लगातार सरकारी वेबसाइटमाथि आक्रमण प्रयास भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले बताए । उनका अनुसार निरन्तर आक्रमणकै कारण सरकारी वेबसाइटमा समस्या आएको हो । ‘आक्रमण रोक्न हामीले लगातार प्रयास ग-यौँ । तर, छिनछिनमा हुने आक्रमणले सबै सरकारी वेबसाइट एकसाथ बन्द हुन पुगे,’ उनले भने, ‘डाटा सेन्टरमा सुरक्षा प्रणालीका रूपमा डिजिओएस हार्डवेयर र उच्च क्षमताको सर्भर प्रयोग गरिएको छ । त्यसका बाबजुद वेबसाइटमा आक्रमणकारीले एकैपटक ठूलो मात्रामा ट्राफिक पठाउँदा थेग्न नसकेपछि सर्भर डाउन भएको हो ।’केही दिनयता सरकारी वेबसाइट छिनछिनमा बन्द हुने समस्या देखिएको थियो । आइतबार १०ः३० बजेपछि करिब पाँच घन्टा सरकारी वेबसाइट पूरै बन्द रहे । 

‘कहिलेकाहीँ फेसबुक पनि रोकिन्छ । यस किसिमको जोखिम आउँछ भनेर सचेत रहने विषय हो,’ सहायक निर्देशक पोखरेलले भने, ‘हामी अहिले समस्याको छिद्र पहिल्याइरहेका छौँ । आगामी दिनमा यस किसिमको आक्रमण आउन नदिने प्रयासमा जुटिरहेका छौँ । सम्भवत अब यो हदसम्मको समस्या बेहोर्नुपर्ने छैन ।’ केन्द्रको अनुसन्धानमा चिनियाँ भूमिबाट साइबर हमला भएको देखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छ ।