'स्यानी’ : कारुणिकता र संस्कारगत जानकारीसहित आख्यानको उत्कृष्ट लेखन

'स्यानी’ : कारुणिकता र संस्कारगत जानकारीसहित आख्यानको उत्कृष्ट लेखन

उद्धव बिष्ट ‘चुम्लुङे'  |  साहित्य  |  श्रावण ३०, २०७८

आमाको अत्यन्त गहिरो ममतामा डुबेर गरिएको स्मरणको संगालो रहेछ उपन्यास ‘स्यानी’ । आमा जसको शरीर भित्रबाट त्यस्तै अर्को शरीर बनिएर प्रत्येक मानिस जन्मिएको हुन्छ । यहीँ कारण उसले सबैभन्दा माया गर्ने र आफ्नो लाग्ने मानिस नै आमा सम्झन्छ । यस्ती ममताकी खानी आमासँग सशरीर कहिल्यै भेट नहुने कल्पना गर्दा मानव आँसु बहाउन थाल्छ, मुर्छित नै हुन्छ । यस पुस्तकले पाठकलाई आफ्नी आमासँग लाडिएका, खाएका, रमाएका दुःख, सुख प्रत्येक क्षणको स्मरण गराउँदछ । भावविह्वल बनाउँदछ । जति पुस्तक पढ्दै गयो उति आँखा रसाउँदै जान्छन्, आँखा पुच्दै, पुच्दै, बिसाउँदै, बिसाउँदै पढ्नुपर्ने हुन्छ । करुण रसले भरिएको उत्कृष्ट औपन्यासिक आख्यान हो ‘स्यानी’ । 

फ्लासब्याक शैलीमा लेखिएको यस उपन्यास आमा विमारी भएको टेलिफोन पाएपछि सुरु भएर आफूले थाहा पाउँदादेखि आमासँग बोलेको, हिंडेको, कथा सुनेको, खेतबारीमा गएर काम गरेको, मामाघर गएको, मेलापात गरेको, हाटबजार गएको, डाक्टर कहाँ गएको, नाँचगान गरेको, तीर्थ गएको, ब्रत बसेको, भजन गाएको, खर्च मागेको, लुकीलुकी रतेउली नाँच हेरेको, विभिन्न चाड पर्वमा आमाले मीठो, मीठो पकाएर दिएको यावत घटनाहरूलाई आमाको लास उठाउँदादेखि चोखिएको तेहौं दिनसम्मका तेह्र वटा शीर्षकमा घुमाइ, घुमाइ आमाको अद्योपान्त स्मरणलाई सरल, सरस, सिलसिलाबद्ध र कारुणिक बनाएर उल्लेख गर्नु लेखकको अत्यन्त सफल लेखनी मान्नु पर्दछ । कास्की र स्याङ्ग्जाको सेरोफेरोमा प्रयोग हुने स्थानीय भाषाको प्रचुरता छ भनेर लेखक आफैंले उल्लेख गरेको यस पुस्तकको भाषा त्यहीँको बोलीचालीको भाषामा छ र प्रचलित लेख्य नेपाली भाषाभन्दा केही शब्दहरू भिन्न रहेका भए पनि प्रसङ्गले अर्थ बुझ्न सकिन्छ । 

‘स्यानी’ उपन्यासका केही विशेषताहरू

नेपाली संस्कार र परम्पराको अमूल्य सँगालोका रूपमा यस उपन्यासलाई लिन सकिन्छ । उपन्यास पढ्दै जाँदा प्रसङ्गअनुसारका हाम्रा मान्यता, विज्ञानले पुष्टि गर्न नसकेको तर अनुभवले सत्य बनाउँदै ल्याएका भनाइ प्रशस्त रहेका छन् । मानिसका जन्मदेखि मृत्युसम्मका संस्कार र सम्पन्न गर्ने तरिका यहाँ रहेका छन् । कुनै चोट, खोट बिना जन्मिएको बालक छोटो आयुको हुन्छ भनेर लामो आयुको बनाउन कान छेडेर खोट लगाउने, धेरैलाई दिएर अरूकै सन्तान बनाउन कहिले माग्नेको छोरो बनाउन जोगीको थैलीमा राखिदिने, कहिले दमिनीको सुजेरोमा राखिदिने चलनलाई पुस्तकले स्पष्ट पार्दै माइलो छोरा हेला हुने भन्ने परम्पराको चित्तबुझ्ने खण्डन पनि पाइन्छ । धागाले बाँधेको चिठी आउनु भनेको मरिमराउको समाचार आउने, काग कराउँदा शुभ, अशुभ खबर छुट्याउने, एकान्त ठाउँमा बिरालाले बाटो काटेमा साइत नहुने, गाउँमा चिठी लेखिदिने, ढङ्ग पुर्‍याएर पढिदिने र ढङ्ग पुर्‍याएर खाममा ठेगाना लेखिदिने चलन यस पुस्तकले जानकारी दिलाउँछ । स्थानीयताअनुसार प्रकृतिको पूजा गर्ने, नाग देवता, काली भगवती, खोला, डाँडा, वनस्पति, जङ्गल आदिको पूजा र संरक्षणको जानकारी पाइन्छ । 

'म आमाको अगाडि पुगेँ तर बोल्नै सकिनँ । आमाको फरियाँमा गुटुमुटु हुँदै रोएँ मात्र । आमाले माया गर्दै सोधिन् 'के भो ? किन रोको ?' म फेरि पनि बोल्नै सकिनँ । आमाले मेरो कपाल सुम्सुम्याउँदै फेरि भनिन् 'कान्छा किन रोको ? के भो ? मैले आमाको फरियाबाट मुन्टो निकालेर रुँदै भने 'हाम्रो भैंसी बाँच्दैन रे ! मर्च रे ! ती गाम्का मुन्छेले भैंसी बाँच्दैन भनेर नलिइ माथि ठडिए ।'

आस्तिक र नास्तिक बीचमा समन्वय र सुधारको स्वर

‘परोपकार पुण्यायः पापाय परपीडनम्’ । अरूको उपकार हुने पुण्य काम गर्नुलाई धर्मशास्त्रहरूले राम्रो काम मानेको छ र अरूलाई दुःख दिने काम साह्रै नराम्रो मानेको छ । हो, अहिलेको नियम, कानुनले पनि यहीँ कुरा अनुशरण गरेकाले आस्तिक र नास्तिक बीचमा पनि समन्वय रहनुपर्ने पुस्तकको भाव पाइन्छ । 

अहिले धेरै मानिस आफूलाई नास्तिक ठान्छन् तर सम्पूर्ण रूपमा नास्तिक हुन विज्ञानले प्रमाणित गर्न सकेको छैन । लेखकको आफ्नै घरमा साँझको पौने सात बजेदेखि पौने आठ बजेको समयमा महिनादिनसम्म आलो ढुङ्गा घरको छाना र आँगनमा बर्सिंदा कसैले हानेको पत्ता लगाउन नसकेर गाउँ विकास समितिमा निवेदन दिएपछि गाउँ विकास समितिका मानिसहरू आएर ठूला, ठूला उज्याला बत्ती बालेर चारैतिर ड्युटी बस्दा पनि ढुङ्गा हान्ने मानिस भेट्न नसकेका तर ढुङ्गा हानिरहेको ९१०५०, पछि झाँक्रीलाई हेराएर सेती नाग र काली नागको पूजा गरेपछि ढुङगा हान्न छोडेर त्यहीँ घर शान्त भएको उल्लेख छ । 

लेखकलाई दाइँका दिन पिठ्युँमा एक्कासी घोचेको सिल्का हानेको, अस्पताल भर्ना हुनु परेको तर एक्सरे गर्दा पनि केही नदेखिएको । अस्पतालबाट घरमा आएपछि आमाले ज्योषितीकहाँ आखत हेर्न लानु भएको र सिम्लेका सेती नाग र घरको पश्चिम पट्टिका काली नागको पूजा गरेपछि पिठ्युँमा घोच्न र सिल्का हान्न हराउँदै गएको । उपन्यासका म पात्रको भन्छ, 'पूजा गर्दा मलाई हानी भएन । हानी नहुने कुरा गर्नै नहुने पनि होइन । बरु यो एक किसिमको दृष्टान्त जस्तै हो'(११०) ।

काग कराउनु, धपाउँदा दक्षिण दिशातिर जानु र सपना पनि नराम्रो देखेको लक्षणसँगै कण्ठी भैंसी मर्नुले संयोग भए पनि केही न केही लक्षण दिएको विश्वास व्यक्त भएको छ । परीक्षाको नतिजा आउनु अगावै बाआमाको सपनाबाटै थाहा हुने गरेको विश्वास रहेको छ (१९६) । संस्कार मान्दिनँ भन्नेले पनि न्वारान, ब्रतबन्ध बिहे र काज किरिया गरेको देखेको छु भन्ने कुरा उपन्यासको म पात्रको भनाइ रहेको छ (७१) । मानिसका सोह्र संस्कार मध्ये अन्तिम मृत्यु संस्कार हो । राजा बभ्रुवाहन र प्रेतत्व (सुदेव) को वार्ता भएको कथा, छोराको नाम नारायण राखेको अजामिलले अन्तिम अवस्थामा छोरालाई नारायण भनेर बोलाउँदा विष्णुलोक प्राप्त गरेको अजामिलको कथाको प्रसङ्ग पनि गरुड पुराण वाचन गर्ने शिव दाइले भनेको भनी उल्लेख गरिएको छ ।

उपन्यासका म पात्र (लेखक) परम्परामा जे छ त्यो हुबहु लगाउने पक्षमा होइन समय सन्दर्भअनुसार परिमार्जन हुँदै जानुपर्ने शिव दाइको विचारमा सहमत छन् र पाँच दिनका दिनदेखि थलामा भातसँग गाईको दही खान थालेको उल्लेख छ (७०) । सानो छँदा लौका बेच्न लैजाँदा सँधैजसो किन्ने जेटिएले लौका नकिनी अबदेखि लिएर नआउनू भन्दा लेखकलाई झोंक उठेको छ र सुधारको सङकेत पाइन्छ । पुस्तकले पोथी जातिको हत्या गर्नै नहुने र सबै प्राणीको रक्षा गर्नु पर्ने सन्देश दिएको छ । 'तेरै जीउजस्तै होइन सर्पको पनि π मार्न हुन्च  (९३) । मृत्यु हुनेको बारेमा चिन्ता गर्नु ज्ञानी हुन नसक्नु हो (१६४) । 

व्यावहारिक यथार्थताको स्पष्टता 

उपन्यास सम्पूर्ण रूपमा गाउँले बोली, व्यवहार र चलन उतार्न सफल देखिन्छ । सेती भैंसी, काली भैंसी, कण्ठी भैंसी पालैपालो पालिएको, तिनीहरूको स्याहार गरिएको, आमाले भैंसी व्याएपछि एक डाडुभरि दूधदिउँला भनेपछि काममा झन जाँगर लगाएको प्रसङ्ग छ । बाबाले अचानक काली भैंसी बेच्दा भैसींका मायाले रोएको, कण्ठी भैंसी खरबारीबाट लडेर उठ्न नसकी धेरे दिनपछि मरेको र त्यो खबर आमालाई भन्न नसकेर भक्कानिएको, डाको छोडेर रोएको प्रसङ्गले तत्कालीन नेपाली समाजको चित्रण गर्न उपन्यास सफल भएको छ । 

घरमा खेतबारी मेलाको काम गर्न प्रायः शनिबार पार्नु परेको छ । यहीँ यथार्थलाई यसरी उल्लेख गरेको पाइन्छः “हाम्रा घरमा मल बोक्न शनिबारै छानिन्थ्यो । बालाई स्कुल छुट्टी हुने, हामी पनि स्कुल जानु नपर्ने ९१०१० । 

घरमा आइपुग्दा सबैभन्दा पहिले आमाको खोजी हुने । आमालाई घरमा नदेख्दाको प्रसङ्ग यसरी लेख्छन्ः

'मैलै आँगनबाटै आमालाई बोलाएँ ।'
'आमा π ए आमा... π'
'होइ.....', आमा बोलिन् । 
'काँ छ्यौ ?' सोधें 
 'किन र ? पुचारा गराँ । यतै आइज ।'

सफलताका लागि भगीरथ प्रयास गरिनुपर्ने

राजा भगीरथ (सगर, असमञ्जस, अंशुमान, दिलीप पछिका भगीरथ) ले साठी हजार जिजुहजुरबाहरूका पनातिहरूको सत्गद गरी उद्धार गरेका । यहीँ अथक प्रयासको प्रतीकका रूपमा धैर्यसाथ गरिएको निरन्तर प्रयासलाई भगीरथ प्रयास भन्ने गरिएको भन्दै विद्यार्थीहरू र सबैसबैलाई सफल हुनका लागि धेरै प्रयास गर्नु पर्ने सन्देश प्रदान गरेको पाइन्छ । 

कारुणिकता 

उपन्यासको धेरैभन्दा धेरै ठाउँ करुण रसले भरिएको लाग्दछ । उपन्यासकी प्रमुख पात्र आमा जसलाई मावलपट्टिका सबैले स्यानी भन्छन्, उनी तीन वर्षकी हुँदा बाबाले आमा र दाजुलाई लाहुरमा लिएर जाँदा स्यानीलाई मामाघरमा छोडिएको थियो । बाबाले लाहुरबाट उतै आसामको लाम्लिङतिर बसोबास गरेपछि आमाहरू उतै बसेका । उतै अरू तीन जना भाइहरू पनि जन्मिएका । हिउँद हिउँदमा बाबा आएर भेट भए पनि आमा कहिल्यै आउनु भएन । त्यसपछि आमाले आफ्नी आमालाई कहिल्यै भेटिनन् (१६६) । कण्ठी भैंसी मरेको सन्दर्भमा उपन्यासको म पात्रले भन्छ– 'म आमाको अगाडि पुगेँ तर बोल्नै सकिनँ । आमाको फरियाँमा गुटुमुटु हुँदै रोएँ मात्र । आमाले माया गर्दै सोधिन् 'के भो ? किन रोको ?' म फेरि पनि बोल्नै सकिनँ । आमाले मेरो कपाल सुम्सुम्याउँदै फेरि भनिन् 'कान्छा किन रोको ? के भो ? मैले आमाको फरियाबाट मुन्टो निकालेर रुँदै भने 'हाम्रो भैंसी बाँच्दैन रे ! मर्च रे ! ती गाम्का मुन्छेले भैंसी बाँच्दैन भनेर नलिइ माथि ठडिए ।' बोल्दाबोल्दै मैले डाको छाडेछु । आमाले मेरो हात समाएर घर भित्र लगिन् । उनका आँखाबाट पनि आँसु झरिरहेका थिए' (१९३) । 

उपन्यासमा प्रकृति चित्रण 

बारीमा घाँस काट्न जाँदा कहिलेकाहीँ आमा पाकेका खनिया, बेलौती, बेडुला, कटुस, तिजु, चुत्रो आदि पटुकीमा राखेर ल्याइदिन्थिन् (१२२) ......'बाहिर झलमल्ल उज्यालो थियो । मैले आकाशतिर हेरें । टहटह जून लागेका थिए ।” ।....जूनको उज्यालो भए पनि रातको चकमन्नता कायम थियो । पैरागम्डामा पाती हाल्ने, कुखुरा खोले, सिक्लेसी, लिमेलीका घरतिर पनि सुनसान थियो । कहीँ कहीँ कुखुरा बासेको सुनिन्थ्यो । जूनको उज्यालोमा आमा र म कस्सिएर हिड्यौ । फलाँटे हुँदै हलाको टाउको पुगेपछि मलाई डर लाग्यो–तल पनि वन माथि पनि वन । घर कतै पनि थिएनन् । आमा र म सास दबाएर हिँडिरह्यौंँ (१३४) । 

राष्ट्रियता    

गरुड पुराणमा धर्मराजले शासन गर्ने तरिका बताएको प्रसङ्ग उल्लेख गर्दै भोलिको काम आजै र आजको काम अहिल्यै गर्नुपर्ने बानी बसाल्न सकेमा हाम्रो जस्तो देशका लागि ज्यादै महत्वपूर्ण हुने उपन्यासमा उल्लेख छ (१८५) ।

मानिसले कुरा बुझेर मात्र काम गर्नुपर्ने प्रसङ्ग

बाबाले अह्राए अनुसारको पुस्तक नल्याउँदा बाबाले रिसाउँदै के ल्याइस भनेर सोधेको प्रसङ्गमा दिइएको जवाफले बुझेर मात्र काम गर्नुपर्ने ज्ञान दिन्छ । बाबाले भाइरथेकाँ गर देवी भागवत किताब मागेर ले भन्नुभा’को रहेछ । उपन्यासको म पात्रले सुन्नासाथ हतार हतार पानी कागज ओडेर दौडंदै भाइरथेकाँ गएर 'देवीको किताब दिनु न भनेर माग्दा देवी त घाँस काट्न गाकी रैच । मैया दिदीले देवीको किताब ह्यै रच झोलामा लैजा भनेर दिइन् । त्यै लेर आएँ' भन्दा पुनः दौडन परेको छ (१९८) ।

उपन्यासले सामाजिक सद्भाव बढाउन दिएको सन्देश 

जाडो महिनामा हिमाली क्षेत्र लोमान्थाङबाट आएका मानिसको प्रसङ्गमा आमाले उनीहरूसँग पुर्खादेखिको सम्बन्ध रहेको र उनीहरूलाई सँदा आदर गर्नुपर्ने, आफैंजस्तो ठान्नुपर्ने भनेर कोदोसँग जिम्मु साटेको र इष्टको छोरासँग उपन्यासको म पात्रको मीत लगाइदिने प्रस्ताव उपन्यासमा उल्लेख छ ।

उखानटुक्का, भजन र गीतको प्रयोग

उपन्यास प्रसङ्गअनुसारका उखानटुक्का, भजन तथा गीतहरूको प्रयोग भएको पाइन्छः 

उखानटुक्काः भैंसी हुनेको वन, छोरा हुनेको धन (४७) । अड्को फड्को तेलको धूप (७०) । शोक न सुर्ता, भोक न भकारी (९७) । वनकी देखे उँधो भाग्नु, सर्प देखे उँभो भाग्नु । छेरुवा गोरुले दाइँ बिगार्छ (१३१) ।

केटाकेटी गीतः दगुर कुइरा दगुर तेराँ घराँ चोर पस्यो, भाँडाकुँडा लुकायो थोत्राथाम्ना हटायो । यो घर कसको..... ।

बीस गन्ने खेलः अकना चकना चारै चकना, लोबरी लंका मन्दना गाई, मन्दना गाईले गर्जो खाई गुर्जो खाँदा कौडी तीस, मैले गन्दा पुगो बीस । 

कुकुरले नटोक्ने मन्त्रः ओम् कालीकुत्ते सेती दाँत, आयो कुत्ते लफरलफर कान, फर्किंदो कुत्ते महादेवकी वहान फट् (१४९) ।

दोष मेट्ने मन्त्रः काँशी गएँ, जौ तिल खाएँ, नुहाएं, घर आएँ, मइन खाँबाआँ टङ्ङ ठोक्किएँ (९६) ।

दाइँगीतः आजका बरतुका परालका दाम्ला, चाँडै गर वरतु हो बेलै माथि जाम्ला हहहह भैया हो 
मियोको टुप्पोमा बसिहाल्यो कोइली आजका दँयलेलाई घिउका चोइली हहहह भैया हो (१३१) ।

रत्यौली गीतः रत्यौलीमा निम्ता छ मलाई, जानु पर्‍यो जोर मादल भिरेर ।
घाम लागे उकाली सिँढीमा, भाइले दुलही ल्याइसके पिँढीमा । 
तीजे गीतः घिरम्ली चिचिन्ना साँच आमा तीजलाई, कुहेको कर्कलो जनै लाम्नीलाई (१६८) ।
गीतः काँचो कटर, म जान्छु खैरेनी रोक मोटर । 

पुस्तकमा पाइने अन्य सन्देशहरू

पुस्तक अध्ययनले गाउँले जनजीवन, वस्तु चराउनेतरिका, वस्तु व्याउँदा दिइने घाँस, विगौती दूध तताउने तरिका, घ्यू खार्ने तरिका, मोही बाँड्ने चलन, दाइँका गोरुको जोहो मिलाउने तरिका, खेतालाको जोहो, दाइँको जानकारी, वनभोजको रमाइलो, अञ्चालाधीशको आगमन र तत्कालीन राजनीतिक प्रशासनिक प्रभाव, बिऊ रोप्दा जोडा रोप्नुपर्ने, कर्‍याङकुरुङ आएसी काँक्राफर्सी रोप्नुपर्ने, पँधेरामा महिलाले गाउँभरिको खबर आदन प्रदान गर्ने, चोर्न नहुने, केरा फुकेर मुहुनी लाको आदि जानकारी पुस्तकमा पाइन्छ । बिहान नियमित परिश्रम गर्ने, पानी पिउने । घुम्न नगएका र जानेहरूलाई रेल बारेमा जानकारी । बाबाआमाले बालबालिकाहरूको मनोविज्ञान बुझ्न आवश्यक भएको, खानेकुरा बाँडेर खाने आदि सन्देश पुस्तकले स्पष्ट गरेको पाइन्छ । 

अन्त्यमा,
    आमाको मन र व्यवहार आफ्ना छोराछोरीका लागि कति स्नेही, गहिरो र समर्पित हुन्छ भन्ने रसास्वादन गर्न ‘स्यानी’ उपन्यास अति नै पठनीय लाग्दछ । छोराछोरीको माया र यिनीहरूलाई कसले खाना पकाएर समयमा खुवाउला भन्ने चिन्ताले सकेसम्म आमाले घर छाडेर कहीँ नगएको देखिन्छ । छोराछोरीलाई अनुशासित हुन, लगनशील बन्न, उत्तरोत्तर प्रगति गर्न सक्दो सहयोग र हौसला दिँदै सचेत र सजग गराइएको छ ।

आफ्नो परम्परा र संस्कारअनुसार चाडपर्व मनाउने, तीर्थ, ब्रत गर्ने, छिमेकमा सहयोग गर्ने, सामाजिक सद्भाव राख्ने, जुनसुकै प्राणीको जीवन रक्षा गर्ने, अठार पुराणको चर्चा गर्दै गरुड पुराणको व्याख्या, स्वस्थानी ब्रतकथा, नाग पूजा लगायत धर्मशास्त्रका कथाहरूको चर्चा गर्दै समयानुकूल अर्थ लगाएर समाजलाई लाभदायी हुने र व्यक्तिलाई विश्वास दिलाउने गरी कथावाचकले कथाको अर्थ लगाउनुपर्ने भाव व्यक्त गरिएको पाइन्छ । आमा सानो हुँदैदेखि सबैले स्यानी भन्ने गरेका र आमाकै सेरोफेरोमा लेखिएको उपन्यास ‘स्यानी’ हुनाले शीर्षक सार्थक रहेको छ ।

यस उपन्यास अध्ययन गर्दा आमा गुमाएकाहरूले प्रत्येक घटनाक्रम पढिरहँदा आफ्नी आमा उपस्थित भएको अनुभूति हुन्छ । आमाका साथैमा रहेकाहरूले, आमाको महत्व अझ गहिरो बनाउने, आफ्ना आमाबाबालाई बोझ ठानेर वृद्धाश्रम पठाउन चाहनेहरूको मनोभावना परिवर्तन हुने त छ नै आमाबाबालाई वृद्धाश्रममा राख्नेहरूलाई पनि फर्काएर ल्याउने भावना जगाउनेछ भन्ने लाग्दछ ।

यस समीक्षकले सानो कक्षामा पढ्दा ‘लुसी’को कथा पढेका समयमा आँखामा आँसु बगेका थिए, अलिक ठूलो कक्षामा ‘शिशिर वसन्त’को कथाले आँखा द्रविभूत बनायो । क्याम्पस पढ्दा गुरुप्रसाद मैनालीको ‘बिदा’ कथा तथा राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘गौरी’ खण्डकाव्यले सुँक्क, सुँक्क बनाएको थियो भने अहिले ‘स्यानी’ उपन्यास पढ्दा हुँक्क, हुँक्क नै बनायो । लेखकका शैक्षिक सन्दर्भका अघिल्ला कृतिहरू ‘सिकाउने शैली’ अनि ‘सिकाइ र सहयोग’ अति चर्चित र महत्वपूर्ण मानिए जस्तै यस पुस्तक कारुणिकता र संस्कारगत जानकारीका लागि सबैले अध्ययन गर्न धेरै उपयोगी हुने ठान्दछु । लेखकका अन्य कृतिको निरन्तरताको अपेक्षा राख्दै शुभकामना व्यक्त गर्दछु । नमन भन्न चाहन्छु ।

कृतिः स्यानी (उपन्यास)
लेखकः खगराज बराल
सम्पादनः होम भट्टराई 
प्रकाशकः साङ्ग्रिला बुक्स प्रा. लि.
संस्करणः पहिलो (२०७७ चैत्र) 
मूल्यः रु ४७५/–
पृष्ठ सङ्ख्याः २५७