पाकिस्तानी दूतावासले मनायो ७५औँ स्वतन्त्रता दिवस

पाकिस्तानी दूतावासले मनायो ७५औँ स्वतन्त्रता दिवस

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३१, २०७८

पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा पाकिस्तानी दूतावासले झण्डोत्तल समारोह आयोजना गरेको छ । नेपालस्थित पाकिस्तानी दूतावासका उपनियोग प्रमुख अदनान जाभेद खानले पाकिस्तानको झण्डोत्तोलन गरेका थिए ।

कोरोना भाइरसको महामारीका कारण पाकिस्तानी दूतावासका अधिकारीहरू मात्र कार्यक्रममा सहभागी भएका थिए । सो अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीले दिएको शुभकामना बाचन गरेर सुनाइएको थियो ।

समारोहलाई सम्बोधन गर्दै उपनियोग प्रमुख खानले मोहम्मद अलि जिन्हाको कुशल नेतृत्वमा पाकिस्तानले स्वतन्त्रता पाएको स्मरण गरे । उनले जम्मु काश्मिरको समस्या त्यहाँका जनताको चाहाना र संयुक्त राष्ट्रसंघले गरेको प्रस्तावअनुसार हुनुपर्नेमा पाकिस्तान दृढ रहेको दोहोर्‍याए ।

पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले रिसेप्सनको आयोजना गरेको थियो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

उपराष्ट्रपति पुनले नेपाल र पाकिस्तानबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

बेलायती उपनिवेशबाट मुक्त भएको दिनलाई पाकिस्तानले हरेक वर्ष १४ अगस्टलाई स्वतन्त्रता दिवसको रूपमा मनाउँदै आएको छ । १४ अगस्ट १९४७ मा पाकिस्तान बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो । त्यसको एक दिनपछि भारत बेलायती उपनिवेशबाट मुक्त भएको हो ।