भारतीय स्वतन्त्रता दिवस: गोरखा सैनिकका परिवारलाई ४ करोड ४५ लाख प्रदान

भारतीय स्वतन्त्रता दिवस: गोरखा सैनिकका परिवारलाई ४ करोड ४५ लाख प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३१, २०७८

काठमाडौं, ३१ साउन । भारतको ७५औँ स्वतन्त्रता दिवस काठमाडौंस्थित भारतीय दूतावासमा मनाइएको छ ।

स्वतन्त्रता दिवसलाई 'आजादी का अमृत महोत्सव'का रूपमा मनाइएको भारतीय दूतावासले जनाएको छ । महोत्सव १५ अगस्ट २०२३ सम्म जारी रहनेछ ।  

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रिय झण्डा फहराएर उत्सवको सुरुवात गरेका थिए । उनले भारतका राष्ट्रपतिको सन्देश पढेर पनि सुनाए ।

राष्ट्रपतिको सन्देशमा विगत ७५ वर्षमा विभिन्न क्षेत्रहरूमा भएको प्रगतिलाई प्रकाश पारिएको थियो । भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जलि अर्पण पनि गरिएको थियो ।

राजदूत क्वात्राले एकल महिला र भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरूका आफन्तलाई ४ करोड ४५ लाख रुपैयाँ र प्रत्येक परिवारलाई कम्बल वितरण गरी सम्मान गरे ।

समारोहमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरूद्वारा देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा राजदूत क्वात्राले नेपालको सांस्कृतिक विरासत स्थलहरूको संरक्षणका लागि 'कला र सांस्कृतिक विरासतका लागि भारतीय राष्ट्रिय ट्रस्ट (आईएनटीएसीएच)को वेबसाइट उद्घाटन गरे ।