हिन्दु संस्कार, संस्कृति र परम्परामाथि मात्र पटक पटक प्रहार किन ?

हिन्दु संस्कार, संस्कृति र परम्परामाथि मात्र पटक पटक प्रहार किन ?

विभूति शर्मा  |  दृष्टिकोण  |  श्रावण ३१, २०७८

संस्कार, संस्कृति र परम्परालाई लिएर अहिले विभिन्न कोणबाट तर्क, वितर्क जारी छन् । कतिपयले संस्कार, संस्कृति र परम्परामा सभ्यता रहेको ठान्छन् भने कतिपयले यिनलाई रुढ विषय मान्छन् । धर्मसँग यिनलाई जोडेर हुने आलोचना पनि कम छैन ।

धर्म भन्नु र संस्कृति, परम्परा अनि संस्कार भन्नु एउटै नहुन सक्छन् । धर्मको फैलावट र परिभाषा सीमित छैन । विश्वमा अनेक धर्मको प्रादुर्भाव र प्रचलन छ । कुनैकुनै धर्म व्यक्तिकेन्द्री छन् भने केही धर्म आदर्श केन्द्रीत छन् । जस्तो कि बुद्धका अनुयायीहरू बुद्ध धर्म मानेको ठान्छन् भने कृष्णका अनुयायी कृष्ण प्रणामी (यो सम्प्रदाय मात्र भए पनि धर्मकै रूपमा लिन्छन्) । क्रिश्चियन धर्म पनि जिसस क्राइस्टका नाममा सुरु भएको पाइन्छ । यस्ता अनेकौँ धर्महरूले कुनै न कु्नै व्यक्तिविशेषलाई आदर्श मानेर पछ्याइरहेका पाइन्छ ।

यहाँ धर्मको सन्दर्भ कोट्याइए पनि छलफलको विषय भने संस्कार, संस्कृति र परम्पराकै हो । तथापि, प्रचलनमा रहेका धर्महरूभित्र पनि विभिन्न सम्प्रदाय छन् र तिनले आफूलाई अलग धर्मको मान्न थालेका छन् । उनीहरूका आआफ्नै मत, धारणा, विश्वास र चलन रहि आएकाे पाइन्छ ।

माथि नै भनियो कि धर्मको व्याख्या र परिभाषालाई छोटोमा भन्न र व्यक्त गर्न सकिँदैन । यति भन्न भने सकिन्छ– सम्पूर्ण चराचर, जीव, जगतको संरक्षण, सुरक्षा र सेवा नै धर्म हो । यसका लागि कुनै अमूक व्यक्ति वा आदर्शको पूजा गरिरहनु आवश्यक हुँदैन । तर, कसैले यसका लागि आफूलाई निश्चित अनुशासनमा बाँध्न कसैका सकारात्मक आदर्श र मूल्य, मान्यतालाई अनुसरण गर्छु भन्छ भने त्यो गलत हुन सक्दैन ।

समग्रमा, हरेक समाज, समुदाय र जातजातिका आआफ्नै चालचलन, मान्यता र विशेषता छन्, ती मान्न, पालन गर्न पाउनु व्यक्तिको इच्छा हो, अधिकार हो । देशको संविधान र कानुनले नै बर्जित नगरेका कुरामा कुनै व्यक्ति वा संगठनले बन्देज लगाउने, आलोचना र आफवाह फैलाउने काम गर्नु धार्मिक, सांस्कृतिक सहिष्णुताविपरीत हो ।

रह्यो संस्कृति, संस्कार र परम्पराको । संस्कृति, संस्कार र परम्परा पनि कतिपय धर्मबाटै निःसृत पाइन्छ । धर्मशास्त्र र धार्मिक ग्रन्थहरूले  गरेका निर्देश, उल्लेख गरेका संस्कृति, संस्कार र परम्परा कायम छन्, सबैजसो समाजमा । र, यिनलाई लिएर निकै माथापच्ची भएको छ वर्षौंदेखि । 

 

विश्वमै पहिल्यैदेखि आस्तिक र नास्तिक, ईश्वरवादी र अनिश्वरवादी रहने गरेका छन् । उनीहरूका आआफ्नै तर्क र मान्यता छन् । ईश्वर मान्नेहरूका दलिलले ईश्वरलाई नै सबैथोक ठान्छ । ईश्वरको अनुकम्पा र कृपाले सृष्टिको सम्पूर्ण कुरा थेगेको ठान्छ । सबै चराचरको सृष्टिकर्ता र संहारकर्ता ईश्वर रहेको यस्ता ईश्वरवादीहरूको मत रहने गरेको छ ।

उता अनिश्वरवादी वा नास्तिक छन्, जसले यो विश्व ब्रह्माण्डको सृष्टि कुनै अदृश्य शक्ति (ईश्वर)ले गरेको होइन, यो त प्रकृतिबाटै उत्पन्न भएको हो र विनास पनि प्राकृतिक रूपमै हुने गर्छ भन्ने मान्यता राख्छन् ।

उनीहरूका मतमा नछिरौँ ।

अब संस्कृति, संस्कार र परम्पराबारे कुरा गर्दा, संस्कृति, संस्कार र परम्पराचाहिँ धर्मसँग मात्र गाँसिएका कुरा होइनन् । यिनमा धार्मिक तत्त्व मात्र छैन, वैज्ञनानिक र व्यावहारिक कुराहरू धेरै छन् । संस्कृति र संस्कार अनि परम्पराले अमानवीय र अव्यावहारिक कुराहरू मात्र गर्दैनन्, यिनमा व्यक्तिका संस्कार, चालचलन, अनुशासन, मर्यादा र मानवीयताका पक्ष पनि जोडिएर आउँछन् ।

मान्नुहोस् कि हिन्दुहरू, विशेष नेपाली हिन्दुहरू दशैँ मनाउँछन् । उनीहरूको महत्त्वपूर्ण र ठूलो चाड नै दशैँ हो । दशैँ मनाउनुको मूल कारण असत्यमाथि सत्यको जीत अर्थात् रावण नामक दुष्टमाथि राम नामक विष्णु भगवानका अवतार मानिएका प्रभावशाली, शक्तिशाली मानवले युद्ध जितेको अवसरलाई मानिएको छ । तथापि, यसको व्यावहारिक उद्देश्य फरक छ, जसलाई हामीले बेवास्ता गरिरहेका हुन्छौँ ।

वर्षमा एक पटक, त्यो पनि वातावरणीय हिसाबले अत्यन्त शान्त, शीतल र सौम्य बनेको समय असोज–कात्तिक महिनामा मनाइने यो चाडले वर्ष दिनसम्म घर परिवार, आफन्तजनबाट विभिन्न कारणले टाढा रहेका, छुटेका व्यक्तिहरूबीच पुनर्मिलन गराउने पर्वका रुपमा रहेको छ । र यसले  सद्भाव, प्रेम र हार्दिकता बढाइरहेको छ । तब यो चाडले कसको के नै  बिगारेको छ र ?

अर्को महत्त्वपूर्ण कुरा, दशैँमा नयाँ कपडा लगाउने, मीठो मसिनो खाने चलन चलेको छ । यो नराम्रो हो र ? सबैसँग सधैँ राम्रो कपडा किन्ने, मीठो कुरा खाने अवस्था नहुन पनि सक्छ तर दशैँकै लागि भनेर भए पनि त मानिस केही क्षण खुसी हुन्छ, रमाउँछ, यसमा के दोष छ र ?

हिन्दु नारीहरूको महत्त्वपूर्ण चाड मानिन्छ, तीजलाई । हरितालिका पनि भनिने तीजमा चेलीबेटीलाई माइतीमा बोलाएर मीठो मसिनो बनाएर खुवाउने गरिन्छ । यो नराम्रो हो र ? विवाह गरेर अर्काको घरमा गएकी छोरी, चेलीलाई वर्षभरि घरमा सहेका दुःख, बुहार्तन माइतीमा आफन्त र साथीभाइसँग पोख्ने कस्तो सुन्दर अवसरका रूपमा सुरु भएको हो तीज । अनि असार–साउनको खेतीपातीबाट, वर्षा, पानीबाट थलिएको चेलीबेटीको शरीरमा ऊर्जा दिने चिज दर, ढकने, खीर वा यस्तै तागतिला चिज खुवाउने चलन के नराम्रो हो ?

यस्ता संस्कार, चाडपर्व हिन्दु सभ्यतामा मात्र छैनन्, विश्वका अनेक समाजका ती समाजका मूल्य र मान्यताअनुसारका यस्ता संस्कार, चाडपर्व र संस्कृति छन् । उनीहरूले त्यसको पालना गर्दै आएकै छन् ।

हामीकहाँ अनेक जात र सम्प्रदाय छन् । अनेक धर्म र संस्कृति छन् । तिनका आआफ्नै परम्परा कायम छन् । जन्मेदेखि मृत्युसम्मका अनेकौँ संस्कार कायम छन् हरेकजसो समुदायमा । मृत्युपछिका श्राद्ध जस्ता संस्कार पनि छन् केही समुदायका । यी संस्कारका पनि आआफ्नै विशेषता रहेका छन् । विशेष गरेर ब्राह्मण, क्षत्रीले गर्ने श्राद्ध कर्मलाई लिएर अनेक आलोचना हुने गरेको सुनिन्छ । श्राद्धको अर्थ श्रद्धा हो । श्रद्धा गर्ने तरिका हरेकको फरक हुन सक्छ । ब्राह्मण, क्षत्रीले गर्ने श्राद्ध मृतकको तिथिमा हुने न  हो । 

हरेक वर्ष मृतकले प्राण त्यागेको तिथिमा र दशैँको सोह्र श्राद्धको बेला पितृ स्मरण गर्दै उसप्रति श्रद्धा गर्ने चलन छ हामीकहाँ  । के आफ्ना ढंगले पितृ सम्झिने चलन अन्य धर्म, समुदाय, संस्कृतिमा छैन र ? ‘स्मृति दिवस’का नाममा मृतकप्रति गरिने श्रद्धाञ्जलि कार्यक्रमहरू के यस्तै होइनन् ?

भलै, ब्राह्मण, क्षत्रीका श्राद्ध संस्कारबारे भनिन्छ नै, ‘श्राद्ध खानु, बिहे हेर्नु ।’ श्राद्धमा पितृका नाममा आफन्त र छरछिमेकलाई बोलाएर खुवाउने भएकाले ‘श्राद्ध खानु’ भनिएको हो । अझ समाजका विपन्न, दुःखी र गरिबजनलाई बोलाएर श्राद्धमा खुवाउने परम्परा अझै पनि कायम छ । के यसले कसैको हानि गरेको छ ? कसैलाई नोक्सानी पुर्‍याएको छ ?

यी सन्दर्भ उठाउनुको कारण पछिल्लो समय बारबार हिन्दु संस्कार, संस्कृति र परम्परामाथि भइरेको प्रहारको प्रतिवादका लागि नै हो ।

हरेक धर्म, सम्प्रदाय, समाज, जातका आआफ्नै संस्कृति, संस्कार र परम्परा छन् । ती सबैले मान्दै र पालन गर्दै आएकै छन् । तर, उनीहरू आफ्ना धर्म, संस्कार, संस्कृति र परम्पराले भनेका मान्यतालाई अक्षरशः पालना गर्ने अनि अन्यका धर्म, संस्कृति, संस्कार र परम्परामाथि धावा बोल्ने काम गरिरहेका छन् । यस्तो देख्दा लाग्छ, हामीमा सहिष्णुता भन्ने चिज छैन । हामीमा घृणा, द्वेष, आवेग र उत्तेजना मात्र पालिरहेका छौँ । एकले अर्काका सभ्यता र पहिचनमाथि अनावश्यक धावा बोल्ने, बद्ख्वाइँ गर्ने तर आफ्ना यस्ता संस्कृति, संस्कार र परम्परालाई भने बचाई राख्ने कृत्य देखिन्छ ।

प्रश्न गर्न मन लाग्छ– यसरी हिन्दुहरूका, ब्राह्मण, क्षत्रीहरूका संस्कार, सभ्यता र परम्परामा अनावश्यक प्रश्न गर्ने फरक संस्कार, संस्कृति र परम्परा मान्नेहरूले आफ्ना यस्ता संस्कृति, संस्कार र परम्परालाई मान्न छाडेका हुन् ? के उनीहरूका जन्मदेखि मृत्युसम्मका र मृत्युपछिका पनि विभिन्न कर्महरू छैनन् ? र, तिनले ती गर्दैनन् ?यदि उनीहरू आफ्ना धर्म, संस्कृति, संस्कार र परम्पराप्रति विश्वस्त छन्, पालन गर्छन् भने अरूका धर्म, संस्कार, संस्कृति र परम्परालाई पनि सम्मान गर्नुपर्छ । 

संस्कृति, संस्कार र परम्परा ‘वाहियात’ मात्र छैनन् कुनै पनि समुदायका । हो, केही परम्परा र संस्कारमा परिवर्तन आवश्यक छ । ती परिमार्जन गर्ने, सुधार गर्ने प्रयास जारी छन् तर केही यस्ता कमीकमजोरीलाई आधार मानेर सबै धर्म, संस्कार, संस्कृति र परम्परालाई गलत भन्दै अफवाह फैलाउनुमा केही न केही तुष देखिन्छ ।

मानौँ कि हिन्दुहरूले देवालयमा पशु वा पक्षीको बलि दिन्छन् । यो पशु अधिकारकर्मीका लागि ‘इस्यु’ बन्न सक्छ तर विश्वमा मांशहारी मानिसको संख्या कति होला ? अनि दिनहुँ कति पशु पंक्षीको हत्या गरेर बजारमा पठाइन्छ मासु ? के यो भावनामा बगेर रोकिने कुरा हो ? मान्छेले मासु खान छाड्ला कहिले ? जबसम्म मान्छेले मासु खान्छ, तबसम्म मान्छेका ‘देवी–देवता’ले पनि मासु खोज्ने नै भए त !

अनि अमूक धर्म वा संस्कृति मान्नेले पशु पंक्षी बलि दिँदा अपराध हुने तर अन्यले त्यही पशु पक्षीको मासुका अनेक परिकार जाँडसँग हसुर्दाचाहिँ अधर्म वा अपराध नहुने ?

हिन्दु समुदायमा खुसी वा सुखका बेला मात्र पशु पक्षी बलि दिइने र मासु खाने चलन छ तर कतिपय जात वा सम्प्रदायमा मृत्यु संस्कारमा पनि पशु पक्षीको मासु अनिवार्य हुन्छ ।

प्रकृतिले यस्तै रचना गरेको छ कि शक्तिशालीले कमजोरलाई शोषण गर्छ, दमन गर्छ । प्राकृतिक, जैबिक चक्रमा बाघ–भालुले मान्छेलगायत अन्य प्राणीलाई आहारा बनाइरहेकै छन्, मान्छेले विभिन्न पशु पक्षीलाई मारेर खाएकै छन् ।

समग्रमा, हरेक समाज, समुदाय र जातजातिका आआफ्नै चालचलन, मान्यता र विशेषता छन्, ती मान्न, पालन गर्न पाउनु व्यक्तिको इच्छा हो, अधिकार हो । देशको संविधान र कानुनले नै बर्जित नगरेका कुरामा कुनै व्यक्ति वा संगठनले बन्देज लगाउने, आलोचना र आफवाह फैलाउने काम गर्नु धार्मिक, सांस्कृतिक सहिष्णुताविपरीत हो ।