यातायात कार्यालयमा भ्रष्टाचार, पाँच वर्षमा १२३ विरुद्ध मुद्दा

यातायात कार्यालयमा भ्रष्टाचार, पाँच वर्षमा १२३ विरुद्ध मुद्दा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

काठमाडाै‌ं । ०७५ मा यातायात कार्यालयका ५६ जनाविरुद्ध भ्रष्टाचार अभियोग लागेको छ । तिनमा कार्यालय सहयोगीदेखि प्रमुखसम्म छन् । उनीहरूले परीक्षामा सहभागी नै नभएका र फेल भएकालाई पास गराएर लाइसेन्स दिलाउने, तर पास भएकालाई फेल गराइदिने गरेको भेटिएको अख्तियारले जनाएको छ ।

असोजमा यातायात व्यवस्था कार्यालय, एकान्तकुनाका तत्कालीन प्रमुख सहसचिव तेजनारायण यादव, शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी र विष्णुप्रसाद सुवेदी, नायब सुब्बा लेखनाथ भुसाल, मेकानिकल इन्जिनियर श्याम केसी, ठूलोभ-याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल र कम्प्युटर अप्रेटर विज्ञान खड्गी, यातायात व्यवस्था विभागका कम्प्युटर अप्रेटर लक्ष्मण तिवारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी उनीहरूले दुई सय चारजनालाई लाइसेन्स दिएको खुलेको थियो ।

माघमा यातायात कार्यालयका आठ कर्मचारीविरुद्ध मुद्दा दायर भयो । परीक्षामा अनुपस्थित तथा फेल भएका ६ सय २९ जनालाई आर्थिक चलखेलका आधारमा लाइसेन्स वितरण गरेको खुलेपछि मुद्दा दायर भएको हो । एकान्तकुना कार्यालयका शाखा अधिकृतद्वय भक्तबहादुर विष्ट र विष्णुप्रसाद सुवेदी, कम्प्युटर अप्रेटरहरू जयनारायण चौधरी, सचिनकुमार सिंह र अमितकुमार साह, ठूलोभ-याङ कार्यालयका कम्प्युटर अधिकृत विजेन्द्रराज जोशी, मेची यातायात व्यवस्था कार्यालयका कम्प्युटर अप्रेटर विजयराम वनमाला र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्रालयका कम्प्युटर अप्रेटर मदनकुमार साहविरुद्ध मुद्दा दायर भएको हो । गत १६ साउनदेखि २४ असोजसम्म एकान्तकुना कार्यालयबाट लिएका विभिन्न वर्गका सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा फेल, अनुपस्थित र चेकलिस्टमा नाम नै नभएकालाई उनीहरूले लाइसेन्स दिलाएका थिए । 

फेल भएकालाई पास गराएकोमा साउनमा पनि आयोगले १४ विरुद्ध मुद्दा दायर गरेको थियो । मेकानिकल इन्जिनियर श्याम केसी, सइ श्रीराम तिवारी, विमल खरेल, जवान गणेश खड्का र अन्य नौ बिचौलियाविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।