शोभा अर्जुन सङ्गीत कोषद्वारा जलजला परियारलाई १० हजार छात्रवृत्ति प्रदान

शोभा अर्जुन सङ्गीत कोषद्वारा जलजला परियारलाई १० हजार छात्रवृत्ति प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३१, २०७८

काठमाडौँ । शोभा अर्जुन सङ्गीत कोषको आयोजना र नेपाली लोक बाजा सङ्ग्रहालय सहआयोजनामा  नेपाली लोक सङ्गीतकी प्राध्यापक गायिका तथा लेखिका शोभा तिवारी लोहनी ६८औँ जन्म जयन्ती मनाएको छ।  ६८औँ जन्म जयन्ती कार्यक्रमको उद्घाटन शोभा तिवारी लोहनीका छोरा तथा शोभा अर्जुन सङ्गीत कोषका अध्यक्ष आशिष तिवारीले दीप प्रज्वलन गरी गर्नु भएको थियो  ।

कार्यक्रमको नेपाली लोक बाजा 'टुङ्गना' बजाएर उपेन्द्र शाही र सुजन गोपालीले शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कोषका सदस्य ऋचा श्रेष्ठ तिवारीले नेपाली लोकबाजा सङ्ग्रहालयलाई सहकार्यको लागि धन्यवाद दिँदै भविष्यमा पनि अझै यस्ता कार्यक्रमहरू लाई निरन्तरता दिने र नेपाली लोक सङ्गीतको प्रवर्द्धन गर्ने योजना रहेको जानकारी दिनु भएको थियो । 

कार्यक्रममा नव गायिका तथा ललितकला क्याम्पस  विएफए दोस्रो वर्षमा अध्ययनरत जलजला परियारलाई कोषको तर्फबाट रु। १००००/- नगद राशि सहित छात्रवृत्ति प्रदान गरियो। त्यसैगरी सम्मानित व्यक्तित्व जलजला परियारले लोक गीत कौडा पनि गाएर सुनाउनु भयो भने उहाँले आफ्नो जीवन भए सम्म आफू लोक सङ्गीतमा नै लाग्ने प्रण गर्नु भएको थियो । 

कार्यक्रममा गायक उपेन्द्र शाही/ निषाद तथा ताल वादक सुजन गोपालीलाई कोषको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो भने गायक उपेन्द्र शाही/ निषादले शोभा तिवारी लोहनी लिखित पुस्तकका गीतहरूको चर्चा गर्नु भएको थियो ।

कार्यक्रमलाई समापन गर्दै नेपाली लोक बाजा सङ्ग्रहालय का अध्यक्ष  राम प्रसाद कँडेलले कोषले अझै वृहत् कार्यक्रमहरू गर्नु पर्ने बताउनु भयो । कार्यक्रम को आयोजन शोभा अर्जुन सङ्गीत कोषले गरेको हो भने नेपाली लोक बाजा सङ्ग्रहालय सहा आयोजकको रूपमा रहेको थियो।