भारतलाई जीतभन्दा बराबरी महत्त्वपूर्ण

भारतलाई जीतभन्दा बराबरी महत्त्वपूर्ण

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण ३२, २०७८

इङ्ग्ल्याण्डको घरेलु मैदानमा जारी ५ खेलको टेस्ट सिरिजको दोस्रो खेलमा भारतलाई जीत भन्दा पनि अब बराबरी महत्त्वपूर्ण भएको छ । अन्तिम दिनको खेलमा आज भारत इङ्ग्ल्याण्डलाई रोक्नका लागि मैदानमा हुनेछ । यसअघि भएको पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा सकिएको थियो ।

लर्ड्समा जारी दोस्रो टेस्टको दोस्रो इनिङको चौथो दिन भारतले ६ विकेट गुमाएर १८१ रन बनाएको छ । ऋषभ पन्त १४ तथा इशान्त शर्मा ४ रन बनाएर अविजित छन् । भारतको इनिङमा अजिंक्य रहाणेले सर्वाधिक ६१ रन बनाए । त्यस्तै, चेतेश्वर पुजाराले ४५ रन जोडे । कप्तान विराटको ब्याट दोस्रो इनिङमा पनि चलेन । विराट २० रन बनाएर आउट भए ।

पुजारा र रहाणेले चौथो विकेटका लागि १०० रनको साझेदारी गर्दा भारत चौथो दिननै अलआउट हुनबाट जोगियो भने कम स्कोरबाट समेत सम्हालियो । इङ्ग्ल्याण्डका लागि मार्क वुडले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, मोइन अलीले २ तथा सेम करनले १ विकेट लिए ।

अन्तिम दिन भारतसँग ४ विकेट बाँकी छ । यस्तोमा भार जतिसक्दो लामो समय क्रिजमा रहने प्रयासमा हुनेछ । सुरुवातमै आउट भएमा भने भारतलाई इङ्ग्लिस टिमलाई रोक्न मुस्किल पर्नेछ । अहिलेसम्म भारत समग्रमा १५४ रनले अघि छ । त्यसैले इङ्ग्ल्याण्ड जतिसक्दो चाँडो भारतलाई अलआउट गर्दै ब्याटिङका लागि मैदानमा उत्रन चाहन्छ ।

​इङ्ग्ल्याण्डले दिनको खेल सकिँदा भारतलाई अलआउट गर्दै लक्ष्य पूरा गर्न नसकेमा खेल बराबरी हुनेछ । यदि भारतले इङ्ग्लिस ब्याट्सम्यानलाई अलआउट गरेमा भारत विजयी हुनेछ । त्यसैले अन्तिम दिन नै लर्ड्स टेस्टका लागि निर्णायक देखिएको छ ।