नीति तथा कार्यक्रममा सत्तापक्षकै सांसदको विरोध

नीति तथा कार्यक्रममा सत्तापक्षकै सांसदको विरोध

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

काठमाडाैं । संसद्मा आगामी आर्थिक वर्ष ०७६/७७ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । सत्तारुढ दलका सांसदले नै सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेका छन् । नेकपाका प्रमुख सचेतक देव गुरुङले नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या रहेको बताए । ‘नीति तथा कार्यक्रम मूल रूपमा सही नै छ, तर कार्यान्वयनमा समस्या छ । कार्यान्वयनको पाटोमा ध्यान दिन नसके कार्यक्रम फितलो हुन सक्छ,’ उनले भने ।  

 नेकपाका सांसद अग्नि सापकोटाले सरकार लाचार देखिएको बताए । उनले भ्रष्टाचार व्याप्त रहेको भन्दै जग्गा हडप्ने गिरोह जहाँतहीँ सक्रिय रहेको बताए । ‘खुलामञ्च, बालुवाटार, तारागाउँ, पोखरा, जनकपुर जताततै भ्रष्टाचार छ । जग्गा हडपिएको छ,’ उनले भने, ‘एनसेलको करसम्बन्धी विषय सामान्य षड्यन्त्र होइन । सरकार कमजोर छ । लाचार छ ।’ 

नेकपाकै सांसद गजेन्द्रबहादुर महतले कर्णालीको कष्ट सरकारको नीति तथा कार्यक्रममा नसमेटिएको बताए । ‘हामी खरदार खोजिरहेका हुन्छौँ । तपाईंहरू रोजीरोजी मन्त्रालय सचिव छान्नुहुन्छ । ठूला विमानस्थलको कुरा गर्नुहुन्छ,’ उनले भने, ‘ठूला विमानस्थल पनि बन्नुपर्छ, तर कर्णालीलाई पनि सम्बोधन गर्नुप-यो । कर्णाली हिँडेको चामल, नुन, औषधि बाटोबाटै बिक्री हुन्छ ।’ 

विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो वर्षजस्तै यो वर्ष पनि सरकारको नीति तथा कार्यक्रमले कुनै नतिजा नदिने ठोकुवा गरे । आफ्नो नेतृत्वको सरकारमा सुरुवात भएका धेरैजसो कामको जस केपी ओली नेतृत्वको सरकारले लिइरहेको भन्दै देउवाले सरकारको गति र शैलीबाट जनताले ठगिएको महसुस गरिरहेको बताए । ‘बिमस्टेक सम्मेलन, होली वाइन, भेनेजुएला काण्डजस्ताले परराष्ट्र–नीति कमजोर बनाएको छ,’ देउवाले भने । यो समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।