उत्तराखण्डका पवनदीप बने इण्डियन आइडल सिजन १२ को विजेता

उत्तराखण्डका पवनदीप बने इण्डियन आइडल सिजन १२ को विजेता

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण ३२, २०७८

उत्तराखण्डका पवनदीप राजन इण्डियन आइडल सिजन १२ को विजेता बनेका छन् । गायनमा अलराउण्डर पवनदीपले अन्य ५ जना प्रतिस्पर्धीलाई उछिन्दै इण्डियन आइडलको टाइटल जितेका हुन् ।

पवनदीपले सन् २०१५ मा टीभी शो द वाइस पनि जितेका थिए । पवनदीपले एकातिर इण्डियन आइडलमा आफ्नो गायनले सबैलाई प्रभावित पारे भने अर्कोतिर पश्चिम बंगालबाट प्रतिनिधित्व गर्ने प्रतिस्पर्धी अरुणिता कांजीवालसँगको अफेयरलाई लिएर चर्चामा रहे ।

सिजन १२ का विजेता पवनदीपले ट्रफीसहित २५ लाख भारु पुरस्कार र मारुती सुजुकीको ब्राण्ड न्यु कार प्राप्त गरे । 

सारेगामापा बांगला रियालिटी शोकी विजेता पश्चिम बंगालकी अरुणिता फर्स्ट रनरअप बनिन् । मुम्बईकी सायली कांबले सेकेण्ड रनरअप बनिन् ।  

उत्तर प्रदेशको मुजफ्फरनरगका मोहम्मद दानिश चौथो स्थानमा, कर्नाटककी निहाल तौरो पाँचौँ स्थानमा र विशाखापट्टनमकी शनमुखा प्रियाले छैठौँ स्थान हासिल गरिन् । 

ग्राण्ड फिनाले समारोहमा शोका जज सोनू कक्कड, अनु मलिक र हिमेश रेशमियासहित आमन्त्रित अतिथि उदितनारायण, अल्का याज्ञिक, कुमार सानुलगायतले आफ्नो प्रस्तुति दिएका थिए ।