अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकारले थाल्यो प्रयास

अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकारले थाल्यो प्रयास

रासस  |  समाचार  |  श्रावण ३२, २०७८

सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुुशल शीघ्र उद्धार सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको थियो । बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज सामाजिक संजालमार्फत अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन तथा आवश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको जानकारी दिएका थिए । 

उनले सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको भन्दै सजकता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने विश्वास दिलाएका छन् ।

अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरूको उद्धार गर्न सरकारले शनिबार एक कार्यदल गठन गरेर काम अघि बढाइसकेको छ । परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखहरू एवं अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड- १९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सोसरहका सदस्य रहने गरी कार्यदल गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शङ्करदास बैरागीको कार्यकक्षमा शनिबार अन्तरमन्त्रालय बैठक बसेको थियो । उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ । 

यस्तै, उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न बैठकले आग्रह गरेको छ । 

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली संघ, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयलाई औपचारिक पत्राचार गरिसकेको छ । 

अफगानिस्तनमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ । आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक उपलब्ध गराउनसमेत आग्रह गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उद्धारका लागि समन्वय गर्न सम्बन्धित सरकारी नियकाले समन्वय गरेर काम गरिरहेको जानकारी दिए । अहिलेसम्म कति नेपाल छन् भन्ने यकीन विवरण प्राप्त भइनसकेको उनले बताए ।

निगमका वाइडबडी र न्यारोबडी जहाज काबुल उड्दै 

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाज केही दिनभित्रै अफगानिस्तानको राजधानी काबुल उड्ने तयारीमा रहेको छ । 

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमका नेपालीको उद्धारका लागि निगमका जहाज काबुल जाने तयारी अवस्थामा रहेको तर कहिले कसरी जाने भन्ने अझै यकीन भइनसकेको जानकारी दिए । उनका अनुसार निगमका २ वटा न्यारोबडी र एउटा वाइडबडी जहाजमार्फत २ पटक गरेर नेपालीलाई स्वदेश फर्काइनेछ । अन्य गैरसरकारी संस्थाका कर्मचारीलाई भने निजी क्षेत्रका हवाई सेवा प्रदायकले दुबई हुँदै गन्तव्यमा उद्धार गर्ने जनाइएको छ । 

महाप्रबन्धक पौडलेले पछिल्लो पटक अफगानिस्तानको विमानस्थलमा भीडभाड र अस्थिरता बढेकाले त्यहाँका कतिपय उडान रद्द गरेकाले उद्धारमा केही कठिनाइ हुनसक्ने बताए । 

'अहिले अफगानिस्तान विमानस्थल अवरुद्ध छ, स्थिति नियन्त्रणमा नआएपछि त्यहाँको हवाई प्रशासनले काबुललगायतका विमानस्थल बन्द गराएको छ । नेपाल सरकार नेपालीको उद्धारको नियमित सम्पर्कमा छ । नेपालीहरू सुरक्षित रहेको जानकारी प्राप्त भएका छन् । निगम उद्धारका लागि तम्तयार अवस्थामा छ', उनले भने ।

सरकारले उद्धार गर्नुपर्ने संख्या यकिन हुनासाथ तत्काल त्यसतर्फ जाने प्रक्रिया आरम्भ गरिने र सोका लागि बढीमा ५ दिन लाग्ने निगमको भनाइ छ । केही नेपालीलाई रोजगारदाता कम्पनीले नै उद्धार गर्ने बताइएको छ ।

तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रूपमा तत्काल उद्धार गर्न कूटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार भएको बैठकले तालिबान विद्रोही राजधानी काबुल नियन्त्रणमा लिने प्रयासमा रहेकाले भिडन्तका क्रममा नेपाली नागरिक अप्ठ्यारो स्थितिमा पर्नसक्ने भन्दै छिटोभन्दा छिटो हवाई उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो । 

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले अफगानिस्तानमा भइरहेको घटनालाई केही समयदेखि नियालीरहेको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीलाई सकुशल स्वदेश ल्याउन मन्त्रालयले गम्भीर रूपमा प्रयास गरिरहेको बताए ।

भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावाससँगको नियमित सम्पर्कमा अफगानिस्तानका नेपालीको उद्धारका लागि प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । श्रम स्वीकृत लिएर संगठित तथा औपचारिक रूपमा त्यहाँ गएर रहे बसेका नेपाली एक हजार ५०० को हाराहारीमा रहेको आँकलन गरिएको छ ।