अरुण तेस्रो आयोजनाले वातावरण संरक्षणका लागि छुट्यायो २ अर्ब २१ करोड

अरुण तेस्रो आयोजनाले वातावरण संरक्षणका लागि छुट्यायो २ अर्ब २१ करोड

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३२, २०७८

संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले वातावरण संरक्षणका लागि २ अर्ब २१ करोड रुपैयाँ दिने भएको छ । आयोजनाका विभिन्न संरचना निर्माण गर्दा उत्पन्न हुने वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न उक्त रकम छुट्याइएको भारतीय निर्माण कम्पनी निगमले जनाएको छ ।

आयोजनाले पहिलो चरणमा धुलो नियन्त्रण, पहिरो नियन्त्रण, सडकमा ग्राभेल र दोस्रो चरणमा कालोपत्रे गर्न विभिन्न सुरक्षालाई मध्यनजर गर्दे कार्यक्रम ल्याइएको जनाएको छ । भारतीय निर्माण कम्पनीले भौतिक संरचना बनाउँदा बर्खायाममा मानव बस्ती, खेतीयोग्य जमिनसमेत जोखिममा परेका छन् । निर्माणाधीन आयोजनाका लागि अहिले दैनिक १५ देखि २० वटासम्म ठूला मालवाहक सवारी साधन संखुवासभा भित्रिने गरेका छन् । कच्ची सडक भएकाले जिल्ला भित्रिने ठूला सवारीको धुलोले मानव बस्तीलाई सास्ती दिने गरेको छ ।

आयोजनाको निर्माण कार्य तीव्र गतिमा बाँध निर्माण, ड्याम साइड र सडक क्षेत्रमा काम भइरहेको छ । विद्युत् निर्माण कार्य संचालनका क्रममा हुने वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न उक्त बजेट विनियोजन गरेको सतलज कम्पनी एसजेभिएन तुम्लिङटारका सीईओ अरुण धिमानले जानकारी दिए । उनका अनुसार आयोजनाका क्रममा भएका र हुन सक्ने वातावरणीय प्रभावलाई रोक्ने प्रयास भइरहेको बताए ।

आयोजनाको बाँध निर्माण र ड्याम साइड क्षेत्रमा गएको पहिरो रोकथाम गर्न नाली कटाउने, गाह्रो लगाउने कामहरू भइरहेको बताइएको छ । अरुण तेस्रोको पावर हाउसअन्तर्गतको छ्याङकुटी पुखुवा २८ किलोमिटर सडक खण्डमा स्थानीयको खेतीयोग्य जमिनमा लगाइएको सयौँ हेक्टरका अलैँची र धान खेत पहिरोले पुरेको भन्दै जिल्ला प्रशासन कार्यालय, चिचिला गाउँपालिका र सडक विभागमा निवेदन दिए पनि क्षतिपूर्ति नपाएको पीडितको गुनासो छ ।