प्रज्ञा–प्रतिष्ठान: विशिष्ट साधकहरूलाई अस्पताल र निवासमै आजीवन तथा मानार्थ प्राज्ञ सदस्यता अर्पण

प्रज्ञा–प्रतिष्ठान: विशिष्ट साधकहरूलाई अस्पताल र निवासमै आजीवन तथा मानार्थ प्राज्ञ सदस्यता अर्पण

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १, २०७८

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विगत साढे छ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यअन्तर्गत कविता, काव्य र समालोचनाका साथै भाषा, दर्शन, सामाजिक शास्त्र आदि विषयक्षेत्रमा सिर्जना, अनुसन्धान र प्राध्यापनका माध्यमबाट गहकिलो र विशिष्ट योगदान गर्नुभएका वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई आजीवन सदस्यताको सम्मानपत्र अर्पण गरिएको छ । 

यसैगरी विगत सात दशकदेखि साधनारत रही नेपाली साहित्यअन्तर्गत निबन्ध/ नियात्रा, कथा र उपन्याससृजना तथा समालोचनाका साथै भाषा–व्याकरणका क्षेत्रमा अध्ययन/अनुसन्धान, सम्पादन एवम् प्रकाशनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएका वरिष्ठ साधक डा. तारानाथ शर्मालाई र नेपाली कविता/काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गर्नुभएका वरिष्ठ कवि नरेश शाक्य (नरेशकुमार शाक्य) लाई आजीवन सदस्यताको सम्मानपत्र  अर्पण गरिएको छ । 

यसैगरी विगत छ दशकभन्दा लामो समयदेखि संस्कृत वाङ्मयका विभिन्न क्षेत्रका साथै नेपालको इतिहास, संस्कृति, दर्शन, शिक्षा, भाषा–व्याकरण र साहित्यलगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रामाणिक अध्ययन, अनुसन्धान र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएका डा. महेशराज पन्त, विगत चार दशकभन्दा लामो समयदेखि सामाजिक शास्त्र विषयअन्तर्गत कानुन, मानवअधिकार, सुशासन, कूटनीति आदि विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अध्ययन, अनुसन्धान, प्राध्यापन, परामर्श आदिका माध्यमबाट विशिष्ट योगदान गर्नुभएका प्रा.डा. सूर्य सुवेदी र दर्शनशास्त्रका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही अध्ययन/अनुसन्धान, प्रकाशन र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएका वरिष्ठ दर्शनशास्त्री प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई मानार्थ प्राज्ञ सदस्यताको सम्मानपत्र अर्पण गरिएको छ ।

२०७८ साउन ३२ गते सोमवार प्रज्ञा भवनमा आयोजित आजीवन तथा मानार्थ प्राज्ञ सदस्यताको सम्मान अर्पण कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेती तथा उपकुलपति डा. जगमान गुरुङले कवि शाक्य, प्रा.डा. मिश्र र प्रा.डा. सुवेदी (उहाँ बेलायतमा रहनुभएकोले उहाँका सहोदर दाजु प्रा.डा. देवीप्रसाद सुवेदीमार्फत) लाई रुद्राक्षको माला, दोसल्ला र सम्मानपत्र अर्पण गरी सम्मानित गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले आजीवन तथा मानार्थ प्राज्ञ सदस्यता राज्यका तर्फबाट नेपाल प्रज्ञा–प्रतिष्ठानले विशिष्ट साधकलाई प्रदान गर्ने विशिष्ट सम्मान भएको बताउनुभयो । उहाँले चाहेर पनि कोभिडका कारण ठुलो कार्यक्रम आयोजना गर्न नसकिएको उल्लेख गर्दै विगतमा आजीवन तथा मानार्थ प्राज्ञ सदस्यलाई एउटा पत्र मात्रै दिइँदै आएकोमा अबदेखि समारोह नै आयोजना गरेर माला र दोसल्लासहित सम्मानपत्र अर्पण गरी सम्मानित गर्ने परम्पराको सुरुवात गरिएको बताउनुभयो ।

मानार्थ प्राज्ञ सदस्यताद्वारा सम्मानित साधक प्रा.डा. मिश्रले सम्मानित हुँदाको अनुभूति व्यक्त गर्नुभएको थियो । उहाँले आफूले नसोचेको सम्मान प्राप्त गरेको उल्लेख गर्दै साहित्यलाई दर्शनसँग जोड्नु पर्नेमा जोड दिनुभएको थियो । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले सम्मानपत्र वाचन गर्नुभएको थियो । 

प्रज्ञा भवनमा आयोजित कार्यक्रम समापनपश्चात कुलपति उप्रेतीले सदस्य सचिव प्रा. उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल र प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूसहित मेडिकेयर अस्पतालमा उपचाररत रहनुभएका वरिष्ठ साधक भट्ट र चाबहिलस्थित निजी निवासमा आराम गरिरहनुभएका वरिष्ठ साधक डा. शर्मालाई सोही स्थानमा गएर सम्मान अर्पण गर्नुभएको थियो । उक्त अवसरमा कुलपति उप्रेतीले उहाँहरूको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्नुभएको थियो ।