विपक्षी आक्रामक, सत्तापक्ष रक्षात्मक : बेलायती महारानीको नक्कल गरियो : देउवा

विपक्षी आक्रामक, सत्तापक्ष रक्षात्मक : बेलायती महारानीको नक्कल गरियो : देउवा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नीति तथा कार्यक्रम बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको बताएका छन्।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा भाग लिँदै देउवाले भने, ‘सरकाले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा नीति तथा कार्यक्रम सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ। यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत होइन।’ राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटकपटक ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेकी थिइन्। देउवाले सरकारकै कारण राष्ट्रपति पटकपटक विवादमा तानिएको बताए।

देउवाले सरकारको नीति तथा कार्यक्रम फेहरिस्तको खोक्रो सूचीमात्र भएको बताए। ‘एक वर्षको नीति र कार्यक्रम भनिएको छ तर यहाँ दुई वर्षका, चार वर्षका, पच्चीस वर्षका वा वर्षै नतोकिएका कार्यक्रमको बाहुल्यता छ। स्रोत, साधन र विधिको टुंगो नभएका हुनाले कैयन कार्यक्रम फगत नारामा सीमित हुने कुरामा शंका छैन,’ उनले भने, ‘सरकारले एक वर्षमा के गर्न सक्छौं भन्न सकेको छैन, अर्कोतिर पच्चीस वर्षसम्म लगातार दोहोरो अंकको आर्थिक वृद्धि हुने ढोल पिटेको छ।’ आजको नागरिक दैनिकमा खबर छ ।