‘न्युरो सर्जरीमा क्रेनियल रोबोटको प्रयोगले शल्यक्रिया विश्वसनीय, छिटो र कम पिडादायी हुन्छ’

‘न्युरो सर्जरीमा क्रेनियल रोबोटको प्रयोगले शल्यक्रिया विश्वसनीय, छिटो र कम पिडादायी हुन्छ’
रोबोट प्रक्रिया को शुद्धता बढाउँछ, यो छिटो र कम दर्दनाक बनाउँछ

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  भदौ १, २०७८

प्रा.डा. अमित थापा काठमडौं मेडिकल कलेज पब्लिक लिमिटेडका एड्भान्स न्यूरो सर्जरी केन्द्रका निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन हुनुहुन्छ । नेपालमा रोबोटको माध्यमबाट न्यूरो सर्जरी नेपालमा काठमाडौं मेडिकल कलेजमा सुरु गरिएको छ । नेपालमै पहिलो पटक नेभिगेसन तथा रोबोटको माध्यमबाट शल्यक्रिया सुरु गरेको सन्दर्भ पारेर यो कस्तो खालको प्रविधि हो, कति भरपर्दो छ, गल्ती हुने संभावना छ कि छैन अनि खर्चका हिसाबले आमसर्वसाधारणले धान्न सक्ने प्रविधि हो कि होइनलगायतका विषयमा केन्द्रित रहेर केन्द्रका निर्देशक प्रा.डा. थापासँग लोकसंवाद डटकमले कुराकानी गरेको थियो । प्रस्तुत छ उक्त कुराकानीको सारसंक्षेप ।  

नेपालमा पहिलो पटक न्यूरो सर्जरीमा  क्रेनियल  रोबोटको प्रयोग हुन लागेको बारे समाचार संचार माध्यममा आएको छ, खासमा यो रोबोट कस्तो खालको हो ?

मस्तिष्कको शल्यक्रिया गर्दा शरीरको अन्यत्र भाग जस्तो तन्काउन तथा धेरै चिरफार गर्न मिल्दैन । मस्तिष्कका सानाभन्दा साना एक/एक मिलिमिटरको भागले शरीरका अन्य भागलाई संचालन गरिरहेको हुन्छ । संचालन मात्र होइन, हरेक कुराको ‘मेमोरी’ राख्ने हुँदा जुन भागमा शल्यक्रिया गर्नुपर्ने हो, ठीक त्यही भागमा मात्र चिरफार गर्नुपर्ने हुन्छ । चिकित्सकको हातले भन्दा रोबोटका माध्यमबाट गर्दा बढी प्रभावकारी हुने हुँदा पनि यसको आवश्यकता परेको हो । 

रोबोटले शल्यक्रिया गर्दा जुन ठाउँमा शल्यक्रिया गर्नुपर्ने हो, ठीक त्यही ठाउँमा मात्र शल्यक्रिया गर्न सकिने हुँदा पनि रोबोटको प्रयोग गर्न खोजिएको हो । 

पहिले पहिले अनुभवका आधारमा टाउकोमा माथिबाट चिह्न लगाएर शल्यक्रिया गरिन्थ्यो । पछि अल्ट्रासाउण्डको प्रयोग गर्न थालियो । पछि अल्ट्रासाउण्डमा पनि एक सेमीभन्दा कमको घाउ नदेखिने भयो । त्यसले धेरै नै जटिलता उत्पन्न गर्‍यो । 

हाल छारे रोगको उपचारमा एसइइजी इलेक्ट्रोड (स्टीरियो इलेक्ट्रोएन्सेफालोग्राफी) भन्ने मसिनो तार छिराएर शल्यक्रिया गरिन्छ । तार छिराउन पनि जुन ठाउँमा छिराउनुपर्ने हो, त्यही ठाउँमा छिराउनुपर्‍यो । यदि त्यो गलत ठाउँमा पर्‍यो भने त्यसले गलत सूचना दिने भयो । त्यस कारण पनि रोबोटको प्रयोग गर्न खोजिएको हो । 

त्यसका लागि नेभिगेसनको प्रयोग हुन्छ । नेभिगेसनले मस्तिष्कमा कहाँ घाउ छ वा ट्युमर कहाँ छ, पत्ता लगाउँछ र रोबोटले ठीक त्यही ठाउँमा सियो छिराएर शल्यक्रिया गर्न सकिन्छ, जसले गर्दा गलत ठाउँमा शल्यक्रिया हुने भन्ने हुँदैन । 

रोबोट आफैँले शल्यक्रिया गर्ने हो कि आवश्यक उपकरण मात्र सम्बन्धित ठाउँमा पुर्‍याउने हो ?  

चिकित्सा क्षेत्रमा सम्पूर्ण रूपमा रोबोटले शल्यक्रिया गर्ने भन्ने हुँदैन । यदि कुनै कारणवश गलत हुन गएका खण्डमा त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठ्छ । 

त्यस कारण मस्तिष्क अथवा शरीरको अन्य भागको शल्यक्रिया गर्ने रोबोटलाई स्लेभ रोबोट भनिन्छ, जसको प्रयोग चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र हुन्छ । अर्थात् जुन ठाउँमा शल्यक्रिया गर्नुपर्ने हो, त्यस ठाउँमा आवश्यक उपकरण पुर्‍याउने मात्र हो । त्यसको नियन्त्रण सबै चिकित्सकको हातमा नै हुन्छ । 

मस्तिष्कभित्र भएका साना घाउहरू, जसलाई अपरेसन गर्नुभन्दा गलाउँदा वा पगाल्दा उपयुक्त देखिएमा पनि रोबोटको प्रयोग गर्न सकिन्छ । मस्तिष्कभित्र रहेका पानीको फोका फुटाएर त्यहाँ साना तार तथा पाइप राख्न पनि रोबोट सहयोगी देखिएको छ । मुख्यतया यस्ता बिमारीमा रोबोटको प्रयोग हुन्छ । 

रोबोटको प्रयोग गर्दा हुने गल्ती भने एक मिलिमिटरभन्दा कम हुन्छ । सामान्य मानिसको हातभन्दा अभ्यासका कारण सर्जनको हातमा कम कम्पन त हुन्छ तर यति हुँदाहुँदै पनि हातको प्रयोग गर्दा भने एक मिलिमिटरदेखि २ मिलिमिटरसम्म गल्ती हुने सम्भावना हुन्छ । त्यस कारण यो गल्ती अथवा ‘एरर’ कम गर्न पनि रोबोटको प्रयोग गर्न लागिएको हो ।

यो प्रविधि पहिलो पटक नेपालमा भित्र्याउने केएमसी नै हो त ?

हजुर । अनुभवी डाक्टरले त आफ्नो अनुभवका आधारमा काम गर्दा गल्ती हुने संभावना कमै हुने भयो । तर, जुनियर डाक्टर, जसको अनुभव धेरै हुँदैन, उनीहरूले यस नेभिगेसन तथा रोबोट प्रविधिको प्रयोग गर्दा गल्ती कम हुन्छ साथै छिटो पनि हुन्छ । 

विशेषगरी छारे रोगमा मस्तिष्कको कुन भागबाट तरंग प्रवाहित भएको छ भनेर खुट्याएर १६ देखि १८ वटा तार हाल्नुपर्ने हुन्छ । यसका लागि रोबोट र नेभिगेसनको प्रयोग नगर्ने हो भने दिनभर पनि लाग्न सक्छ । यदि रोबोटको प्रयोग गर्ने हो भने २ देखि ३ घण्टामा शल्यक्रिया सम्पन्न गर्न सकिन्छ । साथै आरएफए अर्थात् दिमागको नसा, जसले ट्युमरका कारण राम्रोसँग काम गरिरहेका छैनन् अर्थात् बदमासी गरेका छन्, तिनीहरूलाई गलाउने काम पनि यसले गर्छ । 

अर्को एउटा प्रविधिको पनि हामी दक्षिणपूर्वी एसियामै पहिलो पटक प्रयोग गर्ने तयारी र योजनामा रहेका छौँ । त्यो भनेको एलआईटीटी हो । यो भनेको दिमागभित्र लेजरको तार छिराएर माथिबाट प्वाल नपारी सानो दुलो बनाएर ट्युमरलाई गलाउने प्रविधि हो । 

यो प्रविधि भने अलिक महँगो छ । तारको नै ८ देखि १० लाख रुपैयाँ लागत पर्न जाने रहेछ । अर्को कुरा भनेको यो तार एक जनामा प्रयोग गरेपछि अर्कोलाई प्रयोग पनि गर्न नमिल्ने हुन्छ । यो ल्याउन केही समय लाग्ला ।

रोबोटले गर्दा गल्ती हुँदैन भन्ने आधार के ? 

यो भनेको सबै परीक्षणबाट पास भइसकेको प्रविधि र उपकरण हो । अर्को कुरा, यी सबै सामान गुणस्तर मापन गर्ने निकायबाट स्वीकृत भएका संस्थाद्वारा स्वीकृतिप्राप्त संस्थाबाट मात्र खरिद गर्ने गरिन्छ ।

अमेरिका तथा युरोपको गुणस्तर तथा बिरामीलाई उपकरणले गर्ने हानिसम्बन्धी प्रमाणीकरण गर्ने संस्थाबाट प्रमाणीकरण भएर मात्र यस्ता सामान खरिद गर्ने गरिन्छ । यस कारण पनि यसको गुणस्तर तथा विश्वसनीयतामा भर पर्न सकिन्छ । 

यो रोबोटबाट कस्ता प्रकारका न्यूरो सर्जरी हुन्छन् त ?

छारे रोग तथा ट्युमरको बायोप्सी गर्नुपरेका खण्डमा चिरफार नगरी सानो प्वाल मात्र पारेर यसबाट गर्न सकिन्छ । आरएफए विधिबाट ट्युमर गलाउन पनि यसको प्रयोग गर्न सकिन्छ । हामीले भित्र्याएको रोबोटको प्रयोग मस्तिष्क तथा मेरुदण्डका लागि विशेष रूपमा प्रयोग गर्न सकिन्छ । त्यस कारण सबै प्रकारका बिमारीका लागि भने रोबोटको प्रयोग हुन सक्दैन भनेर हामीले बुझ्नुपर्छ । 

रोबोटको माध्यबाट के कस्ता रोगको शल्यक्रिया गर्न सकिन्छ ?

छारे रोगमा औषधि खाएर पनि बिरामीलाई फाइदा पुगेको छैन भने त्यसमा रोबोटको सहयोगमा  शल्यक्रिया गर्न सकिन्छ । अर्को भनेको ब्रेन ट्युमर मस्तिष्कको बाहिरी सतहमा नभएर भित्री सतहमा छ र बायोप्सी गर्नुपर्नेछ भने त्यसमा पनि यसले रोबोटले सहयोग गर्छ । 

मस्तिष्कभित्र भएका साना घाउहरू, जसलाई अपरेसन गर्नुभन्दा गलाउँदा वा पगाल्दा उपयुक्त देखिएमा पनि रोबोटको प्रयोग गर्न सकिन्छ । मस्तिष्कभित्र रहेका पानीको फोका फुटाएर त्यहाँ साना तार तथा पाइप राख्न पनि रोबोट सहयोगी देखिएको छ । मुख्यतया यस्ता बिमारीमा रोबोटको प्रयोग हुन्छ । 

रोबोटको खर्च धान्न सक्छन् त नेपाली बिरामीले ?

हामी चिकित्सक मात्र नभएर जिम्मेवार नागरिक पनि हौँ । हाम्रो परिवारमा कोही बिरामी पर्‍यो भने यो खर्च धान्न सक्छ त ? भनेर हामीले पनि सोचेका हुन्छौँ । यसले एलआईटीटी प्रविधिबाहेक अन्यमा खासै त्यस्तो खर्च बढाउँदैन । एलआईटीटीमा भने एउटा बिरामीमा प्रयोग गरिएको तार अन्य बिरामीमा प्रयोग गर्न नमिल्ने हुँदा खर्च केही महँगो पर्न गएको हो । 

रोबोटको प्रयोग भएपछि यदि गलत भएका खण्डमा दोष रोबोटलाई दिएर डाक्टर उम्कन मिल्छ कि मिल्दैन ?

रोगको पहिचान डाक्टरले गर्ने हो, रोबोटले होइन । रोबोट त केवल उपचारमा प्रयोग हुने एउटा विधि मात्र हो । यसले सकेसम्म कम क्षति होस भन्ने डाक्टरको चाहना हो, जसले बिरामीलाई असर नगरोस् । त्यस कारण यसमा दोष रोबोटलाई लगाउन मिल्दैन । 

अर्को भनेको सिटी स्क्यान र एमआरआई हेरेर मात्र यसै हो भनेर भन्न सकिँदैन किनकि यो त फोटो मात्र हो । फोटो हेरेर कोही मान्छे राम्रो वा नराम्रो भन्न त सकिँदैन नि ! केवल अनुमान गर्न सकिन्छ । सिटी स्क्यान र एमआरआई भनेको त्यस्तै हो । बायोप्सी गरेर मासुको जाँच गरेपछि मात्र यसै हो भन्न सकिन्छ । 

अर्को कुरा सिटी स्क्यान गरेर कसैमा समस्या देखियो तर त्यसले शारीरिक रूपमा कुनै दुःख दिएको छैन भने त्यसमा उपचार गराउनु पनि जरुरी छैन । हामी पनि त्यस्तै सल्लाह दिन्छौँ । 

कति प्रतिशत छन् रोबोटबाट उपचार गर्ने बिरामीहरू ?

नेपालमा छारे रोगसम्बन्धी बिरामी एक प्रतिशत अर्थात् ३ लाखजति छन्, जसमा ७० प्रतिशतलाई सामान्य एक/दुईवटा औषधि खाएर नै ठीक हुन्छ । 

तर, ३० प्रतिशत अन्य बिरामीलाई भने ३/४ वटा औषधि खाएर पनि ठीक नहुने देखिएको छ । ती बिरामीका लागि उपयोगी र सहयोगी हुन्छ भनेर नै हामीले यो रोबोटको प्रविधि नेपाल भित्र्याएका हौँ ।

विगतमा भएजस्तो रोबोटबाट उपचार गर्दा त्रुटि अर्थात् हेलचेक्र्याइँ कम हुन्छ ?

त्रुटि अर्थात् हेलचेक्र्याइँ भन्दा पनि हाम्रो भाषामा ‘एरर’ भन्छौँ । एरर कमभन्दा कम हुन्छ भन्ने हो । मैले अघि नै भनेँ एक मिमिदेखि २ मिमिसम्म रोबोटले हेर्न सक्छ, जो सर्जनको हातबाट संभव हुँदैन । 

स्वास्थ्य क्षेत्रमा देखिएको विकृति मौलाउनुमा स्वास्थ्यकर्मी वा नागरिक को कति जिम्मेवार छन् ? 

यसमा डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीका साथै नागरिक मात्र नभएर अर्को तेस्रो पक्ष पनि दोषी छ, त्यो हो संचार जगत् । यदि बाजा बजाएरै मिडियाले डाक्टर तथा अन्य स्वास्थ्यकर्मी गलत हो भनेका खण्डमा त डाक्टरको त बोली नै बन्द हुन्छ नि !

सामान्यतया परामर्श राम्रोसँग गर्ने हो भने बिरामी तथा उसका आफन्तले पनि नबुझ्ने होइनन् । तर, राम्रोसँग परामर्श दिने वातावरण नै बन्दैन अर्थात् बनिरहेको छैन । त्यसमा खेल्ने अन्य सहकर्मीदेखि विभिन्न स्वार्थ समूह हुन्छन्, जसले कसैलाई उचालेर आफ्नो स्वार्थअनुकूल प्रयोग गर्न खोज्दा धेरै यस्ता घटना हुने गरेका छन् । 

यसको अर्थ मानवीय गल्ती हुँदै हुँदैन भन्ने होइन तर यसमा एक जना डाक्टरको मात्र नभएर प्रणालीको नै खराबी हो कि होइन भनेर ख्याल राख्न जरुरी छ । 

चितवनमा भएको घाँटीको अपरेसन गर्नुपर्ने बिरामीको पाठेघरको अपरेसन भएको कुरा छ नि, यसमा त सबै प्रणालीको नै दोष हो नि ! नर्सले कुन बिरामीको कहिले केको अपरेसन गर्ने हो, ठीकसँग हेर्नुपर्‍यो । डाक्टरले पनि बिरामी हेरेर चिनेर बिरामी यो नै हो र केको अपरेसन हो भनेर थाहा पाउनुपर्‍यो । 

एनेस्थेसिस्टले पनि बेहोस गराउनुअघि त्यही बिरामी हो कि होइन भनेर आफ्नो काम गर्नुपर्‍यो । त्यस कारण यस्ता गल्ती एक जनाको मात्र नभएर समग्र प्रणालीको हो । यसमा सबैले मिलेर सुधार गर्नुपर्ने हुन्छ । डाक्टर अनि नर्सलाई मात्र दोष दिएर हामी उम्कन सक्दैनौँ । यसमा मिडियादेखि समग्र नागरिक समाजले पनि आफ्नो भूमिका राम्रोसँग निभाउनुपर्छ ।