एसियन कप छनोटमा नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने

एसियन कप छनोटमा नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने

रासस  |  खेलकुद  |  भदौ १, २०७८

एसियाली फुटबल महासंघ महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघका अनुसार छनोटको समूह ‘एफ’मा  रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी २ असोजमा उज्वेकिस्तानमा खेल्ने तय भएको छ । नेपालले आफ्नो दोस्रो खेल हङकङसित ५ असोजमा खेल्नेछ । यसैगरी सो समूहअन्तर्गत फिलिपिन्स र हङकङबीचको खेल ८ असोजमा हुनेछ । 

नेपाल सहभागी समूह ‘एफ’को खेल नेपालमा संचालन हुने भनिए पनि अन्तिममा आएर कोरोनो महामारीका कारण उज्वेकिस्तानमा सारिएको थियो । उक्त समूहको शीर्ष स्थानमा रहने टोली आगामी वर्ष भारतमा आयोजना हुने एसियन कपका लागि छनोट हुनेछ । एसियन कप छनोटका तयारीका लागि २८ जना महिला खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । सो टोलीलाई मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रशिक्षण दिइरहेका छन् । 

बन्द प्रशिक्षणमा हीरा भुजेल, इन्द्रा राई, मनीषा राउत, मन्जली थोकर, निशा थोकर, प्रीति राई, पूजा राना, पुनम जर्गा मगर, रजनी थोकर, अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हिमा चौधरी, रश्मि घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बू, शर्मिला थापा र सिर्जना सिंह रहेको एन्फाले जनाएको छ ।