विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २, २०७८

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । यूएई र ओमानमा संयुक्त रूपमा हुन लागेको प्रतियोगिताको खेल तालिका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको हो ।

विश्वकप क्रिकेट आगामी १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म हुँदै छ । सार्वजनिक खेल तालिकाअनुसार भारतले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । सुपर १२ को समूह- २ मा रहेको भारतले पाकिस्तानसँग २४ अक्टोबरमा प्रतिस्पर्धा गर्नेछ ।

भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ । अन्तिम पटक दुवै टिम सन् २०१९ को वान डे विश्वकपमा भिडेका थिए, जसमा भारत विजयी बनेको थियो ।

प्रतियोगिताको पहिलो चरणमा ८ टोलीले सहभागिता जनाउनेछन्, जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका ४ टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।