अफगानिस्तानबाट भारतले फिर्ता गर्‍यो सबै कूटनीतिज्ञ

अफगानिस्तानबाट भारतले फिर्ता गर्‍यो सबै कूटनीतिज्ञ

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २, २०७८

भारतले अफगानिस्तानबाट आफ्ना राजदूत र सम्पूर्ण कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । भारतीय सेनाको एक विशेष विमानमार्फत उनीहरूलाई काबुलबाट राजधानी नयाँ दिल्ली नजिकको एक विमानस्थलमा उतारिएको हो ।

विमानमा कूटनीतिज्ञ, सरकारी अधिकारी, सुरक्षाकर्मीसहित १५० जना सवार थिए । त्यस्तै, अफगानिस्तानमा अलपत्र परेका केही भारतीय नागरिक पनि सोही विमानबाट स्वदेश फर्किएका थिए । 

सुरक्षित ढंगले स्वदेश फर्किदा आफूलाई निकै खुसी लागेको अफगानिस्तानका लागि भारतीय राजदूत रुद्रेन्द्र टंडनले बताए । राजदूत टंडनले अफगानिस्तानमा अझै केही भारतीय बिचल्लीमा परेको र व्यावसायिक उडान संचालन भएपछि उनीहरूको उद्धार गरिने बताए । 

कूटनीतिज्ञलाई स्वदेश फर्काउने कार्य जटिल अभ्यास भएको भारतीय विदेश सचिव एस जयशंकरले बताएका छन् ।  अफगानिस्तानमा कति भारतीय छन् भन्ने यकिन तथ्यांक सार्वजनिक नभए पनि बिचल्लीमा परेकाले सामाजिक संजालमा आफ्नो उद्धार गरिदिन सरकारसँग आग्रह गरेका छन् । आफ्ना दूतलाई स्वदेश फर्काएसँगै भारत र अफगानिस्तानबीचको कूटनीतिक सम्बन्ध अस्थायी रूपमा अन्त्य भएको छ । यसले दुवै देशका नागरिकलाई समस्या पार्ने विज्ञहरूले औँल्याएका छन् ।

आइतबार तालिबानले काबुल कब्जा गरेपछि अफगानिस्तानको सुरक्षा अवस्था निकै तरल बनेको छ । पछिल्ला दिनमा देश छाडेर दोस्रो मुलुकका लागि विमानस्थलमा जाने आफगानीको संख्या उल्लेख्य छ । देशका व्यावसायिक विमानस्थल बन्द छन् भने बढ्दो उथलपुथलबीच विदेशी सेनाले काबुल विमानस्थललाई सुचारु गर्ने प्रयासमा छ । 

यसैबीच देशलाई पूर्ण रूपमा नियन्त्रणमा लिएका तालिबानले निडर भएर काममा फर्किन आह्वान गरेका छन् । तालिबानले काबुललाई नियन्त्रणमा लिएपछि अधिकांश कार्यलय बन्द छन् । त्रासका कारण सरकारी कर्मचारी काममा फर्किन सकेका छैनन् । तालिबानले उनीहरूलाई आममाफी दिइसकेको छ ।