राष्ट्रपतिद्वारा अध्यादेश जारी, दल विभाजन गर्न सहज

राष्ट्रपतिद्वारा अध्यादेश जारी, दल विभाजन गर्न सहज

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । 

मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन् ।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर राजनीतिक दल विभाजन गर्न मिल्ने अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा रहेको व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान थियो । तर, सरकारले त्यो प्रावधानलाई खुकुलो बनाउँदै केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न सकिने व्यवस्था अध्यादेशमार्फत गरिएको छ ।

यससँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल खेमा र जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमालाई दल विभाजन गर्न सहज हुने भएको छ ।