अनुरोध शर्मा | दृष्टिकोण | भदौ २, २०७८
केही समयअघि झनै तरल र धमिलो पनि बन्दै गएको नेपाली राजनीतिलाई अनेक कोणबाट व्याख्या विश्लेषण भइरहेका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा लामै अन्तर्वार्ता सार्वजनिक भएको थियो एउटा अनलाइनमार्फत । उक्त अन्तर्वार्ताका लागि सोधिएका प्रश्नहरू सुन्दा कतै त्यो अन्तर्वार्ता नियोजित त थिएन भन्ने लाग्नु स्वाभाविक थियो । ओलीको उत्तर दिने शैली र हाउभाउले समेत त्यसलाई पुष्टि गर्न सघाउँथ्यो ।
तथापि, कुन प्रयोजन र नियतले अन्तर्वार्ता गरियो वा गराइयो भन्दा पनि प्रधानमन्त्रीले अन्तर्वार्तामा के बोले भन्ने पक्ष महत्त्वपूर्ण हो । ओलीको उक्त अन्तर्वार्ताको आसय प्रस्ट थियो- 'राजा म हुँ र राज्य पनि म नै हुँ ।'
उनको बोलीको भाका, शैली र शरीरको हाउभाउले भनिरहेको थियो- 'मेरा निर्णय नै पार्टीका र सरकारका निर्णय हुन्, खबरदार ! कसैले ममाथि औँलो उठाउला !'
उक्त अन्तर्वार्ता यस्तो बेलामा आएको थियो, जब ओली आफ्नै नेतृत्वको सरकार धान्न नसक्ने अनि आफ्नै पार्टीभित्र अल्पमतमा पर्दै गएका थिए ।
एमाले विवादको कारण सतहमा नेपाल-खनाल देखिएका छन्, जुन स्वाभाविक हो । र, केही हदसम्म नेपाल-खनालको अहं, पदीय लोभ, पार्टीमा भूमिकाविहीन जस्तो अवस्थामा रहनुको पीडा पनि एमालेको लफडाको कारण अवश्य हो । यो सरसर्ती हेर्दा देखिने कारण मात्र हो ।
तर, रमाइलो पक्ष के थियो अन्तर्वार्तामा ओली भने पटक पटक 'लोकतन्त्रु', 'विधि' र 'पद्धति'को दुहाई दिइरहेका थिए । ओलीलाई सुन्दा विगतमा जहानियाँ राणाले, राजा महेन्द्रले र पछिल्लो पटकका तानाशाह राजा ज्ञानेन्द्रले पनि यसरी नै अथवा ओलीले जसरी नै आफूलाई 'लोकतान्त्रिक' र 'जनपक्षीय' दाबी गरेको झलझली याद आउँथ्यो ।
ओलीसँगको उक्त वार्ता मूलत: एमालेभित्रको पछिल्लो लफडा र मतभेदमै केन्द्रित थियो । सुरुदेखि लामो समय अन्तर्वार्ताकार घुमाई फिराई एउटै आसयको प्रश्नमा रुमल्लिएका थिए । उत्तरमा ओलीले आफू 'उदार' र 'लोकतान्त्रिक' हुँदाहुँदै निरंकुश र तानाशाही बन्न बाध्य पारिएको आसय पटक पटक व्यक्त गरेर आफ्ना पार्टीघाती, राष्ट्रघाती कदमको बचाउ गरिरहेका थिए ।
अघिल्ला अन्तर्वार्ताहरूमा भन्दा धैरै नै लापर्बाह जस्ता देखिएका ओलीका तर्कहरू सुन्दा उनी आफ्ना आलोचक र विरोधीप्रति अत्यन्त आक्रामक प्रतीत हुन्थे । लामाे समयदेखि ओलीका कामकारबाही र व्यवहारप्रति असन्तुष्ट रहेका माधव नेपाल-झलनाथ खनाल खेमालाई अब कुनै पनि अवस्थामा एमालेमा समेट्न नसक्ने उनको भनाइबाट थाहा हुन्थ्यो । तर, भनिरहेका थिए, 'यदि उनीहरूले मेराविरुद्ध गरेका गतिविधि र कामकारबाहीलाई हामीले गल्ती गर्यौँ, हजुरका विरुद्ध हामी जानुहुँदैनथ्यो, माफ गरिस्यो प्रभु भन्दै आएमा भने पार्टीमा एउटा कुनोमा बस्न दिनेछु ।'
विगतमा लामो समय त्यही पार्टीको नेतृत्व गरेका र साँच्चै भन्दा ओलीभन्दा बढी समय पार्टीमा लगानी गरेका नेपाल-खनालप्रतिको ओलीको उक्त अहंकारयुक्त गर्जनलाई सुन्नेले स्वाभाविक मान्न सकेनन् ।
र, ओलीको उक्त अन्तर्वार्ताको मूल सन्देश नै नेपाल-खनाललाई पार्टीबाट बिदा गर्न ओली आतुर छन् भन्नु रहेको प्रस्ट हुन्छ ।
त्यही अन्तर्वार्तापछि आशंका जन्मिएको थियो- कतै केपी शर्मा ओलीले दोस्रो पटक एमाले फुटाउँदै त छैनन् ?
अन्तत: आज पुष्टि भयाे कि ओली पार्टी जोगाउन होइन, भत्काउन वा फुटाउन अग्रसर थिए । उनी कुनै पनि हालतमा माधव नेपालहरूलाई एमालेबाट बिदा गर्न चाहन्थे र यसकै लागि उनले यसबीचमा पार्टीबाट कारबाही र कहिले सांसदबाट हटाइएका नाटक मंचन गरिरहे । आज एमाले वैधानिक रूपमै फुटेको छ । राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमा र एमालेको माधव खेमा औपचारिक रूपमै विभाजत बनेका छन् ।
विगतमा माधव नेपाल पार्टी नेतृत्वमा रहँदा नेपाललाई कमजोर बनाउन शक्तिशाली बन्दै गएको एमालेलाई विभाजन गरेर पार्टीमा आफ्नो बर्चस्व स्थापित गर्दै अन्ततः पार्टी अध्यक्ष बन्न सफल भएका ओली पुनः आफू पार्टी सत्तामा रहिरहन आफ्ना विरोधी र आलोचक खेमालाई अनेक तिकडम गर्दै, 'ह्युमिलेट' गर्दै, लखेट्दै अन्तत: एउटा अनलाइनसँग 'नियोजित' अन्तर्वार्ता दिएर 'तिमीहरू मेरो आदेश, निर्देश र निर्णय मान्दैनौ भने अलग होऊ, फुटेर जाऊ' भन्न थालेपछि ओलीकै कारण दोस्रो पटक एमाले फुट्दै त छैन ? भन्ने आमशंका जुन थियो, त्यो आज पुष्टि भइसकेको छ ।
एमाले फुटाउन ओली नै कसरी कारक ?
विगतमा एमाले फुटाउन ओलीले गरेका हर्कत, अर्को खेमाका विरुद्ध गरेका गतिविधि र व्यवहार अनि भारतसँग गरिएको राष्ट्रघाती महाकाली सन्धिलाई देख्ने, बुझ्ने प्राय: सबै जीवित नै छन् । यस कारण त्यसबेलाको एमाले फुटको कारणमा अगाडि आउने नाम पहिलो नम्बरमै केपी ओलीको हो ।
अहिले पनि एमाले दोस्रो पटक फुटेको छ । यसबेला एमाले विवादको कारण सतहमा नेपाल-खनाल देखिएका छन्, जुन स्वाभाविक हो । र, केही हदसम्म नेपाल-खनालको अहं, पदीय लोभ, पार्टीमा भूमिकाविहीन जस्तो अवस्थामा रहनुको पीडा पनि एमालेको लफडाको कारण अवश्य हो । यो सरसर्ती हेर्दा देखिने कारण मात्र हो ।
तर, पार्टीको पूर्वनेतृत्व गरिसकेका र अभिभावक बनिसकेका नेताहरूप्रति वर्तमानका जिम्मेवार नेतृत्वले, पार्टी अध्यक्षले गर्ने र गरिरहेको व्यवहार नै उनीहरूको विद्रोहको प्रमुख कारण होइन र ? उनीहरूमाथिका गैरवैधानिक, तुच्छ ओलीको वचन र व्यवहारले के नेपाल-खनालको अहंचाहिँ सदैव निष्क्रिय रहिरहनुपर्ने ?
वर्षौंको लगानी र मिहिनेतले बनेको पार्टीको माया नेपाल-खनाललाई नभएर ओलीलाई मात्र होला र ? के पार्टी फुटाउने रहरले नै नेपाल-खनाल खेमाले विद्रोह गरिरहेका हुन् त ?
साँच्नै भन्दा ओलीको भन्दा बढी योगदान एमाले बनाउनुमा र समग्र राजनीतिक जीवनमा पनि नेपाल-खनालकै छ । अमूक मुद्दामा करिब डेढ दशक जेल बसेकै आधारमा ओलीको योगदान ठूलो र नेपाल-खनालको सानो हुँदैन । ओलीले भन्दा बढी समय, श्रम र योगदान नेपाल-खनालको छ एमालेमा रे नेपाली राजनीतिमा, यो तथ्य हेक्का नराखी अहं साँध्नका लागि ढोका थ्नेर बिरालो चुट्ने मूर्खता ओलीबाट जो भयो, अन्तत: आफ्नो राजनीतिक जीवन र भौतिक जीवनको समेत उत्तरार्द्धमा पुगेका केपी ओलीले निकै ठूलो कलंकको टीका निधारमा लगाएर ओली एमालेको इतिहासमा २ पटक पार्टी फुटाउने पात्रका रूपमा दर्ज भएका छन् ।