जर्मनीमा क्रियाशील नेपाली चार संस्थाद्वारा एनआरएनएका गतिविधि बहिस्कारको आव्हान !

जर्मनीमा क्रियाशील नेपाली चार संस्थाद्वारा एनआरएनएका गतिविधि बहिस्कारको आव्हान !

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २, २०७८

जर्मनीमा कार्यरत नेपालीका चार वटा संस्थाले  संयुक्त प्रेस वक्तव्य  प्रकाशित गरी गत ३१ जुलाईमा भएको एनआरएनए जर्मनीको धाँधली र फर्जी मत प्रयोग गरी अनलाइन प्रविधिलाई दुरुपयोग गरेर निर्वाचित कठपुतली नेतृत्वका सबै क्रियाकलाप पूर्ण रूपले बहिस्कार  गर्न आव्हान गरेका छन्  ।

यसरी नेतृत्वका सबै क्रियाकलाप पूर्ण रूपले बहिस्कार गर्न आव्हान गर्नेहरूमा प्रवासी नेपाली एकता मञ्च जर्मनीका अध्यक्ष  चन्द्रकान्त आचार्य, नेपाली जन सम्पर्क समिति जर्मनीका  अध्यक्ष शिखर खड्का, नेपाली जन प्रगतिशील मञ्च जर्मनीका अध्यक्ष शम्भु प्रसाद पोख्रेल र प्रवासी नेपाली एकता समाज जर्मनी अध्यक्ष विजय शाही हुनुहुन्छ ।

संयुक्त प्रेस वक्तव्यमा भनिएको छ- 'जर्मनी भरी छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु आबद्ध  विभिन्न सङ्घ संस्थाहरू लगायत अग्रज तथा बुद्धिजीवीहरूको असहमति र असमर्थन  हुँदाहुँदै पनि एनआरएनए जर्मनीको नेतृत्वले अवैधानिक कार्य गर्न प्रेरित भई पक्षपात र पूर्वाग्रह तवरमा आइसिसी प्रतिनिधिको छनोट गरेको छ' ।  भनी उल्लेख छ । 
एनआरएनए जर्मनीको २०२१/२०२३ कार्यकालको निर्वाचन नै विवादित भएकोले निष्पक्ष छानबिन र न्यायको माग गर्दै जर्मनीका विभिन्न अदालतहरूमा मुद्दाहरु समेत परेको कुरा उल्लेख  गर्दै  एनआरएनए जर्मनीलाई अदालतबाट फैसला नआउन्जेल सम्म कानुनतः एनआरएनए जर्मनीको अभियानमा कुनै  पनि गतिविधि गर्न छुट नभएको कुरा वक्तव्यमा दावी गरिएको छ ।

 आइसिसी ६५ प्रतिशत प्रतिनिधि छनौटमा देखा परेका पूर्वाग्रही र मनपरी तन्त्रले संस्थाको गरिमामय छविलाई धब्बा लगाई दिएको छ। २५ प्रतिशत प्रतिनिधिहरूको लागि  आजको आजै निर्वाचन  गर्ने निर्णय कुनै पनि हालतमा स्वीकार्य हुँदैन। यस्तो निर्वाचन जर्मनीको कानुन विपरीत र एनआरएनएको विधान विपरीत छ। गैर कानुनी र अवैधानिक रुपमा कुनै संस्था चलाउनु पनि दण्डनीय हुन्छ।

निर्वाचन आयोग बिना यो चुनाव कसले गराउँदै छ रु यो सबै जर्मनी निवासी आम नेपालीहरूको चासोको विषय पनि हो। यो कस्ले ?  के का लागि ?  किन ? र कसरी यो निर्वाचन एनआरएनए जर्मनीले गर्दै छ भन्ने करिब १६ सय साधारण सदस्यहरूलाई कुनै जानकारी पनि छैन। मुठी भरका व्यक्तिको स्वार्थको लागी कठपुतली  नेतृत्वले निर्वाचन आयोग बिना प्रतिनिधिको निर्वाचन गर्दै छ। आधिकारिक रुपमा निर्वाचन आयोग खै ? यसको कुनै आधिकारिक जानकारी बिना निर्वाचन कसरी सम्भव छ ? भनि प्रश्न उठाइएको छ ।

अनलाइनमा सदस्यताको मतलब नबुझ्ने  हामी कयौँ नेपालीहरू जर्मनीमा बसोबास गर्दै आएका छौँ। कसरी अनलाइन भोट दिन भन्ने पूर्व जानकारी पनि गर्न एनआरएनए जर्मनी अक्षम भएको देखियो। यो स्पष्ट छ कि पहिले नै प्रतिनिधिहरूको नाम लिस्ट तयार गरिसकेकोले देखावटीको लागि निर्वाचन हुँदै छ।  तसर्थ जसको शक्ति उसको भक्ति भने झैँ एनआरएनए जर्मनी धनाढ्य वर्गको एउटा  निजी क्लब बन्दै गइरहेको छ। 

तसर्थ यो संस्थाको लागि ठुलो योगदान र समर्पण रहेका धेरै अग्रज तथा अभिन्यताहरुको मेहनतले निर्माण भएको यो संस्थाको गरिमा अस्ताउँदै गएकोमा दुख लाग्छ। स्वार्थ सिद्ध गर्न विभिन्न  चलखेल र  षड्यन्त्रकारी तिकडम बाजिका फोहोरी खेल पवित्र संस्थामा तुरुन्त बन्द गर्न हामीले खबरदारी गर्दछौँ। अदालतको फैसलालाई पर्खिरहेका हामी सबै जर्मनी निवासीहरुले वर्तमान  एनआरएनए जर्मनीले संस्थागत कुनै पनि गतिविधि  नगर्न यसै वक्तव्यबाट चेतावनीका साथ अनुरोध  गर्दछौ। 

अन्त्यमा जर्मनी भरी छरिएर रहेका सम्पूर्ण नेपालीहरूको हित हक अधिकारको लागि क्रियाशील सबै सङ्घ संस्था, आदरणीय अग्रज तथा बुद्धिजीवी लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई एकताबद्ध भएर स्वेच्छाचारी तवरले चल्न  खोज्ने वर्तमान एनआरएनए जर्मनीलाई खबरदारी गर्दै भण्डाफोर गर्न समेत अपिल गरिएको छ ।