आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रो देख्ने नागरिक समाज, 'क्लब'हरू र राजनीति

आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रो देख्ने नागरिक समाज, 'क्लब'हरू र राजनीति

पर्वत भट्टराई  |  दृष्टिकोण  |  भदौ ४, २०७८

जिन्दगीमा गल्ती नगर्ने मानिस कोही पनि हुँदैन  । सबैले कहीँ न कहीँ गल्ती गरेकै हुन्छन् ।  हजारौँ गल्तीहरूको कमजोर साँघु तरेर मानिस आफ्नो जिन्दगीको खोला तर्दै जान्छ । 

अनेक उकाली, ओराली र घुम्तिहरूमा लड्दै, उठ्दै जिन्दगी अगाडि बढ्दै जान्छ । जानी, नजानी भएका अनेक कमजोरीहरूको धुलो टक्टक्याएर अगाडि बढ्नुबाहेक अर्को उपाय हुँदैन ऊसँग । एउटा समतल फाँट, अग्लो पहाड हुँदै हिमालसम्म चुम्ने लक्ष्यमा हजारौँ गल्तीहरू भइरहन्छन् । यस्ता अनेक गल्तीहरूको चाङ मानिसको पूरा उमेरभन्दा पनि अग्लो भएर ठडिन्छ । 

माने पनि नमाने पनि, आफ्नै गल्तीहरूको आकाह छुने धरहरा सबैको अगाडि ठिङ्ग उभिएको हुन्छ । एउटा मानिसको गल्तीले उसकै जीवन, बाबाआमाको गल्तीले सन्तानको भविष्य, शिक्षकको गल्तीले विद्यार्थीको क्षमता, डाक्टरको गल्तीले बिरामीको ज्यान, न्यायाधीशको गल्तीले अपराधीको उन्मुक्ति, कर्मचारीको गल्तीले सेवाग्राहीको अधिकार, सिकारीको गल्तीले उसैलाई प्रतिघात, प्रेमी-प्रेमिकाको गल्तीले मायामा आघात र प्रकृतिको गल्तीले संसारै समाप्त हुन सक्छ ।

समाजमा कुनै खास रीति, थिति, नियम र विचारहरूको प्रचलित मान्यताविपरीत गरिएको भूलचूक वा बिरामहरूलाई गल्ती भन्ने गरिएको छ । सामाजिक नैतिकता, मूल्य र सिद्धान्तविरुद्ध हुने कामहरू गल्तीमा गणना गरिन्छन् । कुनै ठोस कारणबिना कसैलाई हानि नोक्सानी पुर्‍याउने अनुचित कामलाई पनि गल्ती भनिन्छ । यस्ता गल्तीहरू जोसुकैबाट जतिबेला पनि हुन सक्छन् र गरिन्छन् । यो नै जिन्दगीको रीत र गीत दुवै हो ।

ओशो रजनीसले गल्तीका बारेमा लामो व्याख्या गरेका छन् । उनका अनुसार ‘को सही छ र को गलत छ भन्ने प्रश्न नै बेकारको हो । सही र गलतको कौडी खोज्दाखोज्दै हीरा जस्तो अमूल्य जीवन पानीमा बगेर जान्छ तर प्रश्नचाहिँ उत्तरबिना बाँकी नै रहन्छ ।’

लाग्छ कि, बहावाला प्रधामन्त्री निरीह भएर उनीहरूको आदेशपालक बनोस् । उनीहरूले आफ्नो विगत र वर्तमानको शरीरमा टाँसिएको कालो भैँसी पनि देखेनन् । आफैँ नाङ्गो भएर सडकमा जात्रा देखाएको गल्ती पनि देखेनन् ।

जति अरूका कामप्रति सिकायत गरिन्छ, त्यति नै आफ्ना पनि गल्तीहरूको पहाड अग्लो हुँदै जान्छ भनेर मानिसले कहिल्यै बुझ्न सक्दैन । यहाँ त यस्तो चलन छ कि गल्ती भनेकै अरूले गर्ने हो, आफूले गर्ने त हुँदै होइन । त्यसैले एउटा उखान बनेको छ ‘आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रो देख्ने ।’

आफ्ना भूलचूकहरू देख्नेबेलामा रतन्धो रोग लाग्ने र अरूका सानासाना कमजोरी देख्नलाई आँखामा माइक्रोस्कोप झुण्डिएजस्तै हुने मानिसको जन्मजात रोग हो । यहाँ आफूलाई ठेस लागेमा ढुंगालाई दोष दिने र अरूलाई ठेस लागेमा ‘आँखा हेरेर हिँड्नुपर्दैन ?’ भनेर अर्ति, उपदेश दिनेहरूको कुनै कमी छैन ।

केटाकेटीमा कति गल्ती हुन्छन्, त्यसको हिसाबै हुँदैन । किशोर अवस्थामा भएका गल्तीहरूको बहिखाता सबैका बाबाआमासँग हुन्छ । वयस्क र प्रौढ अवस्थाका अनेक गल्तीहरूको हिसाब पनि उनीहरूकै खातामा उच्च ब्याजदरमा जम्मा भएकै हुन्छ । जिन्दगीभरि आफूले गरेका अनेक गल्तीहरूको ‘सेभिङ एकाउण्ट’ सबैले खोलेकै हुन्छन् । सोही मुताविक त्यसको साँवा र ब्याज आइरहन्छ । 

बिहानको दिउँसो, दिउँसोको साँझ र साँझका गल्तीहरूको सजाय राती नभोगी सुखै छैन । गल्तीहरूको कथा, उपकथा र सिंगो स्क्रिप्टअनुसार हामी जिन्दगीरूपी फिल्म खेल्छौँ । राम्रो, नराम्रो जस्तो भए पनि त्यसैको गीत गाउँछौँ । यो सबैको जिन्दगीको एउटा सानो सत्य हो ।

जोकोहीबाट पनि हुने कमीकमजोरीहरू कुनै बाजा बजाएर आउँदैनन् । नियोजितबाहेकका सबै गल्तीहरू अकस्मात् आउने न्यून चापीय मनसुनी वायुको प्रभाव जस्तै हुन् । अकस्मात् हावाहुरी, चट्याङ, असिना र पानी जस्तै बर्सिन्छन् । त्यसपछि जिन्दगीमा सानो-ठूलो भेल, बाढी र पहिरो ल्याउँछन् । 

साँच्चैको प्राकृतिक बाढी, पहिरो भए पो दोष दिन हुन्थ्यो, ‘सरकार, किन पूर्वतयारी भएन ?’ भनेर । तर, यो त आफैँ आएको हो, कसलाई घारे हात लगाउँदै सराप्ने, गाली गर्ने र बदला लिउँला भनेर मुरमुरिने ? तर, नियोजित अर्थात् सेटिङमा गरिने गल्तीहरू मूलबाटो र सबै गौँडाहरू छेकेर उम्कनै नदिने गरी आएको राक्षस जस्तै भएर आउँछन् । राक्षससँग कसको के लाग्छ र ! 

मानिसलाई लाग्छ, पहिले यस्तो नगरेको भए, उस्तो नगरेको भए वा त्यस्तोचाहिँ गरेको भए आज यो हाल बेहोर्नुपर्ने थिएन । ‘दिसा गर्‍यो, दैलो देख्यो’ भनेजस्तै जिन्दगीका अनेक मोड र घुम्तीमा गरिएका कमजोरी र गल्तीहरूको परिणाम आएपछि बल्ल थाहा हुन्छ- ‘ओहो ! कस्तो गल्ती गरिएछ ।’

त्यसपछि पछुताउनुबाहेक कुनै विकल्प रहँदैन । हजारौँ गल्ती, कमजोरी र त्रुटिहरूको घनचक्करमा फसेरै जिन्दगी बित्छ । नाथुराम गोड्सेले अपराधपूर्ण गल्ती नगरेका भए मोहनदास करमचन्द गान्धीको हत्या हुने थिएन । रहस्यकै गर्भमा रहेको मदन भण्डारीको हत्यामा अमर लामाको नाम जोडिन्छ । यदि लामाले गल्ती गरेका हुन् भने र उनले उक्त गल्ती नगरेका थिए भने मदन भण्डारीलाई पनि मुलुकले गुमाउनुपर्ने थिएन । 

त्यसको मूल्य देश र जनताले चुकाउनु पर्ने पनि थिएन । मानिस आफ्ना गल्तीहरूको सजाय भोग्न त बाध्य छँदै छ, त्यसमाथि अरूका गल्तीहरूको सजाय पनि थपिएर आउँदा त जन्मकैद मात्र हुनुपर्ने ठाउँमा सर्वश्व हरणसहित भनेर आउँछ । त्यसैले बुढापाकाले भन्थे, ‘कानुन अन्धो हुन्छ ।’ 

मानिसको साधारण जिन्दगीदेखि विश्वको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रहरू पनि यस्तै सेरोफेरोमा घुमिरहन्छन् । अनेक भूल र गल्तीको महाभारत युद्ध हामी आफैँ निम्त्याउँछौँ । कहिले पाण्डव र कहिले कौरव बनेर लडिरहन्छौँ । गल्ती गरे पनि, नगरे पनि अरूको दृष्टिकोणमा नराम्रो देखिनुपर्ने अवस्था र परिस्थिति कति आउँछन् कति । छिमेकीको घर जाँदा बाटोमा ठेस लाग्छ, पँधेरो जाँदा चिप्लिएर लडिन्छ, हिमाल चढ्दा हिमपहिरोमा परिन्छ । सानो भूलले गर्दा ठूलो काम बिग्रिन पनि सक्छ । तर, त्यस्ता भूलहरू आफ्ना कारणले भएको मान्न सबैजसो तयार हुँदैनन् बरु चुच्चे ढुंगा, चिप्लो माटो र चिसो हिउँलाई दोष दिएर आफूलाई चोख्याउँदै ‘पानी माथिको ओभानो’ भइहाल्छन् । अरूमाथि तरबार चलाएर अहिंसाको पाठ सिकाउने होस् वा दिनभरि कालिज र हरिण मारेर शाकाहारीको महत्त्व बुझाउने धृष्टता होस्, त्यो मानिसले नै गरिरहेको हुन्छ । 

हरेक समाजमा प्रशासन, राजनीति, न्याय, पत्रकारिता, समाजसेवा, धर्म, शिक्षा र अनेक अभियानका नाममा उपदेशक, अगुवा, स्वघोषित बुद्धिजीवी तथा भलाद्मीहरूको बिगबिगी हुन्छ । आफूले गरेका हजारौँ गल्ती र पाएको जिम्मेवारीका असफलताहरू घरको कालो दराजमा लुकाउँदै अरूले गरेका गल्तीहरूको उछित्तो काढेर लिखित मौखिक उपदेश दिन सडकसम्म आउनेको कुनै कमी हुँदैन । 

आफ्नो काम र कर्तव्य पूरा नगरी अरूलाई कर्तव्य तथा जिम्मेवारीको पाठ पढाउन दिनदिनै ठूलो स्वरमा कराउने काम सामान्य जस्तै भएको छ । सामान्य मानिसका गल्तीहरूले उसैको निजी जीवनमा असर गर्ला तर ठूला मानिसहरूको गल्तीले हिजो पनि, आज पनि र भोलि पनि समाजमा नाकारात्मक असर पार्छ । तसर्थ सबैले आफ्नो आँखामा झुण्डिएको माइक्रोस्कोप निकालेर खुला आँखाले हेर्न, आफ्नो शरीरमा बाँधिएको भैँसीको दाम्लो फुकाल्न र अरूको शरीरको जुम्रा पनि छर्लङ्ग देख्ने हाम्रो आग्रह र पूर्वाग्रहको पावरवाला चस्मा बदल्न आवश्यक छ । किनकि आफ्ना पनि सामाजिक, नैतिक, मूल्य र मान्यताविरुद्ध साना-ठूला भूलचूक, कमजोरी र गल्तीहरू भएका हुन सक्छन् ।

हाम्रो देशको वर्तमान राजनीतिको कुरा गर्ने हो भने यस कुराको प्रस्ट तस्बीर छर्लङ्ग देख्न सकिन्छ । यहाँ निवर्तमान प्रधामन्त्री के. पी. ओलीलाई गलत देखाउन ५ जना पूर्वप्रधामन्त्री ‘क्लब’, ५ जना प्रधानन्यायाधीस ‘क्लब’, ५ जना पूर्वप्रमुख निर्वाचन आयुक्त ‘क्लब’, ५ जना पूर्वसभामुख ‘क्लब’ र यस्तै अनेकौँ नामधारी ‘क्लब’हरू लुगा लगाएरै बाहिर आए । 

लाग्छ कि, बहावाला प्रधामन्त्री निरीह भएर उनीहरूको आदेशपालक बनोस् । उनीहरूले आफ्नो विगत र वर्तमानको शरीरमा टाँसिएको कालो भैँसी पनि देखेनन् । आफैँ नाङ्गो भएर सडकमा जात्रा देखाएको गल्ती पनि देखेनन् । किनकि गल्ती भनेको आफ्नो आङको भैँसी नदेख्ने तर अर्काको आङको जुम्रो देख्ने एउटा महारोग हो । यस्तो रोग लाग्नै नदिनु राम्रो, लागिहालेमा हामी सबैले भन्नुपर्छ, ‘हजुरलाई शीघ्र स्वास्थ्यलाभको कामना छ ।’