ए डिभिजन लिग: निराजनको थ्रीस्टारसँग २ वर्षे सम्झौता नवीकरण

ए डिभिजन लिग: निराजनको थ्रीस्टारसँग २ वर्षे सम्झौता नवीकरण

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ ४, २०७८

आगामी शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबले निराजन महर्जनलाई अनुबन्ध गरेको छ । शुक्रबार ४ पटकको लिग च्याम्पियन थ्रीस्टारले आफ्नो सामाजिक संजालमार्फत निराजनसँग सम्झौता नवीकरण गरेको बताएको हो ।

गत सिजनमा समेत युवा खेलाडी थ्रीस्टारबाट खेलेका थिए । नेपाल यू- १२, १४, १८ र १९ वर्षको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका ‘फुल ब्याक’ निराजनले उमेर समूहमा थ्रीस्टारको कप्तानीसमेत गरेका थिए ।

निराजनलाई २७ नम्बरको जर्सी दिँदै थ्रीस्टारका अध्यक्ष अरुनमान जोशीले स्वागत गरे । सम्झौता २ वर्षको रहने क्लबका प्रतिनिधिले जानकारी दिए । 

क्लबसँग २ वर्षको सम्झौता गर्ने निराजन दोस्रो खेलाडी भएका छन् । यसअघि राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुष घलानले २ वर्षको सम्झौता गरेका थिए ।गत जेठमा समापन भएको पहिलो फ्रेन्चाइज नेपाल सुपर लिगमा निराजनले धनगढी एफसीबाट खेलेका थिए । टोली उपविजेता भएको थियो ।

यस सिजन लिगलाई थ्रीस्टारले कप्तान बिक्रम लामासहित राष्ट्रिय टोलीका डिफेण्डर अनन्त तामाङ, निशान खड्का, अट्याकर संजोक राई, डोना थापालाई अनुबन्धन गरेको छ । विदेशी खेलाडीमा भने क्लबले हालसम्म एक मात्रै राफेल बिदियस रिमलाई जोडेको छ । गत सिजनका गोलरक्षक प्रिसोलाई समेत क्लबले जोड्ने योजना बनाएको छ ।

नेपाल फुटबल संघले यस पटक लिग २९ कात्तिकबाट आयोजना गर्दै छ । पुरस्कार राशिसमेत बढाएको एन्फाले गत वर्षको ५० लाख रुपैयाँलाई बढाउँदै यस पटकको विजेताले ७५ लाख रुपैयाँ पाउने जनाएको छ । दोस्रो हुने टोलीले ५० लाख रुपैयाँ पाउनेछन् ।

१४ वटा क्लब सहभागी रहने लिगको पुछारमा रहने टोली बी डिभिजनमा घटुवा हुनेछ । गत सिजनमा सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा हुँदा बी डिभिजन लिगबाट सातदोबाटो युथ क्लब ए डिभिजन लिगमा बढुवा भएको थियो ।