'हेडसरकी पुरानो मायालु' र 'पुरानो माया संजोकले भेट भो' बोलको गीत र जीवन मुक्तिको आदर्श

'हेडसरकी पुरानो मायालु' र 'पुरानो माया संजोकले भेट भो'  बोलको गीत र जीवन मुक्तिको आदर्श

प्रा.डा. विष्णु राई  |  लोकरञ्जन  |  भदौ ४, २०७८

' पुरानो माया संजोकले भेट भो छुट्नलाई गाह्रो भो 
नछुट उँ भने बेग्लै संसार साँझ पर्न लागिसक्यो'  

यो गीतको रचना गर्भ मैले दक्षिण कोरियाको सिवल स्थित बेलुकी रक्सी भट्टीमा रमाइलो गर्दा अचानक फेला पारेको थिएँ । माघको जाडोले इथिवानको आधुनिक साँझलाई समातेको थियो । ठुलो नाचगान भएको बारमा जान म्याग्दीको हेडसर झिजेन्द्र पुनलाई अस्वीकार गरेको थिएँ । बारमा छिरेपछि रक्सी तोडकाउँन पर्ला भन्ने पिरले मलाई गाँजेको थियो । सर भन्दै हुनुहुन्थ्यो-'भोलि तपाईँ फर्कँदै हुनुहुन्छ । यसो चिसो ताने जस्तो गर्नोस् सिवलको चम्किला तरुनीहरू कसरी नाच्छन् हेर्नोस्' । अब मैले नाइ नास्ती गर्न सकिनँ । कसो कसो शियामा कोरियन जस्ती सुन्दरी युवतीहरू बिरलै देखेको थिएँ । यो कुरा २०५१ सालमा हुनसक्छ । नेपालबाट कालो सुट टाई लगाएर गएको थिएँ, किम्पू एरपोर्टबाट राती बाहिर निस्कँदा मेरो ह्याकुलो जाडोले काँपेको सम्झना छ । त्यतिको जाडो मैले अहिलेसम्म खपेको छैन ।

भोलिपल्ट ज्याकेट किन्न बाध्य भएँ- नेपालीले चार सय डलरको ज्याकेट किन्छ ? भनेर मलाई पसले ठिटोले पत्याएको थिएन । साठी डलरको जुत्ता किनेको देख्दा ऊ झस्केको अनुहार मलाई अझ सम्झना छ । लेडिज ब्यागतर्फ के हेरेको थिएँ । छुँदा मैलो लाग्ने जस्ती सुन्दरीले आफैँ भिरेर राम्रो छ, मलाई सुहायो ? तपाईँ कि मायालुलाई अवश्य सुहाउँछ ?  म भन्दा राम्री होलिन् ? भन्दै चालीस डलरमा किन्न बाध्य बनाएकी थिइन् । हुन पनि मैले नेपाली रुपैयाँमा कन्भर्ट गर्दा त्यो रकमले पहाडमा दस पाथीको खेत मज्जाले आउँथ्यो भन्ने हिसाब होटेलमा पुगेर गरेको थिएँ ।

दरो ज्याकेट लगाए पनि हिउँको ठिहीले मुसा जस्तो भएर हेडसरसँग बारभित्र छिरेँ  ।  हेडसर ! सात वर्षभित्रमा कोरियाको ज्ञाता  भइसक्नु भएको रहेछ । कोरियन भाषामा बोल्दै हामीलाई छिरेको देख्दा टेबलमा एक सुन्दरीले स्वागत गर्दै बस्न आग्रह गरिन् । बारभित्र पस्नसाथ मैले युएस फोर्सको कुइरेको ठुलो जमात, नेग्रोहरु, साउदीहरू निर्धक्क पिएर युवतीहरूसँग अङ्कमाल गरेको देखेँ । आजसम्म मैले नदेखेको अर्को रङ्गिन संसार थियो ।  आधुनिक पुँजीवाद भनेको यही होला, सुन्दरीहरूसँग नाच्ने र पिउने गफ गर्नेहरूको भिड थियो ।  पुँजीवाद भनेको नाफाको लागि जे बिक्री हुन्छ त्यो बिक्री गर्ने हो भन्छन्, सत्य रहेछ ।

हेडसरले कोरियन भाषामा के भन्नु भयो- एक-एक जग बियर टेबलमा ल्यायो । जाडोमा बियर कस्तो होला भन्दै थिएँ । सरले ! यी यसरी पिउनु पर्छ नेपाली बियर जस्तो होइन । तेल जस्तो छ भनेर फेरि मलाई उकासेपछि बियरको जग समातेँ ।  केही मिनेटमा एउटी खाइलाग्दी तरुनी हाम्रो टेबलमा बस्दै हेडसरलाई मायालु भावमा के भनी, बियरको अर्को जग मगाएर तन्काइन् । सरले मलाई भन्नु भयो-उनी मेरो पुरानो मायालु जस्तै हुन् । सरको कुरो बुझ्न मलाई धेरै बेर लागेन । सरले प्रयोग गर्नु भएको यो शब्द मलाई प्रभावयुक्त लाग्यो- 'पुरानो मायालु', मेरो मुटु यो कुराले छोयो ।  सरकी पुरानो मायालुले मादक पदार्थ पिएर आफ्नो यौवनको मादकता हल्लाउँदै मिठो स्वरमा गीत गाउन थालिन । जवाफमा हल्का मदहोसमा मैले पनि बुलुजीको गीत गाएको थिएँ बारभित्र- इलामे सहर चियाबारी राम्रो घर परयो त्यही हाम्रो.....लैजान मन पर्‍यो । पछि मलाई थाहा भयो यो गीतको रचनाकार प्रसिद्ध गीतकार जरसाव गंगाराज मुकारुङको रहेछ । यहाँ गंगा सरलाई सम्झन चाहन्छु ।

रातभर रमझम सकेर हामी होटेलमा छिर्दा माघे हिउँको सिमसिमे झरी पर्दै थियो । म सगरमाथाको मान्छे  तर  हिउँ झरेको देखेको थिइनँ । त्यही सफा सुन्दर सिवल सहरमा  देखेको थिएँ ।  त्यो सहरमा मैले यहाँ जस्तो सडकमा टेलिफोनको तार, मैलो हिलो सडक कतै देखिन।

जीवन त यस्तै रहेछ । कहिले कता कहिले कता रात र दिन जस्तो रहेछ ।

यस्तै समय क्रममा बालन्द राईसँग भेटमा गीतको कुरा निस्क्यो । मलाई सरले भन्नु भएको पुरानो मायालु शब्दले मेरो अवचेतन मनभित्र लखेटिरहे थियो । यसै पृष्ठभूमिमा मैले गीत लेखेँ । यो गीतलाई प्रसिद्ध गायक तथा सङ्गीतकार बालनन्द राईले आफ्नो सङ्गीतमा गाउनु भएको छ । सम्भव यो गीतको रेकड २०६० सालमा भएको हो । धेरै पछि विवेक छोरालेले पनि आफ्नो सङ्गीतमा यो गीत अमेरिकामा गएर उतै 'भिज्युअल' गरेको रहेछ । अमेरिकामा विवेक छोरा अध्ययन गर्न जाँदा मलाई थाहै नदिई यो शब्द लागेको रहेछ । विवेकले आफ्नो सङ्गीतमा राम्रो गीत सृजना गरेर गाएको छ ।  उनीप्रति अत्यन्त गर्भित महसुस गरेको छु ।

मुन्धुमले मुक्ति दिदैंन, आदर्श, नैतिकता र जीवन दिन्छ । म भन्दा पहिले जन्मेको ईश्वर हो उ  विश्वासको  प्रकृति । त्यसैको सहयोगले मान्छे कर्म गर्दै जान्छ । दक्षिणकालीको मेरो अनुभव पहिलो पल्ट सिकिस्त बिरामी भएर सुतिरहनु भएका प्रिय मित्र यज्ञनिधि दाहाललाई गएर सुनाएँ । मैले भने -'दाहाल जी आत्तिन पर्दैन ईश्वर छन् । ईश्वर सम्झनोस् । मलाई आपतमा ईश्वरले कल्याण गरेका छन् । साथीलाई आफ्नै बेहोरीमा भनेछु । पछि किन भने ? के ठाने होलान् भनेर बाटोमा फर्कँदा मेरो मन तरङ्गित भइरह्यो ।

फर्कँदा चिनको आकाशमा क्यथिप्यासिफिक जहाज उडिरहेको थियो । मैले बिफ लन्च पहिलो पल्ट खाएपछि मनमा उतैको 'पिक्चर'  आइरह्यो ।  कस्तो आधुनिक प्रगति होला कोरियाको ? विश्व युद्धमा जापानले कोरियन दुई लाख महिलाहरूलाई कब्जामा लिएर आफ्नो सिपाही लडाकुहरूको यौन दासीको रुपमा बर्मा,चिन,भारतसम्म ल्याएका थिए ।जापानीहरूको डरले १९४३ मा निर्मित संसार प्रसिद्ध कलकत्ताको हाउडापुल ब्रिटिसले उद्घाटन गरेको थिएन । यात्रामा त्यहाँको समुद्र, सहर, युवा सुन्दरीहरूको तस्बिर आइरह्यो ।  अहिलेसम्म एक लाख कोरियाका ती वृद्ध महिलाहरूले जापानसँग क्षतिपूर्ति मागी रहेका छन् । 

 ट्रेनबाट घुसान जाँदा हाम्रो गल्तीले फस्ट क्लासको सिटमा प्रवेश गर्दा गार्डले दुई साथीहरूको घुचुक्मा समातेर निकालेको सम्झेँ ।  मलाई मेरो सुट टाईले बचाएको थियो ।  त्यो बेला मैले गान्धीलाई सम्झेको थिएँ । अफ्रिकामा काले भनेर ट्रेनबाट गान्धीलाई लात हानेर बाहिर गोराले निकालेका थिए ।  हामीलाई पनि लात हानेको भए ? हाम्रो के हालत हुन्थ्यो भन्न सक्दिनँ । होटेलको म्यानेजर किमलाई सम्झेँ । मेरो जुँगा देखेर भनेको थियो -तपाईँ ताइपेइ हो महाशय  ? हो र ! तपाई  त नेपाली पो हो ? सगरमाथा कस्तो सुन्दर होला हगि ? उसले ठुलो जिज्ञासा पोखेको थियो । तर मैले अलमलमा पर्दै भनेको थिएँ - यहाँ सगरमाथाको सुन्दरताको कुरा गर्दा अधुरो हुन्छ भाइ ।  हेर्न उतै जान पर्छ । उनले आश्चर्य मानेर जिब्रो टोकेको थियो । वास्तवमा मैले सगरमाथा आजसम्म  देखेको छैन । मैले पहिलो पल्ट यसरी कसैलाई ढाँट्नु  पर्दा गिल्टी महसुस गरेको थिएँ ।

जापान र जोगीको देशमा केही नभएको मलाई हाम्रो एर्पोटमा जोगी बनाएँ । रेडियो ल्याएको थिएँ भन्सार तिर्न जोड गरे । मेरो सुविधाको कुरा हो, मैले नतिर्ने अडान राखेँ । अन्ततः बाहिर निस्कने अनुमति मिल्यो । बाहिर लामाखुको अटल सेर राईलाई भेटेँ ।  दाइ सुन कति ल्याउनु भयो भनेर ठट्टा गर्दै सोध्यो । मैले पनि आफ्नै भाइ सम्झेर यो सुटकेसभरि अट्ने सुन ल्याएको छु भने । चुरोट कोसेली दिएँ । म ट्याक्सीमा हिँड्न लागेको थिएँ । प्रहरी आएर मेरो सुटकेस सहितभित्र लगेर मलाई कोठामा थुन्यो । करिब एक घण्टाको समयमा विभागका सम्बन्धित प्रमुखहरूको प्रवेशपछि ल सुरु गरौँ भने !

 म छक्क परेँ । मैले डराउने कुरै थिएन । मेरो सुटकेस हेरे, मलाई नाङ्गो बनाए, जुत्ताको सोल च्यातेर हेरे ।  केही नभेटेपछि उनीहरू एक आपसमा अविश्वसनीय मुहारमा हेराहेर गरे । हेडक्वार्टरबाट आएको पुलिस अफिसरले मलाई अलिक हताश रुपमा झोंकिन्दै सोधेँ- 'तपाईँ बाहिर कोसँग बोल्नु भयो ?'  अनि झसङ्ग भएँ । त्यही समयमा अर्को कोठाबाट सानो अनुहार लगाएर अटलले मलाई हेरिरहेको देखेँ । मैले तत्काल अटललाई औँलाउँदै त्यो मान्छेसँग मात्र बोलेको थिएँ  ।  गृहबाट आएको हाकिमले नरम भाषामा भन्यो- 'सरी तपाईँलाई दु:ख दियौँ । यहाँ यस्तै हुन्छ । अबदेखि कोहीसँग बोल्ने नगर्नोस्, होसियार हुनुपर्छ । ल जानोस्' ।  पछि भेटमा अटल सेरलाई साफ गाली गरेँ । उनले मलाई ठुलो अपराध चिताएको थियो सरकारी कमिसनको लोभले ।

घरमा आएँ । भाइ सिकिस्त बिरामी भएको थाहा पाउनसाथ सुटकेस राखेर अस्पताल गएँ । घरमा श्रीमतीजीको बेहाल भएछ । अस्पताल जानु घरमा सानो बच्चा विवेक हेर्नु कस्तो आपत् भयो होला वर्णन गर्न सक्दिनँ । मैले सानैदेखि कान्छा भाइलाई राम्रो स्कुलमा राखेको थिएँ । अस्पतालमा उनको स्थिति देखेर चिन्तित भएँ । 

एक बिहान चार बजेको थियो ।  सडकतर्फ चिया पिउँदै मन बहलाउन निस्केँ ।  चिया पिउँदै थिएँ, अपरिचित दुई भाइ दक्षिणकाली  मन्दिर जानलाई ट्याक्सीमा तयार भएको देखेँ ।  उनीहरुको बिचार देउतासँग हारगुहार माग्नु रहेछ । झल्यास्स मलाई पनि देउतासँग गुहार माग्न मन लाग्यो । जानु आउनु चार सयमा म पनि पसे । बाटोमा कोही बोलेनौँ  । मानौँ हामी समवेदना प्रकट गर्दैछौं  । सबैको अनुहारमा पीडा संवेग थियो । फर्कँदा पनि उनीहरू आपसमा बोलेनन् । माघको जाडो दुई घण्टाभित्र देउतासँग सबै बिन्ती गरेर अस्पताल आएँ । त्यही बिहानको समयदेखि भाइको प्रगतिले मन ढुक्क भएर आयो । मेरो खुसीको सीमा रहेन, चिच्याउन खोजेँ तर सकिनँ । जीवनमा नसोचेको दिन पनि आउँदो रहेछ धैर्य गर्दै सहर भित्र हिँडे । 

म नास्तिक मान्छे 'मेटाफिजिक्मा' आस्था कता कता बढ्यो ।  अठारौँ शताब्दीमा जर्मन फ्रेद्रिच वेल्हम नित्सेले (१८४४-१९००) ईश्वर मरिसक्यो भनेका थिए  होइन रहेछ मलाई भ्रम पैदा भयो । ईश्वर छैन भनेको कारण, मान्छे मान्छेप्रति सहिष्णु हुन सकेन भन्ने दार्शनिक घोषणा नित्सेको रहेछ । मार्क्सले त्यसै भने ईश्वर पुँजीवादले नोकरलाई छिटो काम गर देउता खुसी हुन्छ भनेर शोषण गर्ने नशालु माध्यम बनाएका थिए । तर इमेल दुर्खेइम्को भनाइमा आदिम समयमा मानिसहरू सिकारी श्रम विभाजनबाट बाँच्न सिके वास्तवमा त्यो ईश्वरप्रतिको प्रारम्भिक आस्थाको चरण थियो । म मन्दिर जान्न तर उक्त घटनाबाट आजतक मौन छु । कतै अलौकिक भौतिक शक्तिले पृथ्वीलाई आकर्षण गरिरहेछ । अन्यथा कुनै स्पेसिशहरु हुँदैनथे ।

खोला भएर समय यसरी बग्दै गयो ।  जीवनको मोडमा कुनै शब्द, छाया, प्रकृतिले मुटुमा थाहै नपाई हर्ष बिस्मातको कुनै चित्र कोर्दो रहेछ । कुनै समय अमूर्तक आवाज भएर निस्कँदो रहेछ ।  त्यसको कठोर अदृश्य आवाज, चित्रले अर्को मनको आवेगलाई आन्दोलित गर्दो रहेछ, सायद यसैबाट फक्रेको कोमल सृजना मानव भनिन्छ । ओसो भन्छन् - फूलले कसैको आत्माको स्वीकार उक्ति आफ्नो बैँसलाई हाँसेर समाप्त गर्छ ।the man who can make hard things easy is the educator.'  हुनसक्छ म त्यो भव्य सहरको भट्टी पसलमा अथवा,  प्रिय भद्र मित्रसँग भेट नहुँदो होत यो गीतको सम्भावना बिलकुल हुने थिएन ।  तथापि मैले अनावश्यक हन्डर झेल्नु पर्‍यो ।

घरमा मेरो सुटकेस खोलेर हेरेँ । छोरालाई ,श्रीमतीलाई ल्याएको समानहरू भन्सारमा चोरेछ । मेरो सेभिंग किट, लेडिज ब्याग, चुरोट पनि चोरेछ ।  असीको दशकमा कोरियाले ओलम्पिक खेल गरेकोको थियो । त्यसको लोगो चुरोटमा छापेको कारण गौरवसाथ  कोरियनले सबैलाई चुरोट उपहार दिन्थे । मलाई एक भाइले एक कार्टुन चुरोट प्यारले दिएको थियो । जोगीको देश राम्ररी घुमेर फर्केँ तर आफ्नो देशमा मलाई जोगी बनाए ।  हस्पिटल धाउन पर्ने मलाई उजुर गर्न फुर्सद भएन । मलाई भन्न कुनै अफसोस छैन, नेताले सिकाएको देशको चरित्र न हो ।  कुनै सर्तमा पुगेका कर्मचारीले कर्तव्य यसरी नै भन्सारमा पूर्ति गर्छ । एकै समय हामी राणाबाट स्वतन्त्र भयौँ, कोरियनहरू जापानबाट स्वतन्त्र भए, ब्रिटिसबाट सिंगापुर तर अहिले उनीहरूको  विकाशको उत्कर्ष कस्तो छ कल्पना गर्न सकिन्न । भन्न मलाई लाज छैन । नेपालमा जबसम्म नस्लीय नेतृत्व परिवर्तन हुँदैन तबसम्म हाम्रो देशको दुरूहता यस्तै हुने रहेछ । उनीहरू हजार रुपैयाँ पाउनसाथ अवसरको खोजीमा स्थान छोड्छन् तर आदिवासी पैसो भए पनि दुनियों बुझ्दैनन् ।

फगत एउटा ढुङ्गा कति शक्तिशाली छ ? शक्तिशाली मान्छेलाई निहुराउन सक्छ । जीवनभरि मार्क्सका छोरा भएर हिँडे मान्छेहरू अहिले नटेरेर मन्दिरमा सुनको भेटी चढाई राजनीतिमा जे जे कुकर्म गरे चोखिन खोज्छन् । राजनीतिक बिचौलिया भएर  मुक्ति खोजिरहेछन् ।  म जस्तो एक एनथ्रोपोलोजिष्ट, कवि ईश्वरको ह्याँग्वोभर बोकेर हिँडिरहेको छु । मेरो मुन्धुमसँग मन गाँसिएको छ । मुन्धुमले मुक्ति दिदैंन, आदर्श, नैतिकता र जीवन दिन्छ । म भन्दा पहिले जन्मेको ईश्वर हो उ  विश्वासको  प्रकृति । त्यसैको सहयोगले मान्छे कर्म गर्दै जान्छ । दक्षिणकालीको मेरो अनुभव पहिलो पल्ट सिकिस्त बिरामी भएर सुतिरहनु भएका प्रिय मित्र यज्ञनिधि दाहाललाई गएर सुनाएँ । मैले भने -'दाहाल जी आत्तिन पर्दैन ईश्वर छन् । ईश्वर सम्झनोस् । मलाई आपतमा ईश्वरले कल्याण गरेका छन् । साथीलाई आफ्नै बेहोरीमा भनेछु । पछि किन भने ? के ठाने होलान् भनेर बाटोमा फर्कँदा मेरो मन तरङ्गित भइरह्यो ।

नभन्दै बिरामी यज्ञनिधि आधि बाटोबाट फर्कनु भयो । खोटाङ सेवा समाज काठमाडौँको म अध्यक्ष  भएको टिमले उनीलाई महत्त्वपूर्ण सहयोग गर्न सक्यौँ । उनी जीवित भएको अवस्थामा मलाई धन्यवाद प्रकट गर्न कहीँ कतै छुटाउनु भएन । एक पल्ट मेरी सासू आमालाई भेट्न मेरो घरमा आउनु भएको थियो । उनलाई मैले गम्भीर प्रश्न गरेको थिएँ- तपाईँ र अच्युतरमण अधिकारीले सर्वोच्च अदालतमा अन्य मातृभाषालाई दैनिक प्रशासनिक भाषाको मान्यता प्रदान गर्न हुँदैन भनेर किन निवेदन दिनु भएको ? सर्वोच्चले तपाईहरुको पक्षमा फैसला गर्‍यो । फैसला भएको दिनलाई आदिवासीहरूले कालो दिन घोषणा गरेका छन् ।   तर मलाई यज्ञनिधिले उत्तर दिनु भएन । मैले पनि मेरो प्रिय मित्रलाई फेरि कुरा कोट्याइन  ।

गीतको लहरो तान्दा मेरो मनको पहिरो यतिसम्म तानियो । मेरो गीतको गुदीहरू मेरो जीवनको तितो मिठो अनुभवहरू नै हुन् ।  जीवन चाख्नलाई महत्त्वपूर्ण समय खर्चने आँट चाहिँदो रहेछ । कसैलाई मन पर्न सक्छ, मन नपर्न  पनि सक्छ  । फेरि प्रिय भाइ बालन्द राईप्रति आभार प्रकट गर्दछु । उनको सङ्गीत सृजनाले यो गीत बन्न सक्यो ।  उनलाई सम्झनसाथ खोटाङ जिल्लाको प्रसिद्ध बुवा खोला माथिको उनको सुन्दर गाउँ काहुले सम्झन्छु । अमेरिकामा सरकारी जागिर खाएर बसेका मेरो छोरा (PMP, Department and design construction manager, New York city) विवेकलाई पनि प्यार भन्न चाहन्छु . 

अन्त्यमा आदरणीय मान्यजन पाठकहरूले  यो गीत विवेक राई अथवा बालन्द राईको आवाजमा युट्युबमार्फत अर्थात् यहाँ क्लिक गरेर  सुन्न सक्नु हुन्छ ।

हौवा, सेवा,धन्यवाद ।