सी डिभिजन लिग छनोटको तालिका सार्वजनिक

सी डिभिजन लिग छनोटको तालिका सार्वजनिक

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ ४, २०७८

शहीद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघले सातदोबाटोस्थित आफ्नो मुख्यालयमा तालिका सार्वजनिक गरेको हो ।

१० भदौदेखि उपत्यकाका सुरु हुने उद्घाटन खेलमा समूह 'ए'का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्नेछन् ।

८ कात्तिकमा समापन हुने लिगमा देशभरबाट ७८ वटा क्लब सहभागी हुनेछन् । यसअघि एन्फाले २५ जिल्लाका ७९ वटा क्लब सहभागी हुने जनाए पनि तालिका सार्वजनिक हुनुअघि काठमाडौं युनाइटेड क्लबले नाम फिर्ता लिएको थियो । युनाइटेडका प्रतिनिधिले कोरोनाको कारण लिग नखेल्ने जानकारी गराए ।

एन्फाले सहभागी ७८ वटा क्लबलाई २६ वटा समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ वटा क्लब छन् । तालिकाअनुसार एक क्लबले २ खेल खेल्नेछन् ।

एन्फाका अनुसार प्रत्येक समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नकआउट चरणमा ३ वटा समूह रहेका छन् । अन्तिम ३ वटा समूहका फाइनल विजेता सी डिभिजन लिगमा छनोट हुनेछन् ।

तालिका सार्वजनिक कार्यक्रममा बोल्दै एन्फा लिग संयोजक विज्ञानराज शर्माले सी छनोटमा क्लबहरूको सहभागिता उल्लेख्य रहेको र आगामी वर्षमा झनै बढ्ने बताए । उनले अर्को वर्षदेखि पायक पर्ने प्रदेशमा छनोट खेल खेलाउने प्रतिबद्धतासमेत जाहेर गरे ।

‘यस पटक उल्लेख्य क्लबहरूको सहभागिता रहेको छ । अर्को सिजनमा झनै बढ्नेछ । अर्को पटक हामीले पायक पर्ने प्रदेशमा खेल आयोजना गर्नेछौँ’, शर्माले भने ।

शर्माले सी छनोटमा राम्रो प्रदर्शन गर्ने खेलाडीले नेपाल सुपर लिगमा स्थान पाउने बताए । 

लिग कमिटीका निर्देशक संजिव मिश्रले क्लब आफैँले खेलाडीको इन्स्योरेन्स गर्नुपर्ने बताए । उनले भ्याक्सिन लगाएका खेलाडीले पीसीआर गर्नु नपर्ने र दर्शकविहीन खेल आयोजना हुने बताए ।

लिगमा बागमती प्रदेशबाट ६१ क्लब, प्रदेश नम्बर १ बाट ७ तथा अन्य प्रदेशबाट २-२ वटा क्लब रहेका छन् ।