भुवनहरि सिग्देल: खकुरेलका 'भटमासे कवि', दीक्षितका 'पाजी' र 'गद्दु' आख्यानकार

भुवनहरि सिग्देल: खकुरेलका 'भटमासे कवि', दीक्षितका 'पाजी' र 'गद्दु' आख्यानकार

आशिष पौडेल  |  अन्तर्मन्थन  |  भदौ ५, २०७८

उहाँको ‘आर्तनाद’लाई रमेश खकुरेलले झट्टी नहानेको भए नेपाली काव्य समाजले न त उम्दा सर्जक पाउँथ्यो वा न महाकाव्यदेखि छन्दका उत्कृष्ट सिर्जना नै । 

अनि कमलमणि दीक्षितले ‘गद्दु’ नभनेको भए आख्यानका उत्कृष्ट सिर्जना पनि जन्मँदैनथे । 

अच्युतरमण अधिकारीले राष्ट्रिय कम्प्युटर केन्द्रबाट ‘आर्तनाद’ र ‘खाते’को पाण्डुलिपि बोकेर खकुरेलको घरमा नपुर्‍याएका भए भुवनहरि सिग्देल राष्ट्रिय कम्प्युटर केन्द्रबाट रिटायर्ड भएर कतै ‘मास्टर’को जागिर खाएर चक-डस्टर समात्दै हुनुहुन्थ्यो ।

हुनत यो ‘सायद’ वा अनुमान नै हो । तर, यथार्थ बेग्लै रह्यो । तिनै स्रष्टा र सिर्जनाका माध्यमबाट उहाँ भूतको भिनाजुदेखि वासुदेव लुँइटेलसम्म जोडिनुभयो । वासुदेव लुइँटेलको अपरिचित ‘मूर्ख’ मित्रसम्म जोडिएर जीवनको आर्थिक पक्षमा पनि कायापलट गर्नुभयो । हुनत उहाँ जोडिएका अनि ठोकिएका थुप्रै व्यक्तित्वको नाम उल्लेख भए पनि समग्र परिणामको कारक भने उहाँ स्वयं हो । 

यदि उहाँमा केही गर्छु भन्ने भोक नजागेको भए अन्यत्र ठोकिँदा, हेपिँदा अनि पेलिँदा ती सबैका कुरूप निशानहरू उहाँको जीवनमा देखिन्थे होला । 

तर, उहाँले यी सबै उपहारलाई एउटा डालीमा हालेर सुन्दर कृतिहरूको सिर्जना गर्नुभयो र नेपाली साहित्यको आकाशमा भुवनहरि सिग्देल एउटा बेग्लै रसायनको नाम बनेर निस्कियो ।

पारिवारिक अवस्था

उहाँभन्दा चौध पुस्ता अघिका जिजु सदाशिव दहचोकको गैरी गाउँको जंगलमा आएर उक्त जमिनको छनोट गर्नुभएको रहेछ । काठमाडौंका सिग्देलहरूको प्रादुर्भाव त्यही ठाउँबाट भएको समेत मानिन्छ । 

काठमाडौंको वरपरको ग्रामीण भेगलाई काँठ भनिन्थ्यो त्यसबेला । त्यस कारण दहचोक पनि काँठ पर्‍यो । काँठ ५ भागमा विभक्त थियो- सुन काँठ, गुहु काँठ, पोके काँठ, लौरी काँठ अनि डोके काँठ । 

उहाँका बुबाले १४ वर्ष सैनिक सेवामा जागिर खाएर घर व्यवहार बित्यो भनेर जागिर छाड्नुभएको रहेछ । जग्गा जमीन भने प्रशस्त । तर, अन्य आम्दानीको स्रोत नभएको । आम्दानीका लागि खेतीबालीबाट उबारेर बेचेको अन्न नै प्रमुख स्रोत भएका कारण परिवारको आर्थिक अवस्था ठीकै । 

जन्म र बाल्यकाल 

उहाँको जन्म ५ जेठ २००७ मा भएको हो । उहाँको राशि वृष, नक्षत्र भने रोहिणी । जन्म नक्षत्रअनुसार उहाँको नाम विश्वनाथ तर नाम भने रहन गयो भुवनहरि सिग्देल । 

उहाँको जन्म काठमाडौंको दहचोकमा भएको हो । दहचोकको पनि अझ गैरीगाउँ । अझ किटेरै भन्नुपर्दा पाताल वन । 

उहाँका २ जना आमा । जेठी आमा बितेपछि उहाँका पिताजीले ५० वर्षको उमेरमा उहाँकी आमासँग विवाह गर्नुभएको रहेछ । 

विवाह गर्नुको कारण पनि छोरा नभएर वंश नाश होला भन्ने भय रहेछ । उहाँका ३ दाजुभाइ अनि २ दिदीबहिनी । 

उहाँको बाल्यकाल १३ वर्षको उमेरसम्म गाई बाख्राको गोठाले अनि वन, जंगल डुलेरै र उपद्रव गरेरै बितेको रहेछ । 

‘पहिले यो मान्छे काजी थियो, अहिले पाजी भयो । पहिले पद्दु थियो, अहिले गद्दु भयो भनेर मैले भनेको थिएँ । मलाई के लाग्थ्यो भने, आख्यान त मजतिको राम्रो लेख्ने कोही छैन । यसले मेरो आधा घमण्ड झारिदियो’, कमलमणिले आफनो पालोमा भन्नुभयो । यति भएपछि के चाहियो- उहाँ आख्यानकार पनि भइहाल्नुभयो ।

सुकेको सिउँडीको चिप्लेटी, आधा बाँसका फगटाका चिप्लेटीमा २ हातमा लठ्ठी बोकेर हालको स्की जस्तो गरेर डाँडाबाट चिप्लेटी खेलेर दरफर्‍याएको फिला उहाँको स्मृतिमा छँदै छ । 

गोठालो जाँदा चितुवाले आफ्नै अगाडिबाट तानेर लगेको बाख्रा । त्यो बाख्रा छुटाउन जाँदा बाख्राको पेटमा राखेको २ खुट्टका बीचबाट चितुवाले मुख बाएर अनि घुरेर हेर्दा गएको सातो आजसम्म पनि बोलाउनुपर्ला जस्तो हुन्छ उहाँलाई । 

‘सानो एक मुठी पानी बग्ने कुलो थुनेर बनाएको पोखरीमा खेलेको पौडी अहिलेको स्विमिङ पुलभन्दा के कम ?’, उहाँ भन्नुहुन्छ । 

२ वटा फूलमार चुरोटको कित्ता बराबर एउटा मोटरमारको कित्ता जितेको उहाँले अहिले पनि बिर्सनुभएको छैन । 

मुरली बनाउने चक्करमा झिरले पोलेर आफ्नै औँला मुरली बनेको खत अझै छँदै छ उहाँको । 

आमासँग नाटक हेर्न आएर बाँसको धनु-काण बनाउन जानेपछि घरका छाताका डाँडी बिगारेर बनाएको सुइरोले एउटा ढुकुर मारेको पनि अनुभव छ उहाँको । 

यस्ता थुप्रै किस्सा छन् उहाँका बाल्यकालका उपद्रवका ।

प्रारम्भिक शिक्षा

उहाँले कखरा पल्ला घरको काकाकहाँ गएर धुलौटामा सिक्नुभएको हो । यसलाई औपचारिक नभनौँ तर प्रारम्भिक शिक्षा यसरी सुरु भयो उहाँको । पछि भने उहाँ पिँढीमा बसेर रुद्री/रामायण पढ्न थाल्नुभयो । तर, पिताजीलाई भने रामायण पढेको मन नपर्ने । 

उहाँको रुचि वेदमा । ‘ल, वेदको एक अध्याय कण्ठ गरिस् भने एक मोहोर दिन्छु’ भनेर पुरस्कारको पनि घोषणा गर्नुभयो पिताजीले ।

उहाँले ३ अध्याय कण्ठ गर्नुभयो । तर, उहाँलाई यसले चित्त बुझेन । उहाँलाई स्कूल जाने रहर जाग्यो । उमेर पनि १३ वर्षको । 

थानकोटमा २०२० सालमा विद्यालय खुलेको हो । तर, उहाँ पढ्न जान्छु भन्दा पिताजी नमान्ने । यसको कारण रहेछ, वंश लोप होला भन्ने डरमा जन्मिएको छोरो । त्यो पनि आधा शतकको बुढेसकालमा ।

छोरो विद्यालय जाँदा गाडीले किच्यो भने के गर्ने ? विद्यालय नपठाउनुमा पिताजीको मनमा यस किसिमको भय रहेछ ।

गाउँको भतिजो पर्ने एक जना भागेर स्कूल गएपछि भने उहाँको मन थामिएन । बाले थाहा नपाउने गरी गोठालो गएका बेलामा भागेर रुद्रीको किताब च्यापेरै पुग्नुभयो मंगलोदय स्कूल । 

उहाँको ल्याकत हेरेर शिक्षकले ३ कक्षामा भर्ना गरिदिनुभयो । वर्ष १३ को अनि जुँगाको रेखीसमेत बसिसकेको अग्लो केटोलाई सिँगाने भुरासँग बस्न मन लागेन । 

अरू भुरा ‘नमबागिस्वराय’ पढ्दै थिए । उहाँसँग भने रुद्रीको किताब मात्र थियो । शिक्षकले पढ भनेपछि उहाँले रुद्रीको किताब लय हालेर पढ्न थाल्नुभयो । 

स्कूलका सबै कक्षाका विद्यार्थी आएर उहाँलाई ‘के कराएको ?’ भनेर घेरे । ‘उनीहरू उत्सुकताका साथ आए होलान् तर मलाई भने एकदमै लाज भयो’, उहाँ भन्नुहुन्छ । 

त्यसपछि यो रुद्री भन्ने किताब पढ्न नहुनेरहेछ भनेर उहाँले घर जाँदा किताब नै खोलामा बगाइदिनुभयो । 

आमालाई भने उहाँले ढाँटेर खाजा खाने बेलामा ‘किताब हरायो’ भन्नुभयो । आमाले ‘किन ढाँटेर स्कूल गइस् त ?’ भनेर गाली पनि गर्नुभयो । तर, आमाले बालाई के भन्नुभयो कुन्नि, उहाँलाई बाले गाली गर्नुभएन ।

सबैभन्दा अचम्म त पर्सिपल्ट बा शहर आएका बेलामा उहाँले थाहै नपाई ३ कक्षाको किताब, कापी अनि सिसाकलमसमेत किनेर लगेर दिनुभयो । 

तर, ३ कक्षाका विद्यार्थीले उहाँलाई जिस्क्याएर ‘काका, अस्तिको जस्तो पढ्नुस् न’ भनेपछि उहाँलाई अब ३ कक्षा पनि पुग्यो । 

उहाँले ३ कक्षाका सबै पाठ कण्ठस्थ पारेर ४ कक्षामा लैजान शिक्षकलाई भन्नुभयो । तर, शिक्षकले पाठ कण्ठस्थ भएका कारण अर्धवार्षिक परीक्षापछि ४ कक्षामा लैजाने वचन दिनुभयो । 

एवं क्रमले पढ्दै १३ वर्षको उमेरमा ३ कक्षामा भर्ना हुनुभएका उहाँले १६ वर्षको उमेरमा एसएलसी दिनुभयो । अर्थात् केवल ३ वर्ष स्कूल पढेर उहाँले २०२४ सालमा एसएलसी दिनुभयो । 

त्यसबेला एसएलसी दिने १३ जना विद्यार्थीमा २ जना छात्रा थिए, जसमा ४ जना पास भए । उहाँ त्यसमध्येको एक । उहाँ उच्च द्वितीय श्रेणीमा उत्र्तीण हुनुभयो । यति भएपछि त्यसबेला के चाहियो ?
 
विवाह

उहाँ ९ कक्षामा पढ्दा पिताजीको देहान्त भयो । यो २०२२ सालको कुरा हो । त्यसबेला उहाँ १५ वर्षको हुनुहुन्थ्यो । अब जेठो छोरो भएको नाताले उहाँले घर व्यवहार सम्हाल्नुपर्ने भयो । 

विवाहपछि पञ्चरात मनाएर ससुरालीबाट फर्किएपछि श्रीमतीलाई उहाँको पहिलो सम्बोधन निस्कियो, ‘नानी ! अब म पढ्दै गरेकाले बेलुकादेखि तिमी आमासँग सुत है !’

उहाँले उत्तर दिनुभयो, ‘खोइ !’

जब आमासँग सुत्न भनेर उहाँले ओच्छयान लगाउनुभयो, आमा भने रिसाएर भन्नुभयो, ‘किन यहाँ ओच्छयान लगाएको ?’ 
‘उहाँ (श्रीमान्)ले त्यसै भन्नुभएको छ’, भन्नुभएछ उहाँकी दुलहीले । 

अघिसम्म रिसाएकी आमाले ‘ऊ पनि पढ्दै छ, ठीकै छ’ भनेपछि बल्ल राहत भयो रे ! त्यसपछि ३ वर्षसम्म उहाँको श्रीमतीसँग बोलचाल नै भएन रे !

उहाँका २ छोरा र एक छोरी । सबै आफ्ना काममा व्यस्त हुनुहुन्छ । 

पढाइ खर्च 

उहाँको पढाइ तथा अन्य खर्चका लागि आमोईले ‘खर्च कसरी बेहोर्ने हो ? म बेर्होछु, तिमीहरूको काम पढ्ने मात्र’ भन्नुभएको रहेछ । 

खर्चका लागि बाले त्यसबेला प्रथम विश्वयुद्धमा भारत गएर कमाएर ल्याएको सय रुपैयाँको चाँदीको कम्पनी डबल पनि रहेछ । नेपाली चाँदीका २०० डबल साथै २ तोलाको एक ढिक्का सुन पनि । चोर लाग्ला भनेर ती सबै तामाको भाँडामा हालेर बुगेलमा मकैको खोयाको बीचमा लुकाएर राखिएको रहेछ । ट्याङ्कामा ४ हजार नोट पनि, जुन पछि पिताजी बित्ने बेलामा आमोईलाई भन्न भ्याउनुभएको रहेछ ।

पिताजीले ‘नोट खर्च नगर्नू, चाँदीको डबल झिेकर खर्च गर्नू’ भनेको हुनाले चाँदीको डबल भने अत्यावश्यक पर्दा आमोईले झिक्ने गर्नु हुँदोरहेछ । त्यसबेला एउटा डबलको १० रुपैयाँ आउने रहेछ । 

४० रुपैयाँको कमाइ

त्यसबेला एसएलसीको नतिजा आउन झण्डै ४-५ महिनाको समय लाग्थ्यो । सय रुपैयाँ तलब पनि दिने अनि क्याम्पस जानेलाई पाटीमा भात पकाएर खान पनि दिने भनेर सुवेदी गुरुले भनेपछि एलसी दिएलगत्तै उहाँले स्कूल पढाउन थाल्नुभयो । 

त्यसबेला थानकोटमा जम्मा ३ वटा बस चल्थे । ९ः४० को बस छुट्यो भने जागिरेले जागिर खान र कलेज पढ्नेले कलेजको पहिलो पिरियड पढ्न भ्याउँदैनथे । त्यसैले उहाँ उठीउठी नै भात खानुहुन्थ्यो । 

तर, जुन सय रुपैयाँको लोभले उहाँले पढाउन थाल्नुभएको थियो, त्यो भने विद्यार्थीबाट उठाएर दामासाहीमा भाग लगाउँदा उहाँको भागमा ५०-५५ रुपैयाँ मात्र पर्न आउँदोरहेछ ।

पहिलो महिना भने उहाँको भागमा ४० रुपैयाँ पर्न आयो, जुन उहाँको जीवनकै पहिलो कमाइ थियो । त्यो लगेर आमोईलाई दिनुभयो । 

त्यसको आधा रकम आमोईले राखेर आधा भने डेरामा खाजा खान हुन्छ भनेर उहाँलाई नै फिर्ता दिनुभयो- सख्खर-चिउरा खानका लागि । 

पछि भने सय रुपैयाँ तलब बताएका उनै सुवेदी गुरुले ‘बेलुका जनप्रभातमा २ वटा कक्षा लिए भइहाल्यो नि’ भनेपछि उहाँले त्यहाँ पनि पढाउन थाल्नुभयो । खाजामा २ वटा समोसा र चिया पनि दिन्थ्यो जनप्रभातले । पैसा पनि ३० रुपैयाँ ।

डेरामा खाजा खाने खर्च नभएर घरबाट ल्याएको चामल खाने सल्लाह गरेर भाइ र उहाँले चामल खाएको पनि उहाँको स्मरणमा अझै ताजा छ । 

एसएलसीपछि

उच्च द्वितीय श्रेणीमा एसएलसी उत्र्तीण भए पनि उहाँले साइन्स भने पढ्नुभएन । त्यो अरू कुनै कारण नभएर खर्चका कारण रहेछ ।

उहाँको डेरा त्यसबेला चिकमुगलमा थियो । डेराको नजिकै कलेज हुन्छ भनेर महेन्द्ररत्नमा भर्ना हुनुभयो आईएमा । त्यसबेला महेन्द्ररत्न वसन्तपुरमा थियो । 

उहाँलाई भूगोल पढ्न मन भएर त्यहाँ भर्ना हुनुभएको । तर, भर्ना भइसकेपछि भने त्यहाँ भूगोल छैन भन्ने थाहा पाउनुभयो । ‘यहाँ पढ्दिनँ, ट्रान्सफर गरिदिनुहोस्’ भने पनि मान्दै मान्दैनथ्यो कलेजले । कारण रहेछ, कलेज प्राइभेट अनि विद्यार्थी पनि थोरै ।

पैसा पनि महँगो । त्यहाँ १० रुपैयाँ थियो भर्नाको । सरकारी कलेजमा भने ८ रुपैयाँ मात्र ।

बल्लबल्ल ट्रान्सफर भएर अर्थशास्त्र, नेपाली र भूगोल पढ्ने फर्म भरेर उहाँ त्रिचन्द्र कलेजमा भर्ना हुनुपर्‍यो भनेर जाँदै हुनुहुन्थ्यो । त्रिचन्द्रको कलेजको ढोकामै एक जना पुड्केपुड्के मान्छेले हातमा च्याप्पै समाते । 

‘बाहुनको छोरो जस्तो छौ, के थरी ?’ भनेर सोधे । उत्तरमा उहाँले ‘सिग्देल’ भन्नुभयो । 

‘अनि बाहुनको छोरो भएर संस्कृत नपढेर हुन्छ ?’, भने तिनले । 

‘संस्कृत आउँदैन’ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो, ‘हामी पढाउँछौँ’ भन ती व्यक्तिले । 

त्यसो गर्नुको कारण रहेछ- गुरुको दरबन्दीमा ३ जना संस्कृत पढ्ने विद्यार्थी हुनुपर्नेरहेछ, नत्र गुरुको जागिर चैट !

ती उहाँको हात समाउने व्यक्ति संस्कृतका प्रकाण्ड विद्वान् यदुनाथ खनाल हुनुहुँदो रहेछ, जसका बारेमा डिल्लीराम मिश्रले किताब पनि लेख्नुभएको छ । 

कालिदासको कुमार सम्भवम्, भर्तृहरिको नीतिशतक, स्वप्नवासपदत्ता नाटक रहेछन् संस्कृतका पाठ्यसामग्री । उहाँलाई संस्कृत खासै नआउने । सँगै पढ्ने अरू २ जना फुच्चेले ‘यसलाई केही आउँदैन’ भनेर जिस्क्याउन थाले । 

तर, गुरुले कोठा थुनेर उहाँलाई रटाएरै पढाउनुभयो । अहिले सम्झनुहुन्छ- त्यहाँ त्यो ठूलो भाग्य भएछ । नत्र उहाँ अहिले भुवनहरि सिग्देलका रूपमा कहाँ चिनिनुहुन्थ्यो र ! 

उहाँ प्रत्यक्ष कलेज गएर पढेको भनेको आईएसम्म मात्र हो । पछि उहाँले प्राइभेट जाँच दिएर आफ्नो अध्ययन अगाडि बढाउनुभयो । 

जागिरे जीवन

२०२८ सालमा ५ वर्ष विद्यालय पढाएको अनुभवसहित विद्यालय निरीक्षक पदमा आवेदन खुल्यो । एसएलसी दिएदेखि पढाएको पत्र लगेपछि उहाँको नाम निस्कियो । त्यो थियो अस्थायी प्राविधिक नासु पद । तर, जागिर खान भने पाँचथर जानुपर्ने भयो । 

उहाँ जानु त भयो जागिर खान तर त्यहाँ बस्नै मन लागेन । कारण, इलामदेखि हिँडेर जानुपर्ने दुर्गम । पैसा पनि दुर्गम भत्तासहित ५४६ रुपैयाँ मात्र । 

मासिक भात खाएको १२० रुपैयाँ लाग्थ्यो । डेरा भाडा भने १० रुपैयाँ मात्र । सबै खर्च कटाएर उहाँले आधा रकम घर पठाउनुहुन्थ्यो । त्यसबेला उहाँका भाइ साइन्स पढ्दै हुनुहुन्थ्यो । 

त्यहाँ बस्दा खर्च धेरै हुने भयो भनेर उहाँले त्यसबेलाका जिल्ला शिक्षा अधिकारी देवीध्वज कार्कीलाई ५२ वटा गाउँ पंचायत हेर्ने गरी निरीक्षक तोकिदिन आग्रह गर्नुभयो । भयो पनि त्यसै । त्यसो गर्दा खर्च कम हुने भयो । कारण, दुर्गममा पसल थिएन । सबै ५२ वटै गाउँ घुम्न पनि पाइने भयो । 

पहिले दशैँ खर्च नभनेर पेश्कीको रूपमा दिने प्रचलन थियो । घटस्थापनाको भोलिपल्ट उहाँले दशैँ पेश्कीसहित २ महिनाको तलब पाएपछि एक वर्ष काम गरेर उहाँ फर्किएर काठमाडौं आउनुभयो । 

काठमाडौं आएपछि फेरि जागिरको समस्या पर्‍यो । त्यसपछि उहाँ शिक्षक तथा विद्यालय निरीक्षकसमेत भइसकेकाले शिक्षकको जागिर माग्न जानुभयो काठमाडौंका जिल्ला शिक्षा अधिकारी अम्बिका शर्मालाई भेट्न । 

नियुक्ति पनि पाउनुभयो मच्छिन्द्र मावि लगनखेलमा । तर, ‘मीनपचास सुरु भएकाले पत्र छाडेर जानुहोस्, हाजिर भने पछि गरौँला’ भने । हाजिर नै नभएपछि तलब पाइने कुरो भएन ।

त्यसैबेला तथ्यांक विभागमा ६ महिने अस्थायी प्राविधिक नासु गणकको जागिर खुल्यो । नाम पनि निस्कियो उहाँको । काम थियो औद्योगिक गणनाको कोड गर्ने । 

कोडिङको काम थियो- डालो १०, नाङ्लो २० लेख्ने । उहाँ पाँचथरको त्यो दुर्गममा गएर एकै रातमा २० स्याउले कोस छिचोलेर इलाम आएको मान्छेलाई त्यो त कुनै काम नै भएन । 

सरकारी कर्मचारीको कामको पारा पहिले पनि उस्तै । अरूले मुस्किलले ५० वटा कोडिङ गर्दा उहाँले ५०० वटा सक्नुभयो । 

उहाँको चर्चा अफिसभरि चल्यो र डाइरेक्टरसम्म त्यो कुरा पुग्यो । उहाँको हुलिया पनि त्यस्तै त्यसबेला, झप्प कालो दाह्री पालेको, लामो कपाल अनि बेलबटम पाइन्ट लगाउने । अद्भूत सुब्बा । 

डाइरेक्टरले उहाँले काम गरेको हेरेर गएछन् । उहाँलाई अत्तोपत्तो भएन । उहाँ काममै मस्त । त्यति कामका लागि त्यहाँ एउटा युनिट नै खडा भएको रहेछ ।
 
पछि एकदिन अधिकृत आएर उहाँलाई ‘काम धेरै छिटो नगर्नुहोस्, यसो चिया खाएर घुमेर आएर काम गरे हुन्छ । यसका लागि ३ घण्टा ओभरटाइम पनि छ’ भनेर सरकारी काइदा बताएछन् । 

३ महिनाको त्यो काम उहाँले २ महिनामै सम्पन्न गर्नुभयो । डाइरेक्टरले धन्यवाद दिँदै अब काम सकिएकाले अस्थायी कर्मचारीलाई ३ महिनाको तलब, ओभरटाइम सबै दिने । अब यसो बेलाबेला आएर हाजिर मात्र गरे हुने बताए । 

अबको एक महिना भने तलब मात्र लिने जागिरे घुमाइ भयो उहाँको । 

डाइरेक्टरले जागिर सकिने शनिबार बिदाई भोज पनि दिए- खसी काटेर मासु-चिउरा अनि खानेलाई रक्सीसमेत । 

त्यसैबेला डाइरेक्टरले उहाँलाई ‘अब भोलिदेखि के गर्नुहुन्छ ?’ भनेर सोधे । उहाँको सहज जबाफ थियो, ‘मास्टर मान्छे, स्कूल खोजेर पढाउन जान्छु ।’
 
तर, डाइरेक्टरले ‘त्यसो नगर्नुहोस् । तल कम्प्युटर अड्डा खुलेको छ । त्यसको प्रमुख म नै हुँ । नासु मागेको छ एक जना, तपाईं दरखास्त दिनुहोस्’ भने । 

अब कामले अर्को बाटो खोल्यो उहाँको । उहाँ राष्ट्रिय कम्प्युटर केन्द्रको अस्थायी सुब्बा हुनुभयो । यो २०३२ सालको कुरा हो । 

उहाँ २४ वर्ष सरकारी जागिर खाएर अधिकृत भएर त्यहाँबाट सेवा निवृत्त हुनुभयो । यो २४ वर्षको उहाँको अनुभव के रह्यो भने, कसैसँग यदि क्षमता छ भने त्यो प्रदर्शन गर्ने ठाउँ चाहिन्छ अन्यथा त्यो मरेर जान्छ ।

ती २४ वर्षमा उहाँले सिकेको भनेको टिप्पणी उठाउन र माइन्युट गर्न, त्यो पनि अक्षर राम्रो भएका कारण उहाँको जिम्मेवारीमा परेका रहेछन् अन्यथा जागिर खाने काम जीवन चलाउनेबाहेक केही रहेन उहाँका लागि । 

उहाँको २४ वर्षे जागिर गिरिजाप्रसाद कोइरालाको ठाडो अवकासमा गयो । उहाँले २४ वर्षे जागिरे जीवनको उपदानबापत ३ लाख ७० हजार रुपैयाँको चेक पाउनुभयो । बस्, कुरा सकियो । 

तर, कुरा सकिएको होइन, कुरो त बल्ल पो सुरु भयो, उहाँको जिन्दगीको । 

साहित्यिक जीवन  

उहाँको लेखनको प्रारम्भ नै छन्दबाट भयो । छन्दबाट प्रारम्भ हुनुको कारण भने उहाँ आफ्नी आमोई तथा आमालाई मान्नुहुन्छ । 

उहाँकी आमाकी दिदी, यस हिसाबले ठूलीआमा उहाँकी काकी, जसलाई उहाँ आमोई भन्ने गर्नुहुन्थ्यो । उहाँ सानैमा विधवा भएपछि उहाँलाई पढ्ने रहर जागेछ । 

उहाँलाई गीता तथा संस्कृतका श्लोकहरू पनि कण्ठ । लेख्न पनि जान्ने । तर, उहाँकी आमा भने लेख्न नजान्ने । आमोईले देवी भागवत, कृष्ण चरित्र र रामायण पढेको सुन्दासुन्दा आमालाई पनि कण्ठ भयो । 

पछि उहाँहरू दिदीबहिनी सँगै बसेर लय हालेर पढ्नुहुन्थ्यो । आमाहरूले उहाँलाई पनि लय हालेर पढ्न लगाउनुहुन्थ्यो । सम्भवतः छन्द लेखनमा आउनुको पहिलो प्रभाव यही होला भन्नुहुन्छ भुवनहरि ।

उहाँले २०५४ सालमा ‘आर्तनाद’ खण्डकाव्य आफैँले छाप्नुभयो । सबैले राम्रो पनि भने । उहाँलाई पनि लाग्यो, राम्रै लेखक भइएछ । 

अर्को खण्डकाव्य पनि लेख्नुभयो, ‘खाते ।’ पाण्डुलिपि हेर्नेले ‘आहा’ भने । त्यसै प्रसंगमा उहाँलाई अच्युतरमण अधिकारीले रमेश खकुरेलकहाँ पुर्‍याउनुभयो । 

अधिकारी २-२ महिनामा राष्ट्रिय कम्प्युटर केन्द्रमा आउनुहुन्थ्यो, ‘उन्नयन’ मासिकलाई कम्प्युटर केन्द्रले उपलब्ध गराउने ५०० रुपैयाँको विज्ञापनबापतको पैसा लिन । 

भुवनहरिले टिप्पणी उठाउने हुँदा उहाँकहाँ आउने अनि चिया खाएर जाने गर्नुहुन्थ्यो अधिकारी । भुवनहरि भने लेखक भएको धाक लगाउन किताबको चाङ टेबुलमा राखेर बस्नुहुन्थ्यो । 

अधिकारीले प्रश्न गर्नुभयो, ‘तपाईं किताब पनि लेख्नुहुन्छ ?’

सबैले राम्रो भनेको घमण्ड प्रदर्शन गर्न भुवनहरि किन चुक्नुहुन्थ्यो र ! किताब देखाउँदै भन्नुभयो, ‘एउटा यही हो, अर्को पनि निकाल्दै छु ।’

अधिकारीले यसो पल्टाएर हेरेपछि ‘यो छन्दमा रहेछ, मलाई छन्दको ज्ञान छैन, यो त खकुरेललाई देखाउनुपर्छ’ भन्नुभयो । 

‘फुर्सद भए ल जाऔँ’ भनेपछि अधिकारी र उहाँ ‘आर्तनाद’ र ‘खाते’को पाण्डुलिपिसहित रमेश खकुरेलकहाँ जानुभयो । 

आमनेसामने बसेपछि अधिकारीले खकुरेललाई ‘उहाँ त छन्दमा लेख्नुहुँदो रहेछ’ भनेर किताब दिनुभयो । 

खकुरेलले किताबको एक पेज पल्टाएर हेरेपछि ‘यही हो किताब ? यस्तै हो लेख्ने ? किन लेख्नुपर्‍यो छन्द ? दुनियाँलाई छन्द नलेखेर भएको छ, तिमीलाई किन लेख्नुपर्‍यो सिद्धान्त बिगारेर ? यस्तो फट्याइँ गर्ने ?’ भनेर किताबले झट्टी हान्नुभयो । 

उहाँले उदाहरण पनि दिनुभयो, ‘भट्मासे कविले कविता लेखेर सबलाई सुनाई दिया । यही हो कविता, यही हो छन्द ?’

अच्युतरमण अधिकारीले अझ अगाडि थपेर ‘उहाँले त अर्को पनि लेख्नुभएको छ’ भनेर ‘खाते’को पाण्डुलिपि पनि दिनुभयो । खकुरेल ‘काम छैन, काम छैन, उही हो पारा’ भनेर कड्किनुभयो । 

त्यसपछि भुवनहरि उठेर ‘गुरु, लेख्न मन लाग्यो लेखेँ, अब साँच्चै लेख्नचाँहि के गर्नुपर्छ ?’ भनेर सोध्नुभयो । 

औँला भाँचेरै ‘गण, मात्रा, व्याकरण, छन्द सिद्धान्त मिल्नुपर्छ’ भनेर खकुरेलले भन्नुभयो । ‘अलंकार, बिम्ब र प्रतीक पछिको कुरा’ भनेर उहाँले थप्नुभयो ।

त्यसपछि उहाँ त्यहाँबाट ‘खाते’को पाण्डुलिपि बोकेर भाग्नुभयो ।

‘म पनि मान्छे हो, खकुरेलले लेख्न सक्ने, मैले नसक्ने किन ? राम्रो मुखले सम्झाएको भए के जान्थ्यो ?’ भन्ने उहाँलाई लाग्यो । 

उहाँलाई रातभर निद्रा लागेन । ७ दिनमा उहाँले ‘खाते’को पुनर्लेखन गरेर ९ सर्गको ‘खाते’लाई १३ सर्गको बनाएर लिएर जानुभयो खकुरेलकहाँ । अब भने एक्लै जानुभयो उहाँ ।

‘गुरु नमस्कार ! म त फेरि आएँ’, उहाँले भन्नुभयो । 

‘किन ?’, खकुरेलको प्रश्न । 

‘यसो हेरिदिनुपर्‍यो, भयो कि भएन ?’, उहाँले भन्नुभयो । 

खकुरेलले यसो पल्टाएर ३-४ पेज हेर्नुभयो र भन्नुभयो, ‘ल, केही रूप रङ आएछ । यसलाई छाडेर जानू अनि ७ दिनपछि भेट्न आउनू’ भन्नुभयो खकुरेलले । 

उहाँलाई त्यस दिन खकुरेलले बस पनि भन्नुभएन । उहाँ पनि उभिएरै फर्किनुभयो । 

उहाँलाई त्यो ७ दिन ७ जुग बराबर भयो । कहिले ७ दिन बित्ला र जाऊँ भन्ने मात्र भयो उहाँलाई । 

७ दिन बितेर जाँदा खकुरेल कतै बाहिर जान भर्‍याङबाट झर्दै हुनुहुँदो रहेछ । भेट भर्‍याङमै भयो । 

खकुरेलले ‘म तपाईंलाई फोन गर्न आँट्दै थिएँ । तपाईं आफैँ आइपुग्नुभएछ’ भन्नुभयो । 

‘ल, माथि बसौँ’ भनेर त्यो दिन भने उहाँलाई चिया पनि खुवाउनुभयो खकुरेलले अनि भन्नुभयो, ‘मैले तपाईंको किताबको भूमिका पनि लेखाइसकेँ । र, अब हेरसक (हेमराज ज्ञवाली, रमेश खकुरेल, सन्तोष शर्मा, कमलमणि दीक्षित) प्रकाशनबाट प्रकाशन गर्नका लागि प्रेसमा गइसकेको छ, अब तपाईं चिन्ता नगर्नुहोस् ।’
 
उहाँले अर्को कुरा पनि गर्नुभयो त्यस दिन । उहाँले यसैबीचमा एक दिन उक्त पाण्डुलिपि लिएर कृष्णप्रसाद पराजुलीकहाँ गएर एक घण्टा पढ्न लगाएर २ घण्टा त्यहीँ बसेर त्यसै दिन भूमिकासमेत लेखाइसक्नुभएछ । 

त्यसै दिन उहाँमाथि एउटा जिम्मेवारी पनि थपियो । खकुरेलले उहाँलाई ‘धरणीधर’ महाकाव्य लेख्न भन्नुभयो । उहाँले ‘म सक्दिनँ होला’ भन्नुभयो । 

खकुरेलले सोध्नुभयो, ‘कतिवटा महाकाव्य पढ्नुभएको छ ?’

जबाफमा उहाँले ‘१०-१२ वटा’ भन्नुभयो । 

‘त्यसो भए पुग्यो’, खकुरेलले थप्नुभयो । 

उहाँको ‘सरिता नानी’ र ४-५ पेजका २ वटा ‘धरणी’ पत्रिका पनि ल्याएर दिनुभयो । ‘अब सक्दिनँ भन्ने म जान्दिनँ । पढ्नुपरे पढ्नू, खोज्नुपरे खोज्नू तर मलाई धरणीधर महाकाव्य चाहियो’, खकुरेलले भन्नुभयो । 

महाकाव्य लेखन

अस्ति त्यति गाली गरेको मान्छेलाई आज महाकाव्य लेख्न भन्छन् भनेपछि महाकाव्य लेख्ने क्षमता रहेछ र त यसो भने भन्ने उहाँलाई लाग्यो । ‘लेख्न सक्ने भए उनी आफैँले लेख्थे नि’ भन्ने पनि लाग्यो उहाँलाई । 

त्यसपछि उहाँले अफिसबाट ७ लिन बिदा लिएर सबै दुम्जाली कोइरालाका बारेमा टिपोट गर्न भ्याउनुभयो । धरणीधर जन्मेको/बसेको/मरेको घर सबै पत्ता लगाउनुभयो उहाँले र धरणीधरका छोरालाई पनि भेट्नुभयो ।

यसै सन्दर्भमा उहाँको साहित्यकार ‘भूतको भिनाजु’सँग भेट भयो । भूतको भिनाजुले धरणीधरसँग दिनभर बसेर गरेको कुराकानीका क्यासेट दिनुभयो । 

त्यसपछि के चाहियो ? उहाँको काम कोठाको ढोका लगाएर क्यासेट सुन्दै टिपोट उतार्दै गर्ने भयो । यति गर्दै गर्दा उहाँको मनमा यो २ महिनामा खकुरेललाई लगेर महाकाव्य बुझाउने भूत सवार छ । 

२ महिना केही कटेपछि २४ सर्गको ‘धरणीधर’ महाकाव्यको पाण्डुलिपि बोकेर उहाँ खकुरेलकहाँ जानुभयो । ‘मैले लेखिसकेर ल्याएँ’ भन्दा खकुरेलले पनि जिब्रो निकाल्नुभयो ।

‘ल, अब छाडर जानुहोस्, मैले पनि पढ्नुपर्छ’, खकुरेलले भन्नुभयो । 

धरणीधर प्रतिष्ठानले किताब छाप्यो । पुरस्कार पनि दियो १० हजार रुपैयाँ । यसरी रमेश खकुरेलले उहाँलाई महाकाव्य लेख्ने कवि बनाइदिनुभयो । 

गद्य लेखनको पनि उहाँको यस्तै रमाइलो प्रसंग छ । कमलमणि दीक्षितले एउटा कार्यक्रममा ‘कविता लेख्नेले आख्यान लेख्दैन’ भन्नुभएको रहेछ । 

भुवनहरिलाई लाग्यो, ‘किन लेख्न नसक्नु ?’

उहाँले ‘यात्रा’ नामक एउटा नियात्रा लेख्नुभयो । अर्को एउटा समारोहमा कमलमणिले नै ‘यो मान्छे पहिले काजी थियो, अहिले पाजी भयो अनि पहिले पद्दु थियो अहिले गद्दु भयो’, भन्नुभयो ।

यसै सन्दर्भमा उहाँले एउटा आख्यानको विमोचन समारोह राख्नुभयो, जसमा कमलमणिदेखि रमेश खकुरेलसम्म हुनुहुन्थ्यो । सबैले किताब राम्रै भने । 

‘पहिले यो मान्छे काजी थियो, अहिले पाजी भयो । पहिले पद्दु थियो, अहिले गद्दु भयो भनेर मैले भनेको थिएँ । मलाई के लाग्थ्यो भने, आख्यान त मजतिको राम्रो लेख्ने कोही छैन । यसले मेरो आधा घमण्ड झारिदियो’, कमलमणिले आफनो पालोमा भन्नुभयो । यति भएपछि के चाहियो- उहाँ आख्यानकार पनि भइहाल्नुभयो ।

कमलमणिले काठमाडौं जिल्लाबाट पाटन सरेका कारण काजीबाट पाजी अनि पद्यबाट गद्य लेखेकाले पद्दुबाट गद्दु भन्नुभएको रहेछ । 

संघसंस्थामा संलग्नता

उहाँ कोठे कविता (कोक) गोष्ठीको उपाध्यक्ष हुनुहुन्छ । त्यसैगरी रचना, दायित्व, भानु आदिआदि गरेर थुप्रै संघसंस्थामा पनि उहाँको संलग्नता छ । 

प्रकाशन

झण्डै आधा दर्जन महाकाव्य, डेढ दर्जन खण्डकाव्य, उपन्यास, यात्रा संस्मरण आदि गरेर उहाँका करिब ३ दर्जन पुस्तक प्रकाशित छन् । 

पुरस्कार/सम्मान

धरणीधर पुरस्कार, भवदेव पन्त प्राज्ञिक पुरस्कार आदि गरेर झण्डै उहाँका एक दर्जन सम्मान तथा पुरस्कार रहेका छन् ।