शिक्षामा सुधार गर्ने ती शैक्षिक प्रशासकहरू, जसको सम्झना अहिले पनि आउँछ

फर्कलान् र ती दिनहरू

शिक्षामा सुधार गर्ने ती शैक्षिक प्रशासकहरू, जसको सम्झना अहिले पनि आउँछ

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  भदौ ५, २०७८

स्मरणीय र सुखद अनुभूतिले मात्र जीवनको रथ गुडिरहेको हुँदो रहेनछ । फेरि केलाई सुखद मान्ने अनि केलाई दुःखद् मान्ने ? त्यो पनि स्वतः हुने संवेदनशीलताका आधारमा छुट्याउनुपर्ने रहेछ । हाम्रो धर्म, हाम्रो संस्कृति र संस्कार, हाम्रो सिकाइ, हाम्रो अभ्यास, हाम्रो वातावरणले पनि प्रभाव पार्ने रहेछ । यसो भनिरहँदा म आजभन्दा ५० वर्षअघिको आफ्नो आईकम प्रथम वर्ष पढ्दाको समयमा पुगेँ । 

२०२७ साउनदेखि कलेजको पढाइ सुरु हुने थियो । अर्थात् गर्मी बिदापछि लगत्तै कक्षा सुरु हुनु थियो । हामी भर्खर कलेज प्रवेश गर्नेका लागि त्यो विद्यार्थीकालको नयाँ अनुभूति थियो, रोमाञ्चक अनुभूति । विद्यालयको स्वर्णकाल समाप्त गरेर उच्च शिक्षाका लागि कलेजको भर्ना, एउटा नयाँ जोस पनि थियो तर कुन विषय पढ्दा के हुन्छ भन्ने कुराको कुनै सल्लाह दिने पनि कोही थिएन । एउटै चाहना थियो, उच्च शिक्षा लिनुपर्छ । मेरो परिवारमा म नै पहिलो कलेजमा जाने व्यक्ति थिएँ । त्यसैले पनि होला, कमर्स नै पढ्ने इच्छा लाग्यो । 

नेपालमा प्रजातन्त्रको स्थापनाभन्दा ठूलो कुनै आवश्यकता छैन पनि लाग्थ्यो र त्यसका लागि युवाहरूको संगठनको आवश्यकता छ भन्ने पनि लाग्थ्यो किनभने हामीले कक्षा १० सम्म पढ्दा धेरै चेतनाको ज्योति प्राप्त गरेको जस्तो लाग्थ्यो । राजनीतिको चस्का, त्यो पनि संस्थापनाको पञ्चायतविरुद्धको राजनीतिको पक्षमा लाग्ने भावना अनि संलग्नताले पढाइको भन्दा मातृभूमिको राजनीतिक स्वतन्त्रताप्रति बढी नै चासो राखिन्थ्यो । कति बुझेर, कति नबुझीकनै र कति देखासिकीमा पनि राजनीतिको रथ गुड्ने रहेछ । 

त्यसबेलाको गन्तव्यका बारेमा केही थाहा पनि थिएन, प्रजातन्त्रको स्वाद पनि थाहा थिएन । मात्र सैद्धान्तिक जानकारी र भावी दिनको स्वर्णिम अवस्थाले अभूतपूर्व आकर्षण गरेको थियो जस्तो कि बत्तीको पुतली झुम्मिन्छ नि त्यस्तै । तर, हामी चेतनशील थियौँ र त्यो अवस्थामा परिणामको भन्दा पनि प्रक्रियामा जोड दिएका हुन्थ्यौँ । जनकपुर आफैँमा प्रजातन्त्रवादीहरूको केन्द्र थियो र प्रजातन्त्रका पक्षमा जुनसुकै पनि त्याग गर्ने भुइँमान्छेहरूको बाहुल्य भएकाले एक प्रकारले प्रजातन्त्रका पक्षमा स्वतन्त्र किल्लाको रूपमा थियो । 

त्यसको स्वतन्त्रता प्रयोग गर्नेमा हामी कलेजका विद्यार्थीहरू थियौँ । त्यसबेलाका कलेजका प्रिन्सिपल प्राध्यापक रामचन्द्रबहादुर सिंहले कलेजको परिसरमा पुलिसको प्रवेश हुन नदिने वाचा गर्नुभएको थियो र परीक्षामा समेत हाम्रो रामस्वरूप रामसागर कलेज वा छोटकरीमा आरआर कलेज, जनकपुरधाममा पुलिसको प्रवेश निषेध गरिएको थियो । पछि हाम्रो प्रिन्सिपल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिसमेत हुनुभयो । 

नेपालका तर्फबाट थाइल्यान्डमा महामहिम राजदूत पनि हुनुभयो । पञ्चायतकालमा अञ्चलाधीश पनि हुनुभएको थियो जस्तो लाग्छ । तर, जनकपुरमा विद्यार्थीहरूका बीचमा साम्प्रदायिकता फैलियो भनेर उहाँको सरुवा जनकपुर भएको भन्ने हामीले सुनेका थियौँ । उहाँको १२९ नम्बरको मोटरसाइकल थियो । त्यसको आवाज यति बुलन्द थियो कि सर आउनुभएको कुरा हामी परैबाट थाहा पाउँथ्यौँ । उहाँको उपस्थिति नै अनुशासनको प्रतीक थियो ।

नभन्दै एभीएमको कहानी दोहोर्‍याउँदै ल्याबोरेटरी विद्यालयका विद्यार्थीहरूको नाम दर्ता संभव भएको थियो । आज त्यो प्रणाली स्वतः चालित प्रणालीको रूपमा रहेको छ । ललितपुर जिल्लाबाट सुरु भएको भरत सिंखडाको एउटा अठोट आज नेपालको परीक्षा प्रणाली र विद्यार्थी दर्ता प्रणालीको अविष्मरणीय प्रणाली बन्यो ।

कक्षा भएको/नभएको उहाँ घुमीघुमी हेर्नुहुन्थ्यो । अग्लो मान्छे, सामान्यतया पाइन्टमा देखिनुहुन्थ्यो कालो चस्मामा । हातमा पन्जा हुन्थ्यो मोटरसाइकल चलाउनका लागि । त्यसबेलामा हेल्मेटको चलन थिएन र जनकपुरमा हातमा गन्न मिल्ने मोटरसाइकल चलाएको पाइन्थ्यो । मैले भनेँ नि, उहाँको उपस्थिति नै कलेजको वातावरणलाई शान्त राख्न र शैक्षिक क्रियाकलाप गर्नका लागि हामीलाई ठूलो आड भरोसा थियो । भन्थे, उहाँको राजाको दरबारमा पहुँच छ रे ! उहाँका दाजुभाइहरू सेनाको माथिल्लो पदमा छन् रे ! 

हामीले सोध्ने पनि कुरा थिएन, हाम्रो चासोको विषय पनि थिएन र हामीले गर्ने विद्यार्थी राजनीतिमा उहाँको कुनै हस्तक्षेप थिएन । हामी के कुरामा ढुक्क थियौँ भने कलेज परिसरमा चाहिँ पुलिस आएर कुनै पनि विद्यार्थीलाई पक्रने छैन । हाम्रा कार्यक्रममा कुनै व्यवधान गर्नेछैन । त्यसको प्रत्याभूति के थियो भने विद्यार्थीहरूकै आपसमा विवाद र झगडाका कारणले उहाँको नियुक्ति जनकपुरमा भएको थियो । उहाँ पहाडिया प्रिन्सिपल या अभिजातीय ठकुरी वंशको भए पनि उहाँ आउनेबित्तिकै विद्यार्थीहरूको दोषका आधारमा कलेजबाट पहाडिया अनि मधेसका विद्यार्थीहरूलाई निश्कासन गर्नुभएको रहेछ- निष्पक्ष दण्डका आधारमा र विद्यार्थीहरूकै साबिती बयानका आधारमा । त्यसैले उहाँ सजग हुनुहुँदो रहेछ- विद्यार्थीहरूका बीचमा कलेज प्रशासनका कारणले कुनै जातीय झगडा नहोस् । 

एउटा सुखद पक्ष के पनि थियो भने हामी नेपाल विद्यार्थी संघका विद्यार्थीहरू समावेशी उम्मेदवारका लागि धेरै सजग थियौँ । खासगरी विद्यार्थी युनियनको निर्वाचनमा मधेसको विद्यार्थी नेता सभातिमा उठाइन्छ भने सचिवमा पहाडिया मूलको उठाइन्थ्यो र सभापतिमा पहाडिया मूलको उठाइन्थ्यो भने सचिवमा मधेसको विद्यार्थी नेता नै उठाइन्थ्यो । फेरि त्यसबेलामा नेपाल विद्यार्थी संघको तर्फबाट उठ्नु भनेको कुनै पनि बेला जेल जान तयारी रहनु पनि थियो  । विद्यार्थी नेताहरू तर नेपाल विद्यार्थी संघका सदस्यहरू नै बढी थिए कलेजमा । हामीले जनकपुरलाई त्यसबेलामा सुरक्षित किल्लाको रूपमा ठानेका थियौँ । 

एकातिर उच्च शिक्षाको आवश्यकता पनि पढाइबाट पूरा गर्नु थियो भने प्रजातन्त्रको आवश्यकता व्यवहारद्वारा पूरा गर्नु थियो । प्रजातन्त्रको दियो पनि बाल्नु थियो अनि बलेको दियो संरक्षण गरेर निभ्न नदिनु पनि थियो भने जुन उद्देश्यका साथ घर छाडेर जनकपुरसम्म गएर कलेज भर्ना भएकाले उच्च शिक्षा लिने पनि उत्कट इच्छा थियो । अनि, हामीले विद्यार्थीको रूपमा, युनियनका तर्फबाट स्वयंसेवी भएर विवाह पञ्चमी, राम नवमीमा लाग्ने धार्मिक मेलामा धार्मिक यात्रुहरूलाई सहयोग गर्नु पनि थियो । हामीलाई ५ रुपैयाँ दैनिक खर्च दिइएको थियो र प्रिन्सिपल रामचन्द्र सरले अरू ५ रुपैयाँ थपेर १० रुपैयाँ बनादिनुभएको थियो । 

त्यस्ता धार्मिक मेलामा कतिपय धार्मिक व्यक्तिहरूले भुइँमा पसारिएर आफूलाई नाप्दै, हातमा एउटा सानो लौरो लिएर खाली खुट्टा घरैदेखि जानकी मन्दिर र राम मन्दिरसम्म आफ्नो कबुल पूरा गर्न आउने चलन रहेछ । कुनै कुरा पूरा होस् भनेर भाकल गरेको हुँदो रहेछ । हाम्रो स्वयंसेवी टोलीलाई लाग्यो, कसैले बलजफ्ती उनीहरूलाई घुँडा टेकाएर सडकमा लम्पसार पारेर ल्याएको होला । जब हाम्रो स्वयंसेवी टोली ती मानिसहरूलाई उठाउन गयौँ अनि पो थाहा भयो- त्यो त स्वैच्छिक भाकल पूरा गर्ने चलन पो रहेछ  । त्यस्तो मेलामा कुनै भाकल पूरा गर्न, लाख बत्ती बाल्न, जानकी माता र श्रीरामसँग आशीर्वाद माग्न आउने बेलामा परिवारको जमघट पनि हुने रहेछ । 

एउटा सांस्कृतिक चलनका बारेमा हामी पहाडबाट गएकालाई थाहा थिएन कि आमा र छोरीको भेट धेरै दिन पछि हुँदा रुवाबासी गरिने रहेछ । त्यो खुसीको पनि हुन सक्छ तर छोरीले गीतिभाकामा आमालाई घरको बयान गर्ने या  दुःख व्यक्त गर्ने कुरो पो रहेछ । अहिले त्यो चलन छ कि छैन । सामान्यतया आजभोलि पढेलेखेका र प्रेम विवाह गर्नेको संख्या बढेका बेलामा अनि मेलामा भेला हुने चलन कम हुन थालेको बेलामा त्यो चलन छ कि छैन, थाहा छैन । तर, पहिलो पटक हामीले देख्दा के पो हुन थाल्यो भनेर छुट्याउन गएका थियौँ तर महिलाहरूको अङ्कमालमा कसिएका अनि रुँदै गीतको भाकामा वार्ता गरेकोमा हामी के गर्नु के नगर्नु भएका थियौँ । त्यहीबेलामा बीएमा चौथो वर्षमा पढ्ने दाजुहरूको टोली आइपुग्यो र हामीले समस्याको कुरा गरेपछि उहाँहरू हाँस्नुभयो र भन्नुभयो, 'यो त सांस्कृतिक चलन हो, आमाछोरी भेटिएपछि यसै पनि संवेदनशील समय हुन्छ, बल्लबल्ल भेट भएको छ, कुरा गर्ने पनि यही भेट भएकै बेलामा त हो नि ! हामीले त सम्झेका थियौँ आमा र छोरी भेटिए पछि त  हाँसी हाँसी कुराकानी पो गर्नुहुन्छ होला नि भन्ने तर त्यो पनि सांस्कृतिक तरिका पो रहेछ ! भेटेपछि आँसुको बोलीले गीतमा कुरा गर्ने । मलाई अहिले पनि त्यो क्षण सम्झना आउँछ ।'

लौरो थियो हातमा, खासगरी रिक्सावालालाई कसैले नठगून् या रिक्सावालाले पनि कसैलाई नठगून् भनेर र कोही बगली मार्ने पो हो कि भनेर सतर्क हुने, कोही आफ्ना परिवारसँग छुट्टिएका भए पुलिस वा स्काउटको माइका गएर बच्चा वा हराएका व्यक्तिहरूको परिवारको वा सँगै आएको साथीलाई खोज्ने । कतिलाई त माइकमा आफ्नो नाम बोलाएको र साथी भेट्ने रहरले हराएको नाटक पनि गर्ने रहेछन् । तर, हामी त्यो बच्चाको हकमा उनैको बच्चा हो कि होइन भनेर पुलिसको रोहबरमा मात्र छोड्थ्यौँ । मज्जा पनि लाग्थ्यो  किनभने त्यो पनि एउटा शासकीय पूर्वाभ्यास रहेछ । स्वयंसेवकको परिचय छातीमा टाँसेर, हातमा एउटा सानो लौरो बोकेर हिँड्दा पनि आफूलाई कुनै ठूलो दायित्वबोध गरेको जस्तो लाग्दो रहेछ त्यसबेलामा । सायद त्यो मानसिकता प्रहरीहरूमा पनि हुन्छ सकारात्मक रूपले हेर्दा किनभने उनीहरूलाई राज्यले सुरक्षाको जिम्मा दिएको हुन्छ ।

जीवनको  पाटोलाई विश्लेषण र संश्लेषण गर्ने हो भने आफ्नाबारेमा राम्रो भन्ने, नराम्रो कुरा थाहा पाए पनि लुकाएर राख्ने, बाहिर केही नभन्ने । तर, हाम्रो सामाजिक मनोविज्ञान भने अरूका बारेमा तर हाम्रो मानवीय स्वभाव कस्तो हुँदो रहेछ भने आफ्नो पक्षमा सुखद कुराहरू मात्र सुन्ने बानी हुने रहेछ । मानवीय स्वभाव नै त्यस्तो हो कि ? हाम्रो संस्कार नै त्यस्तो हो ? हुनत हाम्रो सामाजिक परिवेशमा नैतिकताभित्र आलोचनात्मक टिप्पणी, त्यो पनि आफूभन्दा ठूलो उमेरका वा नातामा अघिल्लो पुस्ताका बारेमा ।

शिक्षा क्षेत्रमा काम गर्दा, लामो अवधिसम्म विद्यालय र विश्व विद्यालयको सम्बन्धनप्राप्त सामुदायिक क्याम्पस काठमाडौं शिक्षा क्याम्पसमा शिक्षण गर्दा र क्याम्पस प्रमुखका रूपमा काम गर्दा केही त्यस्ता शैक्षिक प्रशासक, शिक्षक, प्राध्यापकहरूसँग सम्बन्ध रह्यो । शैक्षिक प्रशासकहरूमध्ये मलाई प्रभाव पार्ने समकालीन साथी भए पनि शिक्षाका विभिन्न कार्यालयमा काम गर्ने अनि परीक्षा नियन्त्रण कार्यालयमा नियन्त्रक हुनुभएका र पछि नेपाल सरकारका सचिवसम्म हुनुभएका अर्जुनबहादुर भण्डारी र भाइको रूपमा चिनजान भएर पछि ललितपुर र काठमाडौं जिल्लामा जिल्ला शिक्षा अधिकारी हुने भरत सिंखडाको नाम ठ्याक्कै जेहेनमा आउँछ । 

अरू पनि शैक्षिक प्रशासकहरू जेहेनमा आउँछन् तर किन किन अर्जुनजीको सम्झना यस कारणले आउँछ कि उहाँले विद्यालयको एसएलसी परीक्षामा धेरै सुधार गर्नुभयो र प्रणालीमा लैजानका लागि रातदिन प्रयास गर्नुभयो । २ वर्षदेखि एसएलसी भनिने त्यो माध्यमिक तहको अन्तिम परीक्षा कोरोनाका कारणले विद्यालयको आन्तरिक नम्बरका आधारमा मूल्यांकन भएको छ र पनि त्यो परीक्षा नियन्त्रण कार्यालयको प्रणालीलाई स्वतः संचालित बनाउनुभएको थियो । करिब ४-६ महिनामा पनि नतिजा प्रकाशन नहुने अनि लब्धाङ्कपत्र विद्यालयमा पुर्‍याउन पनि एक महिना लाग्ने चलनलाई करिब ७० दिनमा परीक्षाको नतिजा जसरी पनि निकाल्ने । बेलैमा प्रश्नपत्र, उत्तरपुस्तिका जाँच्ने अनि नतिजा बेलैमा निकाल्ने कार्यसूची बनाएर काम सुरु गर्न गराउन सक्षम हुनुभयो । उहाँले बनाएको प्रणालीले अहिलेको आधुनिक समयमा पनि स्वतः चालित प्रणालीमा परीक्षा  नियन्त्रणको काम सुचारु भएको पाइन्छ । त्यसपछि धेरै नियन्त्रकहरू आउनुभयो, सुधार पनि गर्नुभयो तर हाम्रो जेहेनमा हिजोको भद्रगोल परीक्षा नियन्त्रण र अहिलेको परीक्षा नियन्त्रण प्रणालीको जब तुलना हुन्छ, झट्ट भण्डारीको सम्झना आउँछ । 

उहाँ निवृत्त हुँदा पनि परीक्षा नियन्त्रणको कार्यालय र पाठ्यक्रम विकास केन्द्रको कार्यालयमा जाँदा भण्डारीजी नै भित्र हुनुहुन्छ जस्तो लाग्छ । पाठ्यक्रम विकास केन्द्रमा हुँदा पनि उहाँको कामको प्रगति सत प्रतिशत थियो भनिन्छ । काम गर्ने शैक्षिक प्रशासक भनेर नाम चलेको एक जना कर्मठ राष्ट्रसेवक तथा शिक्षासेवक हुनुहुन्थ्यो मेरो साथी । 
त्यस्तै, भरतप्रसाद सिंखडासँगको परिचय भनेको त्रिभुवन विश्वविद्यालय क्याम्पसको बीएड विषयका पढ्दै गर्दा शिक्षण अभ्यासमा मैले पढाउने विद्यालय ल्याबोरेटरी स्कुलमा आउनुभएको थियो । अहिले पनि उहाँसँग आउनुभएका शिक्षक, विद्यार्थीहरूको केही नाम मलाई सम्झना छ- खेमराज लोहनी, भरत सिंखडा, माया राई, नरमाया राना, मनमाया शर्मा, झुमप्रसा राई, मुक्तिसिंह ठकुरी र अरू पनि । 

मलाई याद भएबमोजिम खेमजीले त्यसबेलामा बीएडमा गणित विषयमा विशिष्ट श्रेणीमा उत्तीर्ण गर्नुभएको हो क्या रे ! भाइ भरत सिंखडाको पनि विशिष्ट श्रेणीमा हो जस्तो लाग्छ । खेमजी राजनीतिमा लाग्नुभयो क्यारे ! धादिङ जिल्लाको जिल्ला विकास समितिको सभापति अनि अहिले प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ जस्तो लाग्छ । भरत भाइ, झुमप्रसाद राईजी, मुक्तिसिंह ठकुरी भाइ, माया राई नेपाल सरकारको शिक्षा क्षेत्रमा सेवा गरेर निवृत्त भएको हुनुपर्छ । नरमायाजी अहिले पनि त्रिविको शिक्षाशास्त्र संकायको प्राध्यापक हुनुहुन्छ जस्तो लाग्छ अनि मनमायाजी विद्यालयमा सेवा गरेर हालै जस्तो निवृत्त हुनुभयो क्यारे !

भरत भाइ पनि अलिक पहिले नै सचिवसम्म हुने संभावना भए पनि शिक्षा सेवाबाट बेलैमा राजीनामा दिएर हाल बेलायतमा बस्नुहुन्छ क्यारे ! तर, मलाई परेको प्रभाव भनेको एउटा शैक्षिक प्रणाली नियमित गरेको कारणले हो । त्यो हो एसएलसीमा देखिएको भद्रगोल अवस्था थियो, को नियमित विद्यार्थी हो र को प्राइभेट विद्यार्थी हो ? प्राइभेट विद्यार्थीका रूपमा पनि परीक्षा दिन पाइन्थ्यो तर निजी विद्यालयमा फेल हुने वा फेल भएपछि ती विद्यार्थीहरूलाई सरकारी अनुदानप्राप्त विद्यालयको नियमित विद्यार्थीको रूपमा जाँच दिन लगाइन्थ्यो । 

एकातिर कक्षा ८, ९ र १० पढ्ने अनि केही पैसा दिएर सामुदायिक विद्यालयबाट जाँच दिन लगाउने अपराधको कसरी नियन्त्रण गर्ने भन्ने कुरामा परीक्षा नियन्त्रण कार्यालयलाई मात्र होइन, शिक्षामन्त्रीका रूपमा रहनुभएका पूर्वशिक्षक गोविन्दराज जोशीका लागि त्यो चुनौती भएको थियो । समाजमा यस्ता कुराहरूको समस्या देखिन्थ्यो । कस्तोसम्म हुन्थ्यो भने, त्यो निजी विद्यालयमा फेल भएको विद्यार्थी कुन विद्यालयको नियमित विद्यार्थीका रूपमा जाँच दिँदै छु भन्ने थाहा नै पाउँदैैन थिए । विद्यार्थीलाई परीक्षा केन्द्रमा जब सोधिन्थ्यो 'बाबुनानी तपाईं कुन विद्यालयको हो ?' 

विद्यार्थी अकमकिने र पहिले पढेको विद्यालयको नाम लिन्थे तर परीक्षाको प्रवेशपत्रमा अर्कै विद्यालयको नाम हुन्थ्यो । यतिसम्मको विकृति थियो कि ती विद्यालयहरूमा कक्षा १० को कक्षा कोठा कहिल्यै नदेखेको विद्यार्थीले त्यो विद्यालयका नाममा जाँच दिएको हुन्थ्यो । यो चुनौतीलाई समाधान गर्न भरत भाइ युवा शैक्षिक प्रशासक कस्सिए र कक्षा ८ मा नै विद्यार्थीको दर्ताका अभिलेख अनिवार्य रूपमा एसएलसीको परीक्षा फाराममा राख्नै पर्ने अनि कक्षा ८ मा सरकारी जिल्लास्तरको परीक्षाको लब्धाङ्कपत्रका आवश्यक गरियो । कक्षा ८ बाट अर्को विद्यालयमा भर्ना हुनका लागि जिल्ला शिक्षा कार्यालयको अनुमति लिनुपर्ने, भर्ना गर्ने विद्यालय र स्थानान्तरणपत्र आवश्यक गरियो, जसले जिल्ला शिक्षा कार्यालयमा कक्षा ८ देखि नै नाम, जन्म मिति, बाबुआमाको नाम र स्थायी बसोबासको ठेगानाको अभिलेख अनिवार्य रूपमा राख्नै पर्ने नीति ललितपुर जिल्लामा सुरु भयो । त्यो नीतिले व्यापकता पायो र आज पनि त्यो अभिलेखको आधारमा विद्यार्थीको दर्ता गरिएको पाइन्छ । 

मात्र ललितपुर जिल्लाबाट सुरु भएको यो अभ्यासलाई शिक्षा मन्त्रालयले अनिवार्य प्रणालीको रूपमा ग्रहण गरियो । स्याब्बास भरत भाइ, सानो कामबाट सुरु भएको तर ठूलो समस्याको समाधान कसरी गरियो भन्दा एउटा कथा भन्थे भरत भाइले । कथा रहेछ ललितपुर जिल्लाको सबैभन्दा प्रतिष्ठित निजी विद्यालय आदर्श विद्या मन्दिर एभीएमका संस्थापक तथा तत्कालीन प्रिन्सिपल, पुराना पत्रकार, नेपाली कांग्रेसका पुराना महामन्त्री शिक्षाविद् सत्यनारायणसिंह श्रेष्ठ । जब कक्षा ९ मा विद्यार्थीहरूको एसएलसीको तयारीका लागि फाराम भर्न लगाइयो, भरतले कक्षा ८ को वैध लब्धाङ्कपत्र नभएकाले दर्ता नहुने भनेपछि विद्यालयको प्रशासकले त्यो कुरा प्रिन्सिपललाई भनेपछि उहाँ आफैँ गएर अधिकारीलाई सोध्नुभएछ- 'किन र मेरो विद्यालयका विद्यार्थीहरूको फाराम दर्ता नगरेको ? कक्षा ९ को एसएलसीका लागि दर्ता नगरेको ?'

अझ भरत भाइको भाषामा त साह्रै माया गर्ने र भरतको काम देखेर प्रशंसा गरेर नथाक्ने सत्यनारायण सरले भरतलाई मायाले बोलाउनुहुन्थ्यो रे र अंग्रेजीमा मात्र वार्तालाप गर्नुहुन्थ्यो रे ! त्यस्तो आदरणीय गुरु जस्ता मानिसलाई भरतले पनि नरम भाषामा सबै कुरा भनेछन् र सुझाव दिएछन्- 'सर, प्रत्येक विद्यार्थीको ५ रुपैयाँ तिरेर पोहोरको गल्तीका लागि कक्षा ८ को नाम दर्ता गराउनुहोस्, पोहोरको तपाईंको विद्यालयको नाममा राखिएको प्रश्नपत्र लिएर जानुहोस्, जाँच लिनुहोस्, ती उत्तरपुस्तिका जँचाएर त्यही नम्बर हाम्रो कार्यालयको लब्धाङ्कपत्रका विद्यालयको छाप लगाएर ल्याउनुहोस् र पोहोरको मितिमा ती लब्धाङ्कपत्र तयार छन्, त्यही लब्धाङ्कपत्रको फोटोकपी राखेर ल्याउनुहोस् ।'

उहाँले भन्नुभयो, 'एक पटकका लागि मात्र यो सुविधा हजुर जस्ता शिक्षाविद्का लागि हो तर अब यो गल्ती गर्दिनँ भनेर कागज गर्नुपर्छ अनि मात्र म परीक्षा शाखालाई यो एक पटकका लागि दर्ता गर्न अनुमति दिन्छु ।' 

सत्यनारायण सरले एक पटक यो कुरा गर्दै भन्नुभएको रहेछ, 'म राणालाई नटेर्ने, राजालाई नटेर्ने, बीपी, गणेशमानजीसँग असहमति जनाउँदै शिक्षा सेवामा आएको मानिसलाई त्यो लिटिलच्यापले चित्त बुझाएर माफी माग्दै प्रणालीमा बस्न सिकायो । क्या बात ! भरत बाबू ! भन्नुभएको रहेछ । त्यो कुरा पछि काठमाडौँ जिल्लामा आउँदा मेरै विद्यालयमा पनि त्यस्तै भयो । मलाई थाहा थियो, भरतले मान्दैनन् । नभन्दै उनले मन्त्रालयको सिफारिस र परीक्षा कार्यालयको सिफारिस विना म विद्यार्थीहरूको दर्ता गर्न सक्दिनँ ।'

नभन्दै एभीएमको कहानी दोहोर्‍याउँदै ल्याबोरेटरी विद्यालयका विद्यार्थीहरूको नाम दर्ता संभव भएको थियो । आज त्यो प्रणाली स्वतः चालित प्रणालीको रूपमा रहेको छ । ललितपुर जिल्लाबाट सुरु भएको भरत सिंखडाको एउटा अठोट आज नेपालको परीक्षा प्रणाली र विद्यार्थी दर्ता प्रणालीको अविष्मरणीय प्रणाली बन्यो । झन् अहिले त कम्प्युटर प्रणालीमा दर्ता हुन थालेपछि त त्यो चलन झनै व्यावहारिक भयो । मलाई लाग्छ, यदि भरत भाइ नेपाली शिक्षा क्षेत्रमा पछिसम्म सेवा गरेर बसेका भए त्यो निडर प्रशासकले धेरै सुधार गर्ने थिए । मलाई अहिले पनि त्यो भरत भाइको सम्झना आउँछ । 
क्रमशः ।