जनवादी संगीतकार तथा गायक प्रधान: ‘पारिजात कला सम्मान’द्वारा सम्मानित

जनवादी संगीतकार तथा गायक प्रधान: ‘पारिजात कला सम्मान’द्वारा सम्मानित

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ ६, २०७८

काठमाडौँ । जनवादी संगीतकार तथा गायक माधव प्रधान पारिजात स्मृति केन्द्रद्वारा प्रदान गरिने ‘पारिजात कला सम्मान’द्वारा सम्मानित हुनुभएको छ । स्मृति केन्द्रद्वारा म्हेम्पीमा हालै आयोजित कार्यक्रममा प्रधान सम्मानित हुनुभएको हो । उक्त कार्यक्रममा पारिजात बाल साहित्य सम्मानबाट  प्रा.डा. चुडामणि बन्धु, पारिजात सृजन सम्मानबाट सीता शर्मा र पारिजात सङ्घर्षशील नारी सम्मानबाट सीता पोखरेल सम्मानित हुनुभएको थियो । उहाँहरूलाई केन्द्रका संरक्षक सुकन्या वाइबा, निवर्तमान अध्यक्ष रायन र पूर्व  अध्यक्ष डा। महेश मास्के र अध्यक्ष स्नेह सायमीले माला, नगद राशि र सम्मानपत्रद्वारा उहाँहरूलाई सम्मानित गर्नुभएको थियो ।

ताप्लेजुङ फुङ्गलिङ नगरपालिका–४ निवासी प्रधानको वि.सं. २०१४ मङ्सिर १८ गते माता चञ्चलादेवी प्रधान र पिता पूर्णकुमार प्रधानका पुत्ररत्नका रूपमा जन्म भएको थियो । प्रगतिशील तथा जनवादी संस्कृतिका एक अविचलित योद्धाका रूपमा उहाँ परिचित हुनुहुन्छ । सानैदेखि गीत गाउन, संगीत सृजना गर्न, नाच्न, नाटक लेख्न, निर्देशन गर्न र अभिनय गर्नमा औधी अभिरुचि राख्ने माधवले आफ्नो जीवनका सम्पूर्ण ऊर्जाशील समय सोही क्षेत्रमा समपर्ण गर्नुभयो । गाउँकै हाइस्कुलबाट एस्एलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न काठमाडौँ पस्नुभएका उहाँले वि.सं. २०३१ सालमा त्रिभुवन विश्वविद्यालयबाट संगीत विषयमा प्रवीणता प्रमाणपत्र तह पूरा गर्नुभयो । वि.सं. २०५१ सालमा आएर रेडियो नेपालबाट गायनका लागि गरिने स्वर परीक्षण उत्तीर्ण गर्नुभयो । त्यसपछिका दिनमा भने उहाँ पूर्णकालीन रूपमा संगीत, गायन, नृत्य, वाद्यवादन लगायतका कर्म गर्दै आइरहनु भएको छ । यो क्रम वि.सं. २०२९ सालदेखि निरन्तररूमा आपर्यन्त जारी राख्नु भएको थियो ।

हाल काठमाडौँ महानगरपालिका–१८, भुरुङ्गखेलमा अस्थायी बसोबास गर्नुहुने माधव प्रधानले अधिवक्ताको लाइसेन्ससमेत लिनुभएको छ । उहाँले  समाजशास्त्रमा प्रथम श्रेणीमा एमए, प्रथम श्रेणीमै ग्रामीण विकास विषयमा एमए र अर्थशास्त्र–कानुनमा बीएल गर्नुभएको छ । हाल उहाँ ‘नेपालको जनवादी गीत र गीतकारहरूको इतिहासको सिवालोकन’ विषयमा पिएचडी उपाधिका लागि अध्ययनरत हुनुहुन्छ । वि.सं. २०३० सालमा काठमाडौँमा आयोजित १४ओटै अञ्चलस्तरीय सांस्कृतिक प्रतियोगितामा मेची अञ्चलको ताप्लेजुङबाट प्रतिनिधित्व गरी गायन तथा नृत्यमा सहभागी हुनुभएको थियो ।

यसरी  राष्ट्रियस्तरको कार्यक्रममा सहभागी भएपछि उहाँले श्रीभानु पब्लिक हाइस्कुल, ताप्लेजुङ्कमा वि।संं। २०३० साल देखि २०३४ संगीत शिक्षकका रूपमा काम गर्ने अवसर प्राप्त गर्नुभएको थियो । उक्त विद्यालयले संगीत विषयसहित अन्य विषय अध्ययन गराउनका लागि नयाँ शिक्षा योजनानुसार १० महिने सेवाकालीन शिक्षक तालिमको अवसर प्रदान गर्‍यो । सोहीअनुसार त्रिभुवन विश्व विद्यालय, शिक्षा शास्त्र अध्ययन संस्थान महेन्द्ररत्न क्यामस, इलामबाट उहाँले संगीतमा आइए गर्नुभयो ।  

वि।संं २०३३ सालमा तत्कालीन श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालय, क्षेत्रीय शिक्षा निर्देशनालय, धनकुटाबाट शिक्षकहरूलाई प्रदान गरिएको संगीत शिक्षा तालिममा सहभागी भई उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएपछि उहाँमा गीत–संगीतप्रतिको मोह र लगाब झन्–झन् बढ्दै गयो ।  वि.सं. २०३७ सालमा त्रि–चन्द्र क्याम्पसद्वारा आयोजित अन्तरक्याम्पस गायन प्रतियोगितामा प्रथम, २०३७ सालमा राष्ट्रिय सभागृहमा सम्पन्न सङ्कल्प साङ्गीतिक कार्यक्रममा एकल गायन प्रस्तुति दिई परिचित हुँदै अगाडि बढ्नुभएका उहाँले २०३७ सालदेखि अखिल नेपाल विद्यार्थी युनियनको सांस्कृतिक कमिटीको संयोजक भएर गायन, नृत्य, नाटक निर्देशक लगायतका विधामा विद्यार्थी/कलाकारहरूको क्षमता विकास गराउने कार्यमा २०४२ सालसम्म निरन्तर लागिरहनुभयो ।

उहाँले काठमाडौँ उपत्याकाभित्र आयोजना भएका ठुला–ठुला सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो कला प्रस्तुत गर्नुभएको छ । सो क्रममा उहाँले दर्जनौँ नाटक लेखन, निर्देशन र अभिनय गर्नुका साथै महत्वपूर्ण सांस्कृतिक प्रस्तुति दिनुभएको छ ।  यसक्रममा मुलुकको वामपन्थी आन्दोलनसँग आवद्ध भई उहाँले प्रगतिशील र जनवादी संस्कृतिको संरक्षण एवम् संवद्र्धनका खातिर उल्लेखनीय योगदान दिनुभएको छ । वि.सं. २०४४ सालमा स्थापित राष्ट्रिय जनसांस्कृतिक मन्च, नेपालमा आवद्ध हुँदा उहाँले संगीत, गायन र नाट्य विभाग प्रमुखको जिम्मेवारी कुशलतापूर्वक वहन गर्नुभयो । जनसांस्कृतिक कार्यक्रम अभियानका क्रममा उहाँले देशका विभिन्न जिल्लाका सहरबजार र गाउँबस्तीहरूको भ्रमण गर्नुभएको छ ।

यसक्रममा उहाँले जनताका सुख–दुःखलाई नजिकबाट बुझ्न मद्दत गर्‍यो । उहाँ सांस्कृतिक फाँटबाट जनजागरण अभियानमा अविचतित रूपमा लागिरहनुभयो । आजपर्यन्त उहाँ सोही बाटोमा यात्रारत हुनुहन्छ ।  उहाँका रचना तथा संगीतमा २०५० सालमा राष्ट्रिय जनसांस्कृतिक मञ्चको प्रस्तुतिमा गायक जेबी टुहुरे र गायिका मधु गुरुङको स्वरमा ४ओटा गीत रेर्कड भएका छन । ती (क) ल है छोरी को जीवन.....(स्वर मधु गुरुङ्ग, (ख) गुन्यूचोली पटुकी झुम्के बुलाकी (स्वर मधु गुरुङ्ग र जेबी टुहुरे), (ग) आकाशैमा नौलाखे तारा गरिबको को हुन्छ सहारा (स्वर मधु गुरुङ्ग र जेबी टुहुरे), र (घ) आनाङ्ग घोसी खाबा हो मै च्याङ्ग (तामाङ्ग सेलो, स्वर मधु गुरुङ्ग र जेबी टुहुरे) हुन् । उहाँका दर्जनौा गीत–संगीत विभिन्न गायक–गायिकाका स्वरमा रेकर्ड भएका छन् ।

उहाँले नेपाल सरकारबाट निम्न निकायहरूमा नियुक्ति पाई इमान्दारिता र कुशलतापूर्वक आफ्ना जिम्मेवारीहरू पूरा गर्नुभएको छ । ती हुन्– नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य–२०५६, नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य–२०६६ र नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको प्राज्ञपरिषद् सदस्यका रूपमा सेवा गरिसक्नुभएको छ । उहाँले राष्ट्रिय जनसांस्कृतिक मञ्चको महासचिव, उपाध्यक्ष हुँदै राष्ट्रिय जनुङ्गीत मञ्च, नेपालको अध्यक्ष भई काम गर्नुभएको छ । नेकपा एमाले केन्द्रीय संस्कृति विभागको सदस्यसमेत रहनुभएका उहाँद्वारा रचित गीतका पुस्तकहरू जनताका गीतहरू– भाग १, २, ३, ४ र ५ प्रकाशित छन् । यसै गरी उहाँका राष्ट्रियस्तरका अनेकौँ पत्रपत्रिका, जर्नल र स्मारिकामा अनेकौँ अनुसन्धानमूलक लेख/रचनाहरू प्रकाशित छन् । यसै गरी उहाँले विभिन्न समयमा सांस्कृतिक प्रस्तुतिका सिलसिलामा भारत, बङ्गलादेश, मलेसिया, श्रीलंका, थाइल्यान्ड, हङकङ, जापान, जर्मनी, अमेरिका, चीन लगायतका देशरूको भ्रमण गर्नुभएको छ ।