मुम्बईले कोलकातालाई हराएपछि हैदरावाद प्लेअफमा

मुम्बईले कोलकातालाई हराएपछि हैदरावाद प्लेअफमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २३, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत चालू सिजनको समूह चरणको अन्तिम खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि सनराइजर्स हैदरावाद प्लेअफमा पुगेको छ ।

हैदरावादको कोलकाता र किंग्स इलेभन पञ्जावसँग समान १२ अंक बराबरी भए पनि नेट रनरेटका आधारमा प्लेअफमा पुगेको हो । हैदरावादको नेट रनरेट ०.५७७ छ भने कोलकाता र पञ्जावको नेट रनरेट क्रमशः ०.०२८ र –०.२५१ छ ।

आइतबार राती मुम्बईले कोलकातालाई ९ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको १३४ रनको लक्ष्य मुम्बईले २३ बलअगावै १ विकेट गुमाएर पूरा गर्यो । मुम्बईका कप्तान रोहित शर्मा ५५ र सूर्यकुमार यादवले ४६ रन जोडे । प्रारभ्मिक ब्याट्सम्यान क्विन्टन डि कम ३० रनको योगदान दिए । उनी प्रसिद कृष्णाको बलमा विकेटकिपर तथा कप्तान दिनेश कार्तिकद्वारा समातिए ।

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३३ रनको झिनो योगफल तयार पारेको थियो । ‘डु एन्ड डाई’ रहेको खेलमा कोलकाताले सुुरुवात राम्रो गरे पनि त्यसपछि सम्हालिन सकेन । ६.१ ओभरमा ४९ रनको स्कोरमा शुभमान गिलको पहिलो विकेट गुमाएको कोलकाताले थप २४ बलमा चार विकेट गुमाएको थियो । १२.३ ओभरमा ७३ रनको स्कोरमा चालू सिजनमा सबैभन्दा खतरनाक देखिएका ब्याट्सम्यान आन्द्रे रसललाई गुमाएपछि कोलकाताले राम्रो स्कोर बनाउन सकेन र १३३ रनमा समेटियो ।

मुम्बईका लासिथ मालिंगाले तीन विकेट लिए । यस्तै, हार्दिका पाण्ड्या र जसप्रित बुमराहले समान दुई विकेट लिए ।

आइपिएल प्लेअफमा यसअघि नै मुम्बई इण्डियन्स, चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल पुगिसकेका छन् ।