टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई

टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ७, २०७८

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता फाउन्डेसनले २०७७ सालको पत्रकारिता पुरस्कारको घोषणा २०७८ भदौ ७ सोमबार गरिएको छ । फाउन्डेसनका तर्फबाट टङ्कप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशि दुई हजार अमेरिकी डलर  रहेको छ ।

तीन दशक अघिदेखि पत्रकारितामा रहनुभएका भण्डारी छापा माध्यमबाट पत्रकारिता सुरु गरेर हाल टेलिभिजनका चर्चित अन्तरवार्ताकारका रुपमा परिचित हुनुहुन्छ ।

सुशासन एवं भ्रष्टाचार विरुद्ध कलम चलाउने तथा श्रव्य दृष्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई सो पुरस्कारद्वारा सम्मानित गरिदै आएको छ । एक दशक अघि स्थापित यो पुरस्कारबाट जीवेन्द्र सिंखडा, तीर्थ कोइराला, रविन्द्र मिश्र, शिव गाउँले, हरिबहादुर थापा, राजन शर्मालगायत सम्मानित भइसक्नु भएको छ।

यस वर्ष तीर्थ कोइरालाको संयोजनमा वरिष्ठ पत्रकार जिवेन्द्र सिंखडा, शिव गाउँले तथा फाउन्डेसनका प्रतिनिधि रहेको पुरस्कार छनौट समिति गठन गरिएको थियो। 

अमेरिकामा रहेर व्यवसाय पेसामा संलग्न हेम पाठक र सरिता पाठकले फाउन्डेसनको स्थापना गर्नुभएको हो । टङ्कप्रसाद रमादेवी साधना पुरस्कार, टङ्कप्रसाद रमादेवी प्रोत्साहन पुरस्कार कोभिड १९ ले उत्पन्न गरेको असामान्य अवस्थाका कारण हाललाई स्थगित गरिएको र स्थिति सामान्य हुनासाथ पुन सुरु गरिने फाउन्डेसनले जनाएको छ। 

२०७७ को हेम सरिता सङ्गीत पुरस्कार र भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको घोषणा यस अघि नै भइसकेको छ । घोषित पुरस्कारहरू उपयुक्त समय मिलाएर छिटै हस्तान्तरण गरिने छ ।

फाउन्डेसनका अनुसार काठमाडौँको घुमारचोकस्थित  उग्रतारा माध्यमिक विद्यालयको १२ कोठाको  भवन निर्माण र छात्रवृत्तिमा पनि सहयोग गरी बन्द हुने अवस्थाबाट जोगाएर दश वर्ष पछि समुदायलाई हस्तान्तरण गरी सकिएको छ ।

सोही ठाउँका विपन्न परिवारको उत्थानका लागि करिब २० लाखको लागतमा आय आर्जनका काममा सघाउ पुर्‍याएको छ।  यसै गरी झापाका १२ विद्यार्थीलाई विद्यालय शिक्षामा र बाजुराका ३ जना छात्रछात्रालाई छात्रवृत्तिमा ओभरसियर सम्मको अध्ययनमा सहयोग गर्दै आएको छ।