त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली लाग्यो ओमान

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली लाग्यो ओमान

रासस  |  खेलकुद  |  भदौ ८, २०७८

ओमान र अमेरिकासितको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमानतर्फ प्रस्थान गरेको छ । १७ जना खेलाडीसहित २२ सदस्यीय टोली केहीबेरअघि त्रिभुवन विमानस्थलबाट सलाम एयरमार्फत ओमानका लागि उडेको हो ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहलगायतले बिदाई गरेका थिए । ज्ञानेन्द्र मल्लको कप्तानीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव सिरिज खेल्न ओमान गएका हुन् । 

टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशीभाइ गोहित रहेका छन् । ओमान सिरिज २८ भदौदेखि ४ असोजसम्म संचालन हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग २-२ खेल खेल्नेछ । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एक दिवसीय सिरिजअघि नेपालले यही २० र २३ भदौमा ओमानमा पपुवा न्युगिनीसित २ एक दिवसीय खेल खेल्ने तय भएको क्यानका अध्यक्ष चन्दले जानकारी दिए । 

विश्वकप लिग- २ मा नेपाल रहेको समूहमा पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् रहेका छन् । लिग- २ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । नेपालले ४ खेलमध्ये २ मा जीत तथा२मा हार बेहोर्दै ४ अंक जोडेको छ । नेपाल आफ्नो समूहको अंक तालिकाको छैटौँ स्थानमा छ । 

ओमान १० खेलमध्ये ८ मा जीत र २ मा हार बेहोर्दै १६ अंकसहित शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जीत र ६ मा हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्याण्ड ८ खेलमा ४ मा जीत र ३ मा हारका साथ ९ अंक जोड्दै तेस्रो स्थानमा छ । स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाका कारण रद्द भएको थियो । नामिबिया ७ खेलमा ४ मा जीत र ३ मा हार बेहोर्दै ८ अंकसहित चौथो स्थानमा छ ।
 
यसैगरी यूएई ७ खेलमा ३ मा जीत र ३ मा हारका साथ ७ अंक जोड्दै पाँचौँ स्थानमा छ । यूएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्युगिनी हालसम्म खेलेका ८ वटै खेलमा पराजित भएको छ । पपुवा न्युगिनी अंकविहीन बन्दै लिग- २ को पुछारमा छ । लिग- २ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एक दिवसीय खेल खेल्नेछन् । लिग- २ का शीर्ष ३ टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने एक दिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउनेछन् भने पुछारमा रहने ४ टोलीले प्लेअफ खेल्नेछन् ।