राष्ट्रिय महिला टोली घोषणा: प्रीतिसहित ७ खेलाडीको डेब्यू

राष्ट्रिय महिला टोली घोषणा: प्रीतिसहित ७ खेलाडीको डेब्यू
फाइल फोटो

रासस  |  खेलकुद  |  भदौ ८, २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार एन्फाले आगामी एएफसी महिला एसिया कप छनोट, २०२२ का लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ जना नयाँ खेलाडीलाई स्थान दिएका छन्, जसमा एपीएफबाट राष्ट्रिय लिग खेलेकी प्रीति राईसहित, निशा थोकर, रजनी थोकर, रश्मि घिसिङ, सविता राना, विमला बिक र सिर्जना सिंह रहेका छन् ।

अन्य खेलाडी भने पुरानै अनुहार छन् । यस पटक शर्मिला थापाले टोलीमा स्थान बनाउन सकिनन् । यस्तै, पहिलो चरणमा कोरोनाका कारण रेखा पौडेल टोली बाहिर रहिन् । यस्तै घुडाको शल्यक्रिया गरेकी स्ट्राइकर साबित्रा भण्डारी साम्बासमेत टोली बाहिर छन् ।

नेपाली टिमले छनोट खेलमा १८ सेप्टेम्बरमा फिलिपिन्सको सामना गर्नेछ । यस्तै, २१ तारिखमा हङकङको सामना गर्नेछ । यसअघि खेल नेपालमा हुने भनिए पनि कोरोना महामारीका कारण उज्वेकिस्तानमा सरेको छ ।

यस्तो छ नेपाली टिम:

गोलरक्षक: अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ ।

डिफेण्डर: अमृता जैशी, बिमल बिक, गीता राई, हीराकुमारी भुजेल, निशा थोकर, पूजा राना, पुनम जर्घा मगर, सिर्जना सिंह ।

मिडफिल्डर:  अनिता बस्नेत, दीपा राई, मन्जलीकुमारी योञ्जन, प्रीति राई, रजनी थोकर, रेनुका नगरकोटी, सविता राना ।

स्ट्राइकर: अनिता केसी, बिमला चौधरी, इन्दिरा राई, रश्मि घिरिङ, सरु लिम्बू ।