एमालेले तोक्यो मंसिरमा महाधिवशेन, असोजमा विधान महाधिवेशन

एमालेले तोक्यो मंसिरमा महाधिवशेन, असोजमा विधान महाधिवेशन

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ८, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ । 

माधव नेपालको नयाँ पार्टीमा नगएका १० जना नेतासहित मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । 

उनका अनुसार विधान महाधिवेशन असोज ४, ५ र ६ गते हुनेछ ।

नेकपा एमाले स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । पूर्वप्रधानमन्त्री मावधकुमार नेपाललाई छाडेका १० जना स्थायी कमिटी नेताहरूसहित बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

अब एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने बताइएको छ । १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरूको पूर्णता दिनेलगायत प्रयोजनका लागि ७ सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरू विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

बैठकले एमालेको पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारबाट अगाडि बढाउने निर्णय पनि गरेको छ । सदस्यता नवीकरण असोज मसान्तभित्र गरिने निर्णय भएको एक नेताले बताए ।

बैठकले १६-२० भदौसम्म जिल्ला र जनसंगठनहरूको भेला गर्ने पनि निर्णय गरेको छ । तर, त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।