डिप्रेशन रोगः नकारात्मक सोचले निम्त्याउँछ

डिप्रेशन रोगः नकारात्मक सोचले निम्त्याउँछ

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  दृष्टिकोण  |  बैशाख २३, २०७६

महाभारतको प्रसंगबाट कुरा सुरु गरौं । पाण्डवहरू वनबास भएका बेला तलाउको पानी खान खोज्दा युधिष्ठिरलाई यक्षले प्रश्न गरेका थिए– संसारमा सबैभन्दा छिटो के चल्छ ? 

युधिष्ठिरले जवाफ दिए– मन । 

युधिष्ठिरले भनेजस्तै यथार्थमा मन नै सबैभन्दा छिटो चल्छ । यो वेगका साथ दौडिरहन्छ । त्यसकारण यसलाई नियन्त्रणमा लिनु आफैमा गाह्रो छ । 

मनमा पलभरमै अनेक कुरा चल्छन्, कतिपय सकारात्मक त कतिपय नकारात्मक । तर, मनमा नकारात्मक कुरा खेल्न थाल्यो भने मानिसलाई मानसिक रोग लागेको हुनसक्छ ।

मानसिक रोग निम्त्याउन मनका तरंगमा आउने नकारात्मक सोचले प्रमुख भूमिका खेलेको हुन्छ । 

मानसिक रोगका विभिन्न प्रकार छन् । सबै किसिमका मानसिक रोगमा नकारात्मक सोचको प्रभाव बढी हुन्छ । 

मानिसमा जब नकारात्मक सोच हावी हुँदै जान्छ तब उसले अरुको रिस तथा डाह गर्ने, आफैसँग गुनासो मात्र गर्ने, आफूमा सधैं असन्तुष्टि प्रकट गर्ने गर्छ । यसले मानिसको सोचमा विस्तारै नकारात्मकता विकास हुन थाल्छ । र, यसले मानिसको दृष्टिकोण नै नकारात्मक बन्छ । समाज र समुदायमा जतिसुकै राम्रो काम भए पनि उसले ‘नराम्रो’ कामका रूपमा लिने र बुझ्ने गर्छ । र, उसमा मानसिक समस्या देखिन्छ । 
यस्तो सोचका मानिसमा उदासीनताको रोग (डिप्रेसन) देखा पर्छ । डिप्रेसन बढ्दै गएपछि बिरामीले आफूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन थाल्छ । उसलाई आफू सबैभन्दा निकम्मा र बेकारी खालकोे मान्छे भएको महसुस गर्न थाल्दछ । 

केही मानिसमा वंशाणुगत कारणले पनि डिप्रेसन हुन सक्ने कुरालाई नकार्न सकिँदैन । आमा–बुबामध्ये एक वा दुवै जनालाई डिप्रेसन भएको भए छोराछोरीमा पनि डिप्रेसन रोग लाग्न सक्ने सम्भावना अन्य परिवारको तुलनामा अली बढी हुन्छ ।

यस्तै, उसले आफूलाई माया गर्ने र हौसला दिने मानिस नभएको महसुस गर्छ । यद्यपि, उसलाई माया र हौसला दिने मानिसकोे कमी भने हुँदैन । 

बिरामीले आफ्नो कुनै सम्भावना नभएको र भविष्य अन्धकार भएको ठान्छ । बिरामीमा यस्तै सोचले विस्तारै जरा गाड्न थाल्छ । 

मानिसको मनमा नकारात्मक कुरा चलिरहन्छन् । यी कुरा एकैछिन वा एक–दुई दिन पनि चल्छन् । यसले मानिसलाई नरमाइलो हुने वा दिक्क लाग्न सक्छ । तर, केही दिनमा नकारात्मक सोच विस्तारै हराउने गर्छ । यो सामान्य प्रक्रिया हो । 

यस्तो सामान्य प्रक्रिया तथा केही समयका लागि मानिसको मनमा आउने नराम्रो विचारलाई चिकित्सा विज्ञानले डिप्रेसन रोगको रूपमा स्वीकार गर्दैन । 

डिप्रेसनको रोगबाट प्रभावित मानिस उदास भइरहने हुन्छ । तर, दुई हप्ताभन्दा बढी उदासीपन देखिएमा मात्र डिप्रेसन रोगका रुपमा चिकित्सा विज्ञानले मान्दछ । यो रोग लागेको मानिसले समयमा आफ्ना दैनिक क्रियाकलाप र पारिवारिक तथा सामाजिक जिम्मेवारी राम्रोसँग बहन गर्न सक्दैन । यस्तै, पेशा÷व्यवसाय वा घरको काम गर्न नसकी हानी नोक्सानी पु¥याइरहेको हुन्छ ।  

समयमा उपचार नभएको खण्डमा बिरामीले आत्महत्याको बाटो अवलम्बन गर्ने सम्भावना बढी रहन्छ । डिप्रेसनकै कारणले बिरामीले जागिर छोड्ने, चलिरहेको पसल बिक्री गर्ने, परिवारमा कलह निम्त्याउने, नियमित मदिरा सेवन गर्ने तथा लागुपदार्थको दुव्र्यसन गर्ने सम्भावना बढी हुन्छ । 

यो समस्या महिलालाई बढी देखिने गरेको विभिन्न अध्ययन र अनुसन्धानले देखाएका छन् । बच्चाको जन्म, हेरविचार तथा हुर्काउने अभिभाराको जिम्मेवारी गर्दा पनि जस नपाउँदा महिलामा डिप्रेसन देखिएको अध्ययनको निष्कर्ष छ । योबाहेक हर्माेनको कारणले पनि महिलामा डिप्रेसन समस्या बढी देखिने गर्छ । महिलामा फरक किसिमको हर्मोन हुन्छ, जुन पुरुषमा हुँदैन । त्यसको प्रभावले पनि महिला बढी डिप्रेसनबाट पीडित हुने गरेको पाइएको छ । 

डिप्रेसन सबै उमेर समूहका मानिसमा हुने रोग हो । तर, उत्पादनमूलक क्षेत्रमा काम गर्ने अर्थात् २०–४० वर्ष उमेर समूहका मानिसमा यो समस्या अलि बढी देखिने गरेको छ । यो उमेर समूहका मानिसले बढी तनाव झेल्नुपरेकाले पनि हुन सक्छ । यो उमेरमा पढाई तथा पारिवारिक तनाव, नोकरीमा आउने चुनौती र व्यवसायमा झेल्नु पर्ने प्रतिस्पर्धालगायत कारणले डिप्रेसनजस्तो गम्भीर प्रकृतिको रोग बल्झिन मलजल पुगेको हुनसक्छ  छ । 

डिप्रेसनको समस्या अविवाहित मानिसमा बढी देखिएको छ । एकल बसेका वा पारपाचुके गरेकालाई चाडो डिप्रेसनको सम्भावना हुने गरेको पाइएको छ । श्रीमान्–श्रीमतीको सम्बन्धमा गडबड भई छुट्टाछुट्टै बसेकाको समूहमा पनि डिप्रेसन अझ बढी देखिने गरेको छ । विधुर अथवा विधुवामा पनि डिप्रेसनको सम्भावना बढी हुन्छ । एकल बसेकालाई पारिवारिक सहयोग तथा माया ममताको कमी, सही सल्लाह र सुझाव दिने मान्छे अभावलगायत कारणले डिप्रेसन हुने सम्भावना हुन्छ । 

केही मानिसमा वंशाणुगत कारणले पनि डिप्रेसन हुन सक्ने कुरालाई नकार्न सकिँदैन । आमा–बुबामध्ये एक वा दुवै जनालाई डिप्रेसन भएको भए छोराछोरीमा पनि डिप्रेसन रोग लाग्न सक्ने सम्भावना अन्य परिवारको तुलनामा अली बढी हुन्छ । 

हालसम्मको अध्ययनले डिप्रेसनका बिरामीमा निम्न प्रकारका नकारात्मक सोच आउने निष्कर्ष निकालेको छ ।