समाजवादी पार्टीमा दुई अध्यक्ष, आठ उपाध्यक्ष र तीन महासचिव

समाजवादी पार्टीमा दुई अध्यक्ष, आठ उपाध्यक्ष र तीन महासचिव

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

काठमाडौँ । सत्तारुढ दल सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबिच एकीकरण भई समाजवादी पार्टीको घोषणा गरिएको छ ।समाजवादी पार्टी नेपालले दिएको जानकारी अनुसार उक्त पार्टीको अध्यक्षमा केन्द्रीय समितको अध्यक्षमा उपेन्द्र यादव र सङ्घीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराईले नेतृत्व गर्ने सहमति भएको छ ।

 त्यसै गरी पार्टीको वरिष्ठ नतेमा अशोककुमार राई, सह अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहनु भएको छ । उपध्यक्षहरुमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत,  हिसिला यामी र हेमराज राई रहनु भएको छ । 

महासचिवमा गङ्गा नारायण श्रेष्ठ, रण ध्वज कंन्दङवा र रामप्रसाद यादव राखिएको छ भने उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विक र प्रकाश अधिकारी रहनु भएको छ । 

अन्य पदाधिकारीहरूमा  सचिवमा मो. ईस्तियाक रायी, दुर्गा सोप, परशुराम बस्नेत र पशन्त सिंहलाई राखिएको छ भने कोषाध्यक्षमा विजयकुमार यादवलाई राखिएको छ ।    

सोमबार राजधानीको नेपाल प्राज्ञ प्रतिष्ठामा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबिच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गरी एकता भएको घोषणा गरिएको थियो ।  

एकतासम्बन्धी समझदारी पत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए  । उक्त  सहमति अनुसार  एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ । 

समाजवादी पार्टी नेपालले ११ प्रदेशको मागलाई संविधानको घोषणा पछि पहिलो पटक अघि सारेको छ सहमतिको लागि  दुई पार्टीबिच भएको ९ बुँदे सहमति पत्रको ५ नम्बर बुँदामा संविधान संशोधन गरी ११ प्रदेशको सङ्घीय संरचना बनाइनुपर्ने उल्लेख गरिएको छ ।  

सहमतिपत्रको बुँदा नम्बर ५ मा भनिएको छ, ‘हामी नेपाललाई साँचो अर्थमा सङ्घीय राज्य बनाउन प्रतिबद्ध छौँ । यसका निम्ति संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी ११ प्रदेशहरूको रचना गरिनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’

सहमतिपत्रमा नेपालका सबै अल्पसङ्ख्यक, सीमान्तकृत तथा राष्ट्रिय समुदायहरू मधेसी, आदिवासी जनजाति, शिल्पी, खस, मुस्लिम, थारुलगायतको सवालहरू सम्बोधन गरिनुपर्नेमा पनि जोड दिइएको छ ।