'मैले पार्टी फुटाउन अध्यादेश ल्याएको थिइनँ': केपी ओली

'मैले पार्टी फुटाउन अध्यादेश ल्याएको थिइनँ': केपी ओली

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ९, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू र अहिलेको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा धेरै भिन्नता भएको दाबी गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफू र शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको उद्देश्य, मनसाय, विधि, प्रक्रिया र नियतमा फरक भएको बताएका हुन् । पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले आफूले अध्यादेश ल्याउँदा कुनै पार्टी विशेषलाई फुटाउन नल्याएको तर अहिले एमाले फुटाउनकै लागि अध्यादेश ल्याइएको जिकिर गरे ।

अध्यादेश जारी गर्नु आफैंमा असंवैधानिक नभएको तर संसद अधिवेशन नचलेका बेला, अन्त्य भएका बेला वा संसद विघटन भएको अवस्थामा अध्यादेश आउन सक्ने तर त्यो देश र जनताका लागि हुनुपर्ने ओलीको भनाइ थियो ।

माधव नेपालसँग सोधेर नै २० प्रतिशतको प्रावधान राखिएको भन्दै ओलीले बरु माधव नेपालसँग जति जना सांसद संख्या पुग्छ, त्यति भए पुग्ने भनेर लेखेको भए हुन्थ्यो, त्यसमा उहाँहरु अल्मलिनुभएछ भन्दै व्यंग्य गरे ।