रहेनन् मदनका प्रिय गायक जेबी टुहुरे

रहेनन् मदनका प्रिय गायक जेबी टुहुरे

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ १०, २०७८

गायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको छ ।

गत १ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याए पनि उनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो ।

मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापलगायतका दीर्घरोग भएका कारण उनको शल्यक्रिया हुन नसकेको अस्पताल स्रोतले बताएको छ ।

विक्रमको २०१० को दशकदेखि नै गीत गाउन थालेका टुहुरेले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए । उनको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई', 'बसाइँ हिँड्नेको ताँतीले'लगायत गीत निकै चर्चित र लोकप्रिय छन् । उनका १५० वटाभन्दा बढी गीत रेकर्ड भएका छन् ।

दोस्रो संविधानसभा सदस्यसमेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलिका लागि आज दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

जेबी टुहुरे पञ्चायतकालीन समयमा जनवादी गायकका रूपमा परिचित थिए । उनले गाएका गीत पञ्चायती कालरात्रिविरुद्ध आन्दोलनको आवाज बने, राज्यबाट शोषित र उपेक्षित किसान र मजदुरको आवाज बन्यो । उनी आफ्ना गीतमा असमानताले थिचिएका विपन्नको आवाज बनाउँथे । त्यसैले पनि सबैले उनलाई मनपराएका हुन् ।

सरल र सहज स्वभावका टुहुरे सधैँ सत्ताका विरोधी रहे । सत्तामा पुगेपछि आफ्नै साथीहरू पनि परिवर्तन हुने उनको भनाइ थियो । उनले दिएका धेरै अन्तर्वार्तामा यस्ता कुरा आउँथे । तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसँग टुहुरे धेरै नजिक थिए । २०४६ सालको परिवर्तनपछि पनि टुहुरे मदनको निवासमा गइरहन्थे ।