स्वास्थ्य राज्यमन्त्रीज्यू! अमेरिका र पेरुबाट सिक्नुहोस्, स्थिति भयावह हुनबाट रोक्नुहोस्

स्वास्थ्य राज्यमन्त्रीज्यू! अमेरिका र पेरुबाट सिक्नुहोस्, स्थिति भयावह हुनबाट रोक्नुहोस्

ज्ञानमित्र  |  दृष्टिकोण  |  भदौ १०, २०७८

पृथ्वीको कुनै कुनामा पेरु भन्ने देश छ । नेपालभन्दा झन्डै ८ गुणा ठूलो पृथ्वीको यस भूभागको क्षेत्रफल १२ लाख ८५ हजार २१६ वर्गकिलोमिटरले यसलाई  विश्वको १९ नम्बरको ठूलो देश बनाउँछ ।

३ करोड ४२ लाख ९४ हजार २३१ जनसंख्याका साथ यो विश्वको ४४  नम्बरको धेरै जनसंख्या भएको देश बनेको छ  । न क्षेत्रफल, न जनसंख्या, न सामरिक शक्ति र न त अन्य कुनै पनि आधारमा पेरु विश्वको नम्बर एकमा पर्छ ।

तपाईं यदि यस्तो सोच्नुहुन्छ भने यो ठीक होइन । पेरु अहिले एउटा कुरामा विश्वको नम्बर एक देश बनेको छ । कुनै पनि देशका नागरिक एवं सरकारले यसबारे पेरुसँग प्रतिस्पर्धा गर्ने कुरा त के कल्पनासम्म सायदै गर्छन् । कुरा र कल्पना त टाढै जाओस्, उनीहरू आआफ्ना प्रभुसँग विन्ती गरिरहेका छन्- हे नाथ ! हामीलाई यस्तो अवस्थामा पुग्नु नपरोस् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिने क्रममा पेरु पनि पुग्यो । पेरुको कोरोनामिटर हेरौँ । पछिल्लो तथ्यांकअनुसार यहाँको कुल जनसंख्या ३ करोड ३४ लाख ९८ हजार ३३५ मध्ये २१ लाख ४३ हजार ६९१ जना कोरोना संक्रमित भएका छन् । यो भनेको कुल जनसंख्याको ६.३९ प्रतिशत हो । 

पेरुमा पछिल्लो जानकारीअनुसार कुल १ करोड ६४ लाख ८४ हजार ६८ कोरोना परीक्षण गरिएका छन् ।  सम्पन्न परीक्षणमध्ये २१ लाख ४३ हजार ६९१ जना संक्रमित आउनुको अर्थ संक्रमण दर १३ प्रतिशत हुनु हो । पेरुमा प्रति १० लाख परीक्षण हुँदा ६३ हजार ९९४ जनामा संक्रमण पुष्टि भइरहेको छ ।    

पेरुमा कुल जनसंख्याको झण्डै ४९ प्रतिशत कोरोना परीक्षणको दायरामा आइसकेका छन् । त्यहाँ प्रति १० लाख मानिसमा ४ लाख ९२ हजार ८६ जनाको कोरोना परीक्षण गरिएको छ ।

कोरोना संक्रमण भएर सर्वाधिक संख्यामा मृत्यु हुने देशहरूको तालिकामा अमेरिका अग्रपंक्तिमा रहेको छ । यहाँ मृतक संख्या ६ लाख ४९ हजार ६५४ पुगेको छ । ब्राजिल ५ लाख ७६ हजार ७३० अंक लिएर दोस्रो नम्बरमा, ४ लाख ३६ हजार ३९६  संख्याका साथ भारत तेस्रो नम्बरमा, २ लाख ५४ हजार ४६६  हताहत संख्याका साथ मेक्सिको चौथो नम्बरमा र पेरु १ लाख ९७ हजार ९४४ जना नागरिकको ज्यान गुमाएर पाँचौँ नम्बरमा  रहेको छ ।

कोरोना संक्रमण भएर १ लाखभन्दा बढी मृत्यु बेहोर्ने देशहरूमा रूस अगाडि छ । रूसमा १ लाख ७८ हजार ४२३, बेलायत १ लाख ३२ हजार ३,  इन्डोनेसिया १ लाख २९ हजार २९३, इटाली १ लाख २८ हजार ९१४, कोलम्बिया १ लाख २४ हजार ४७४, फ्रान्स १ लाख १३ हजार ६६५, अर्जेन्टिना १ लाख १० हजार ९६६ र इरान १ लाख ४ हजार २२ ले ज्यान गुमाएका छन् ।

सबैभन्दा पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमित संख्या २१ करोड ४६ लाख ८९ हजार ९१४ पुगेको छ । यसमध्ये ४४ लाख ७५ हजार ३२३ जनाको मृत्यु भएको छ । विश्वमा कोरोनाको मृत्यु दर २.०८ प्रतिशत रहेको छ ।

सबै देशको मृत्यु दर फरक फरक रहेको छ । पहिला चर्चा गराँै नेपालको मृत्यु दरबारे । कुल संक्रमित ७ लाख ५२ हजार ८६३ मध्ये १० हजार ६१२ जनाको निधन भएको छ । नेपालमा कोरोना लागेर भएको मृत्यु दर १.४० रहेको छ । वैश्विक मृत्यु दरको तुलनामा नेपालको मृत्यु दर कम रहेको छ । 

अमेरिकामा मृत्यु दर १.६६ प्रतिशत रहेको छ । भारतमा मृत्यु दर १.३४ प्रतिशत रहेको छ ।

गत २४ घन्टामा विश्वभर ७ लाख ७ हजार २०९ जना नयाँ कोरोना संक्रमित भेटिए । यस अवधिमा मृतक संख्या ११ हजार ७६ रह्यो । अमेरिकामा नयाँ संक्रमित संख्या १ लाख ६५ हजार ४७३ तथा मृतक संख्या १ हजार २६१ रह्यो । 

इन्डोनेसियामा मृतक संख्या १ हजार ४१, मेक्सिकोमा ९४०, ब्राजिलमा ९०१, रूसमा ८०९, इरानमा ६६५, भारतमा ६०८, दक्षिण अफ्रिकामा ५१६ जनाको मृत्यु भयो । नेपालमा ४४ जनाको मृत्यु हुँदा विश्वका १२२ वटा देशमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि भयो ।

कोरोना संक्रमण भएर मृत्यु दर बढी हुने देशमा पेरु सर्वोच्च स्थानमा रहेको छ । पेरुको ४९ प्रतिशत जनसंख्या वा १ करोड ६४ लाख ६४ हजार ६८ जनामा परीक्षण हुँदा २१ लाख ४३ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ । पेरुमा परीक्षण गरिएकामध्ये १३ प्रतिशत व्यक्ति पोजिटिभ देखिएका छन् । 

अमेरिकाको कुल जनसंख्या ३३ करोडमा अहिलेसम्म ५७ करोड ३५ लाखभन्दा बढी परीक्षण संपन्न भएका छन् । झण्डै जनसंख्याको दोब्बर परीक्षण हुँदा अमेरिकामा परीक्षण गरिएकामध्ये ३ करोड ९१ लाख ५० हजार ९८५ जना संक्रमित भेटिएका छन् । यो भनेको कुल जनसंख्याको ११ प्रतिशत संक्रमित देखिनु हो ।

अमेरिकामा प्रति १० लाख परीक्षणमा १ लाख १७ हजार ४८९ संक्रमित देखिएका छन् । प्रति १० लाख संक्रमितमा मृतक संख्या १ हजार ९५० रहेको छ । भारतमा भने प्रति १० लाख मानिसमा ३ लाख ६६ हजार २९१ जना परीक्षणको दायरामा आएका छन् ।  यहाँ प्रति १० लाख परीक्षणमा २३ हजार ८२९ जना संक्रमित देखिएका छन् । प्रति १० लाख संक्रमितमा मृतक संख्या ३१३ रहेको छ ।

नेपालमा भने ३८ लाख ५९ हजार १५ परीक्षण संपन्न भएका छन् । यो भनेको कुल जनसंख्याको जम्मा १२ प्रतिशत हुन आउँछ  । अहिलेसम्म नेपालमा संक्रमित संख्या ७ लाख ५२ हजार ८६३ रहेको छ । परीक्षणमध्ये संक्रमण दर १९ प्रतिशत रहेको छ ।  अचम्म त के भने, अहिले पनि दिनहुँ हुने परीक्षणमा संक्रमण दर यति नै कायम छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा पहिलो खोप लिएको संख्या ४९ लाख ५६ हजार ४५५ एवं पूर्ण मात्राको खोप लिएकाको संख्या ३९ लाख ९ हजार ९४१ पुगिसकेको छ । तर, संक्रमण दर भने पुरानै कायम छ । तथ्यांकले खोपले संक्रमण दर नघटाएको स्पष्ट देखाउँछ ।

नेपालमा प्रति १० लाख मानिसमा १ लाख २९ हजार ७७१ मानिस परीक्षणको दायरामा आएका छन् । प्रति १० लाख परीक्षणमा २५ हजार ३१७ मानिसमा संक्रमण पुष्टि भएको छ । प्रति १० लाख संक्रमितमा मृतक संख्या ३५७ रहेको छ ।

उपत्यकाका ३ वटै जिल्लामा सक्रिय संक्रमित संख्या १० हजारभन्दा बढी हुँदा र यहाँ रहेका अधिकांश अस्पतालका  अधिकांश आईसीयू र भेन्टिलेटर कक्ष भरीभराउ हुँदा राज्यको यस विषयमा चासो झण्डैझण्डै शून्य बराबर जस्तै छ । उसो त, सरकार प्रमुखले मन्त्रीमण्डललाई नै पूर्णता दिन सकेका छैनन् अरू आस पो के गर्ने ?

पेरुको तथ्यांकले निश्चय पनि सातो उडाउँछ । आफ्नो जनसंख्याको झण्डै आधालाई परीक्षणको दायरामा ल्याइसकेको पेरु कोरोना संक्रमणबाट सबैभन्दा बढी हताहत हुने देशमा पर्छ । त्यहाँ प्रति १० लाख व्यक्तिमा ४ लाख ९२ हजार ८६ जना संक्रमणको दायरामा आएका छन् । प्रति १० लाख  परीक्षणमा  ६३ हजार ९९४ जना संक्रमित भेटिएका छन् । प्रति  १० लाख संक्रमितमध्ये पेरुमा मृतक संख्या ५ हजार ९०९ रहेको छ । 

एक पटक फेरि पढ्नुहोस्, पेरुमा अहिलेसम्म संक्रमित संख्या  २१ लाख ४३ हजार ६९१ पुगेको छ । यसमध्ये १ लाख ९७ हजार ९४४ जनाको निधन भएको छ । यो भनेको पेरुमा मृत्यु दर ९ प्रतिशतभन्दा माथि हुनु हो । 

पेरुको उपलब्ध अन्तिम दिनको तथ्यांकअनुसार त्यहाँ ४१ हजार ३५१ परीक्षण हुँदा १ हजार १२६ जनामा संक्रमण पुष्टि भएको छ र मृतक संख्या २३ रहेको छ ।

नेपाल, भारत र अमेरिकामा मृत्यु दर १.३४ देखि १.६५ प्रतिशत र विश्वमा मृत्यु दर २.०८ प्रतिशत हुँदा पेरुमा मृत्यु दर ९.२  प्रतिशत हुनुबाट नेपाल जस्ता देशले गम्भीर मनन गर्नुपर्ने हो । नेपालमा झण्डै ३० प्रतिशत मानिसलाई (एउटा अथवा दुवै डोज गरेर) खोप लगाइसकिएको छ । भारतमा यो प्रतिशत झण्डै ४२ रहेको छ । पेरुमा भने यो प्रतिशत झण्डै ५३ रहेको छ ।

संसारभरका तीव्र भ्याक्सिनेसन भएका देशहरूमा कोरोनाको नयाँ भेरिएन्टले ब्रेक थ्रु केसमा उल्लेखनीय वृद्धि गरेको छ ।  दुवै डोज भ्याक्सिन लगाइसकेका देशहरूले तेस्रो बुस्टर डोजको प्लानिङ गरिरहेका छन् । कोरोनाका ब्रेक थ्रु केसमा मृत्यु दर कति छ, यसबारे कसैले सामान्य चासोसम्म दिएका छैनन् ।

झण्डै ७० प्रतिशत भ्याक्सिन लगाइसकेको अमेरिकामा दैनिक  १ लाख ६५ हजार ४७३ नयाँ संक्रमित आउनु तथा मृतक संख्या १ हजार २६१ देखिनुले पनि नेपालका प्रधानमन्त्रीले खोप, खोप, खोपको गीत गाउनु कति सान्दर्भिक होला ? संक्रमण प्रसार रोक्न उचित कदम नउठाए स्थिति नियन्त्रणबाहिर जाने लक्षण देखिइसकेका छन् ।

नेपालमा पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ९ हजार ७११ पीसीआर परीक्षण हुँदा १ हजार ८६२ नयाँ संक्रमित भेटिएका छन् । यो भनेको संक्रमण दर १९ प्रतिशत हुनु हो । जुन देशमा संक्रमण दर १९ प्रतिशत रहेको छ, त्यहाँ जम्मा ९ हजार ७११ परीक्षण हुनु दुर्भाग्यपूर्ण हो । दैनिक परीक्षण संख्या ४०-४५ हजार नपुर्‍याए रोम जलिरँदा बाँसुरी बजाएर मस्त रहने नीरोको हालत हुन सक्दैन हाम्रा शासकको ?

उपत्यकाका ३ वटै जिल्लामा सक्रिय संक्रमित संख्या १० हजारभन्दा बढी हुँदा र यहाँ रहेका अधिकांश अस्पतालका  अधिकांश आईसीयू र भेन्टिलेटर कक्ष भरीभराउ हुँदा राज्यको यस विषयमा चासो झण्डैझण्डै शून्य बराबर जस्तै छ । उसो त, सरकार प्रमुखले मन्त्रीमण्डललाई नै पूर्णता दिन सकेका छैनन् अरू आस पो के गर्ने ?

स्वास्थ्य राज्यमन्त्री अलिअलि सक्रिय देखिए पनि विषयसम्बन्धी फिटिक्कै ज्ञान नहुँदा उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी ‘बाँदरको हातमा नरिवल’झैँ भइरहेको छ । स्वास्थ्य राज्यमँत्रीज्यू, एउटा मात्र तथ्यांकमा नजर लगाइहेर्नुहोस् त ! झण्डै ७० प्रतिशत भ्याक्सिनेसन भइसकेको अमेरिकामा १ लाख ६५ हजार ४७३ नयाँ संक्रमित आउनुले के भ्याक्सिनले संक्रमण नरोक्ने प्रमाणित हुँदैन र ? अहिलेसम्म झण्डै ३० प्रतिशतलाई मात्र खोप पुगेको नेपालमा दैनिक २०-२५ हजारलाई खोप दिएर तपाईं संक्रमण रोक्ने सपना देख्दै हुनुहुन्छ ! 

मन्त्रीज्यू, खोप संक्रमणविरुद्ध सुरक्षा प्राप्त हुने उपाय हो, कोरोना संक्रमण रोक्ने उपाय होइन । कम्तीमा अमेरिकाको घटनाबाट नै ज्ञान लिनुहोस् । भ्याक्सिन वितरणमा तीव्रता ल्याउनुका साथै संक्रमणको चेन रोक्ने प्रभावी पाइला चाल्नुहोस् ।

हिजो नेपालमा देखिएका १ हजार ८६२ नयाँ संक्रमित र हिजोको मृतक संख्या ४४ को अनुपात थाहा छ, के भन्छ ? यो भनेको मृत्यु दर २.३६ प्रतिशत पुग्नु हो । यो भनेको नेपालमा रहिरहेको मृत्यु दरमा १ प्रतिशतको वृद्धि हुनु हो ।

सिधा हिसाब छ मन्त्रीज्यू, एक जना व्यक्तिलाई संक्रमण पुष्टि हुनुभन्दा पहिला ऊ घरपरिवार, इष्टमित्र गरी झण्डै २० जनाको सम्पर्कमा आएको हुन्छ । हिजो नेपालमा १ हजार ८६२ नयाँ संक्रमित देखिँदा आज कम्तीमा त्यसको २० गुणा अर्थात् ३७ हजार २४० जनालाई ट्रेसिङ गरी परीक्षणको दायरामा ल्याउनुपर्ने हुन्थ्यो । 

यतिको व्यापक ट्रेसिङ गरी परीक्षण नबढाएसम्म तपाईंबाट कोरोना संक्रमणलाई लिएर गरिएका कुनै पनि गतिविधिले संक्रमण रोक्ने दिशामा कुनै उपलब्धि हात लाग्दैन ।