एमाले बैठक: माधव नेपालसँग जानेलाई कारबाही, निर्वाचन आयोगविरुद्ध उपचार खोज्ने

एमाले बैठक: माधव नेपालसँग जानेलाई कारबाही, निर्वाचन आयोगविरुद्ध उपचार खोज्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १०, २०७८

एकीकृत समाजवादीमा गएका नेताहरूलाई निश्कासन गर्ने एमालेको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नेकपा (एकीकृत समाजवादी)मा गएका नेताहरूलाई पार्टीबाट निश्कासन गरेको छ ।

एमाले केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले अलग दल दर्ता गर्न गएका नेताहरूलाई निश्कासन गर्ने निर्णय गरेको हो ।

कसैले भुल महसुस गरेर फर्किए एकताको ढोका खुला राख्ने निर्णय पनि बैठकले गरेको छ । पार्टी विधानमा निश्कासन भएको व्यक्ति २ वर्षसम्म सदस्य हुन नपाउने भए पनि अहिले एकतामा फर्किए स्वीकार गरिने उल्लेख छ ।

यससँगै माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालतमा जाने भएको छ ।

बैठकले निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

पार्टीले काबराही गरेर सूचना दिइसकेका व्यक्तिहरूलाई समेत गणना गरेर सनाखत गराएको, अनुपस्थित व्यक्तिको पनि सनाखत गर्नुका साथै हस्ताक्षर नगरेका व्यक्तिहरूको समेत सनाखत गरिएको एमालेले जनाएको छ ।

पार्टीले कारबाही गरेर पत्र पठाएपछि सांसदहरूलाई पदमुक्त गरेको सूचना नटाँस्नु सभामुखको गल्ती भएको पनि एमालेले बताएको छ ।

केन्द्रीय कमिटीको बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै तत्काल कार्यान्वयनमा लैजाने निर्णयसमेत गरेको छ । प्रदेश र र मातहतका कमिटीहरूलाई २ जेठ २०७५ पूर्वको अवस्थामा लैजान प्रदेश समन्वय कमिटीले समन्वय गर्ने पनि बताइएको छ ।

जनसंगठनलाई २ जेठ २०७५ पूर्वको अवस्थामा लैजान महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र टोपबहादुर रायमाझी सम्मिलित कार्यदल बनाइएको  छ ।