डा. बिन्दु शर्मा: गुरु र साथीहरूमाथि आक्रोश पोख्दापोख्दै साहित्यकार/समालोचक
भदौ १२, २०७८

समालोचनामा कलम चलाउने थोरै महिला हस्ताक्षरमध्येको एक नाम हो, डा. बिन्दु शर्मा । ‘महिलाहरूले समालोचनामा कलम चलाउन सक्दैनन्’ भन्ने एउटा लैंगिक विभेदयुक्त हाम्रो सामाजिक चेतलाई उहाँले राम्रै चुनौती दिनुभएको छ । 

समालोचना मात्र नभएर कथा, कविता तथा गजलका क्षेत्रमा समेत कलम चलाउँदै आउनुभएका शर्मा प्राध्यापनमा समेत संलग्न हुनुहुन्छ । 

महिलाहरू आफूले आफैँलाईसंकुचनको घेरामा सीमित राखेर घरभित्रै रुमल्लिइरहेका अवस्थामा साहित्य तथा प्राध्यापनमा अगाडि आएर उहाँले आफूलाई समाजमा उदाहरणीय र प्रेरक व्यक्तित्व बनाउनुभएको छ ।  

जन्म र बाल्यकाल

उहाँको जन्म २०३३ सालमा दाङको उरहरी गाविसमा भएको हो । हालको भने तुलसीपुर उपमहानगरपालिका । उहाँको परिवारभित्र खासै लैंगिक विभेद थिएन । त्यस कारण भाइहरूसँगै मोजामा झुम्रो कोचेर भकुण्डो खेल्ने, प्लास्टिक पोलेर गुच्चा बनाएर खेल्ने, रूख चढ्ने, पौडी खेल्नेजस्ता प्रशस्त काम भए बच्चामा । ‘काँक्रा चोर्ने पनि गरियो तर पाङ्ग्रा भने गुडाइएन’, उहाँ भन्नुहुन्छ । 

उहाँका एक भाइ तथा एक बहिनी । उहाँ भने घरकी जेठी छोरी । ठूलोबुबाका छोराछोरी अर्थात् उहाँका दाजुभाइ, दिदीबहिनी धेरै भएका हुनाले बाहिर अरूसँग खेल्न जानुपर्ने अवस्था रहेन । परिवारकै सदस्यको ‘कोरम’ हरेकजसो खेलका लागि पुग्ने अवस्था थियो ।

बस्ती बाक्लो नभएका कारण पनि खेल्ने अरू साथी रहेनन् । खेल्न साथी खोज्दै जाँदा पनि १० मिनेट लाग्ने । पहाडी परिवार खासै धेरै थिएन । त्यस कारण पनि अन्त त्यति दोस्ती नजमेको रहेछ अरूसँग बिन्दुको ।

पारिवारिक अवस्था

उहाँको परिवार मध्यम वर्गीय परिवार हो । आमा भने पूर्ण रूपमा गृहिणी । बुबा किसान । घर दाङ । खेतीपाती अधियाँमा थियो । यसले गर्दा खान, लगाउन दुःख थिएन । 

२ वटा भैँसी र ४-५ वटा बाख्रा पनि थिए । यसले परिवारको आर्थिक हिसाबमा केही मद्दत गथ्र्यो । कृषि उपज बजारमा लगेर बेच्दा भने नुन-तेलको गर्जो टथ्र्यो । 

प्रारम्भिक शिक्षा

ब्राह्मण भए पनि उहाँको परिवार जजमानी गर्ने परिवार होइन । त्यस कारण पनि घरमै संस्कृत अथवा रामायण पढ्ने भन्ने वातावरण भएन । यस कारण पनि उहाँको प्रारम्भिक शिक्षा आधुनिक विद्यालयबाट नै सुरु भयो । 

घरमा रामायणको किताब त थियो तर उहाँहरू रामायणको पुस्तक भने सचित्र भएका कारण चित्र हेर्नका लागि मात्र पल्टाउने गर्नुहुन्थ्यो । 

कस्सिएर हिँड्दा २०-२५ मिनेटको पैदल दूरीमा थियो विद्यालय- अमर माध्यमिक विद्यालय । विद्यालयको अवस्था एकदम दयनीय थियो । उहाँहरू १० कक्षा पुग्दासम्म पनि दुईतिर खुट्टा ठोकेको लामो फल्याक हालेको बस्ने बेञ्च थियो । डेस्क भने अझै थिएन । 

४ कक्षासम्म भने उहाँहरूले विद्यालयमा घरबाटै बस्ने चकटी र गुन्द्री लैजानुपथ्र्यो । पछि मुढाको व्यवस्था भयो । बेञ्च भने अझ पछि । 

एउटा कक्षामा झण्डै ५०-६० जना विद्यार्थी हुन्थे । छात्राहरू भने १० जनाजति मात्र । स्थानीय आदिवासीका रूपमा चिनिएका थारू छात्राको सहभागिता भने विद्यालयमा नगण्य हुन्थ्यो । थारू पुरुष साथीहरू पढ्नमा तेज थिए । उहाँको कक्षाको ‘फस्ट ब्वाइ’ नै चौधरी साथी थिए । 

छात्रा साथीमा एक जना सानी चौधरीलाई उहाँ सम्झनुहुन्छ । फूलबारी दाङबाट एक घण्टा लगाएर हिँडेर उहाँ विद्यालय आउनुहुन्थ्यो । त्यतिबेला नदीमा पुल थिएन । 

विद्यालय आउँदा पोटीकोट बाँधेर, टाउकोमा किताब र लुगा बाँधेर अनि खोलावारि लुगा सुकाएर आउने गर्नुहुन्थ्यो । पछि फर्किंदा त्यही पेटीकोट लगाएर तरेर जानुहुन्थ्यो । त्यस किसिमको कहालीलाग्दो दुःख थियो पढ्नका लागि त्यसबेला । उहाँलाई सम्झना रहेसम्म थारू छात्रामा पढाइमा निरन्तरता दिने भनेको उहाँ नै हो । 

शिक्षा त्यसबेला पनि निःशुल्क थिएन । एक पटक २ महिनाको ५० रुपैयाँ तिरेको सम्झना छ उहाँलाई । त्यस हिसाबले महिनाको २५ रुपैयाँ थियो शुल्क । त्यस कारण पनि थारू समुदायका छात्राहरू पढ्न नआएको हुनुपर्छ भन्ने लाग्छ उहाँलाई । 

८-९ कक्षामा प्रथम हुने छात्रहरू पनि एसएलसी दिने बेलासम्म हराइसक्थे । अर्को भनेको सांस्कृतिक कारण पनि थियो । एक जना थारू छात्रको ८ कक्षा पढ्दै गर्दा उनका दाइको निधन भयो । दाइको निधन भएपछि भाउजूको उनीसँग विवाह भयो । त्यसपछि उनी लाजले विद्यालय नै आएनन्, जबकि उनी पढाइमा प्रथम हुने विद्यार्थी थिए । 

बिन्दु भने औसत विद्यार्थी । त्यसबेला कक्षा चढ्नका लागि उत्तीर्ण र उत्तारित भन्ने व्यवस्था थियो । उत्तीर्ण भनेको आफ्नै बलबुतामा पास हुने अनि उत्तारित भनेको केही नम्बर थपिदिएर कक्षा चढाइएको । उहाँ कहिल्यै पनि उत्तारितमा पर्नुभएन । 

उहाँको उमेर १० कक्षा पढ्दा १५ वर्षको थियो । अरू केटी साथीहरू भने उहाँभन्दा ५ वर्ष जेठा थिए । केटा साथीहरू पनि त्यस्तै उमेरका । त्यसै हिसाबले पनि सानै हुनुहुन्थ्यो उहाँ कक्षामा । 

केटाहरूले उहाँलाई फुच्ची भन्ने हिसाबले पनि जिस्क्याउँदैनथे । ‘बरु केटाहरूसँग कुटाकुट नै हुन्थ्यो । जिस्क्याउने भन्ने नै भएन’, उहाँ भन्नुहुन्छ । 

अरू साथीहरूको भने ‘यसले यसलाई चिठी पठायो रे !’ भन्ने उहाँले पनि नसुनेको होइन, तर उहाँहरूको भने त्यस्तो रहेन । 

उहाँले सचेत भएर उक्त कविता लेखेको होइन । ‘के लेखेको भन्ने पनि थाहा थिएन । तर, सर र साथीहरु माथि आक्रोश पोखिएको थियो । कविता बनेछ, साहित्यतर्फ प्रवेशको बाटोको’, उहाँ भन्नुहुन्छ । 

उहाँको विद्यालय भनेको दाङमै पनि गएगुज्रेकै जस्तो थियो । त्यस कारण अतिरिक्त क्रियाकलाप त शून्यप्रायः नै थियो । एसएलसीमा पनि विद्यालय कति वर्ष निल भएको थियो । उहाँको घरमा बस्ने गुरुले एक पटक कक्षामा वादविवाद गराउनुभएबाहेक अरू कुनै अतिरिक्त क्रियाकलाप भएको उहाँलाई थाहा छैन । 

एक पटक बहुदल आइसकेपछि स्ववियु गठन गर्नका लागि काठमाडौंबाट विद्यार्थी नेताहरू उहाँको विद्यालयमा पुगेर भाषण गरेका थिए । उहाँहरूको अर्को अतिरिक्त क्रियाकलाप भनेको त्यही नै थियो । 

उहाँले २०५० सालमा एसएलसी दिनुभएको हो । उहाँको त्यो 'ब्याच'मा झण्डै ३०-३५ जना थिए होलान् भन्ने अनुमान गर्नुहुन्छ । तर, केवल ४ जना थिए पास हुनेमा । उहाँ त्यसमा पर्नुभएन अर्थात् उहाँ अर्को वर्ष मात्र पास हुनुभयो । 

एसएलसीपछि उहाँ अध्ययनका लागि तुलसीपुर आउनुभयो । परिवारमा छुट्टी भिन्न भएकाले अझै उदार वातावरण थियो । त्यस कारण पनि उहाँलाई तुलसीपुरमा आएर एक्लै डेरा लिएर पढ्न समस्या भएन । 

उहाँ तुलसीपुर आएर राप्ती बबई क्याम्पसमा आईए पढ्न थाल्नुभयो । भर्खरभर्खर खुलेको कलेज भएको हुनाले ८०-९० जनासम्म पनि हुन्थे कक्षामा । कलेजको आफ्नो भवन थिएन । महेन्द्र माध्यमिक विद्यालयको भवनमा संचालन भएको थियो कलेज । लगभग दाङभरिका विद्यालयको एसएलसीको सेन्टर हुने विद्यालय हो त्यो । 

कलेज पढ्दाताका भने विद्यालयमा नजिस्क्याएको सबै निस्कने गरी जिस्क्याए केटाहरूले । कोठामा एक्लै बसेका कारण साथीहरू कोठामै आउलान् भनेर भागेर हिँड्नु पर्ने अवस्था पनि आयो । अर्को एक जना फुपूसँग सँगै बसेकी छु भन्ने देखाउनुपर्ने अवस्थासम्म आइपरेको बताउनुहुन्छ बिन्दु । 

साहित्यमा प्रवेश

उहाँको साहित्यको प्रवेश भने अलिक नराम्रो घटनाबाट भएको बताउनुहुन्छ । कुरा कक्षा ९ मा पढ्दाताकाको हो । नेपालीमा एउटा कथा पढ्नुपथ्र्यो- मसिनेको शंका । 

कथामा मसिनेले आफ्नी श्रीमती परपुरुषसँग लागेको शंका गर्छ । एक दिन गुरुले यो कथा पढाइसकेपछि उहाँहरू बेञ्चमै बसेर यतिकै मुखैले यो कथाको नाट्य रूपान्तरण गर्दै हुनुहुन्थ्यो । त्यो खाजा समय थियो । 

खाजा समय सकिएर साथीहरू भित्र आए । केटा साथीहरूले उहाँहरूले नाटक गरेको देखेर ‘यी रण्डीहरू’ शब्द प्रयोग गरे । 

उहाँहरूको केटाहरूसँग झगडा पर्‍यो । यतिकैमा गुरु पनि प्रवेश गर्नुभयो । गुरुले ‘के भयो ?’ भनेर सोधेपछि उहाँहरूले सबै बताउनुभयो । तर, गुरुले ‘तिमीहरूलाई त्यति भनेर के सानो हुन्छौ ?’ भन्नुभयो । 

अरू साथीहरू चुप लागे तर उहाँ भने सरसँग कराउनुभयो । कराउँदा कराउँदै उहाँलाई रुन आएछ । 

त्यस कुरालाई लिएर गुरुले उहाँसँग ‘इगो’ राखेको उहाँ बताउनुहुन्छ । घण्टी लाग्न नपाई हतारहतार कक्षामा आउने र उहाँ बाहिर परेका खण्डमा छिर्नै नदिने गर्न थाल्नुभयो गुरुले । उहाँलाई यो कुराले अलिक बढी नै चित्त दुखेछ । उहाँले यसलाई आफ्नो साथीको कापीमा कविताको रूपमा उतार्नुुभयो । 

करिब एक महिनापछि साथीका दाजुले उनको कापी हेर्दा त्यो कविता कसले लेखेको भनेर सोध्नुभएछ । साथीले उहाँको नाम लिएपछि ‘राम्रो छ, लेख्न नछोड भन्नू’ भनेको कुरा उहाँलाई साथीले आएर भन्नुभयो । यो नै उहाँको साहित्य प्रवेशको मूलद्वार भएको उहाँ सुनाउनुहुन्छ । 

उहाँले सचेत भएर उक्त कविता लेखेको होइन । ‘के लेखेको भन्ने पनि थाहा थिएन । तर, सर र साथीहरु माथि आक्रोश पोखिएको थियो । कविता बनेछ, साहित्यतर्फ प्रवेशको बाटोको’, उहाँ भन्नुहुन्छ । 

आईए पढ्दा भने उमेरले पनि होला, प्रेमपूर्ण र भावुक कुराहरू मनपर्ने । बसमा लेखिएका साहित्य पनि मनपर्ने । यतिकैमा केही मुक्तक जन्मिए, अनुप्रास मिलाउने कोसिससहित । 

कविता छपाउने प्रसंग पनि चल्यो साथी खुमा न्यौपानेसँग । न्यौपानेका कविता अलिक चेतनामूलक थिए । उहाँका भिनाजु पनि माओवादी विद्रोहसँग नजिक । त्यसैले न्यौपानेको कविता भोलिपल्टको स्थानीय पत्रिकामा छापियो । 

तर, बिन्दुको कविता भने छापिएन । ‘सायद चेतनामूलक थिएन अनि अलिक सस्तो भावुकता पनि थियो कि !’, उहाँ भन्नुहुन्छ ।  

विवाह

विवाह हुँदा उहाँ २२ वर्षकी हुनुहुन्थ्यो । पढ्दै गरेको भए पनि विवाहका लागि छिटै राजी हुनुभयो । कारण रहेछ, उहाँको विवाहको कुरा पल्लो गाउँको बीएस्सी फरेस्ट्री गरेको राम्रै केटोसँग भएको रहेछ । 

बुबाआमालाई भने नजिकै छोरी दिन पाए हुन्थ्यो भन्ने लागेको तर, उहाँलाई भने नजिकै के विवाह गर्नु भन्ने लाग्ने । 

यताको कुरोबाट उम्कन पनि भानिजदाइले ल्याएको कुरो उहाँले स्वीकार गर्नुभएको रहेछ । तर, विवाह नगरी पढाइ पूरा गर्ने भनेर पनि उहाँले नभन्नुभएको होइन । 

‘त्यतिको पढेलेखेको केटोले तैँले नभने पनि आफैँ पढाउँछ’ भनेर परिवारका सदस्यले भनेपछि उहाँ राजी हुनुभएको रहेछ विवाह गर्न । 

उहाँको विवाह साहित्य र समालोचना अनि प्राध्यापनकै क्षेत्रमा सक्रिय डा. नेत्र एटम (नेत्रमणि सुवेदी)सँग भयो । उहाँहरू दुवै जना नेपाली साहित्य र समालोचनाका क्षेत्रमा स्थापित र सुपरिचित हुनुहुन्छ । अझ रमाइलो संयोग त के भने उहाँहरू अर्थात् बिन्दु र नेत्रले अघिल्लो दिन र भोलिपल्ट विद्यावारिधि पूरा गर्नुभएको हो ।

विद्यावारिधिको मौखिक वा भाइभामा पनि रमाइलो भएछ । भएछ के भने, नेत्रले त्रिभुवन विश्वविद्यालयबाट र बिन्दुले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको हो । नेत्रको आन्तरिक मूल्यांकनको काम सकिएको रहेनछ तर बिन्दुको अगाडि नै सकिएको रहेछ । 

अब भाइभा आफ्नो अगाडि हुनेमा बिन्दु ढुक्क हुनुहुँदोरहेछ । तर, नेत्रको अघिल्लो दिन, बिन्दुको भोलिपल्ट मात्र भयो भाइभा ।

यसमा ‘पुरुषवाद’ हावी भएको भन्दै ठट्टैठट्टामा बिन्दुले थोरै असन्तुष्टि जनाउनुभयो । यसको कारण रहेछ- दुवै जनाका निर्देशक र सहनिर्देशक उही व्यक्ति । दुवै जनाका निर्देशक प्रा.डा. महादेव अवस्थी, सहनिर्देशक प्रा.डा. कृष्णहरि बराल । उता, त्रिविका अनुसन्धान निर्देशक पनि डा. दयाराम श्रेष्ठ, नेसंविका पनि श्रेष्ठ नै । अनि, एकै दिन वा अघिल्लै दिन हुनुपर्ने बिन्दुको भाइभा निर्देशक, सहनिर्देशक, दुवै विश्वविद्यालयका अनुसन्धान निर्देशकसमेत एउटाको भाइभामा मात्र बस्न संभव भएकाले अन्ततः बिन्दुको भाइभा भोलिपल्ट सारेर अघिल्लो दिन नेत्रको गरिएछ ।

हाल उहाँको एक जना छोरा हुनुहुन्छ । उहाँ बीबीए पढ्दै हुनुहुन्छ । 

काठमाडौं यात्रा

विवाह भइसकेपछि बीए पढ्न उहाँ काठमाडौं आउनुभयो । काठमाडौं सुनेको मात्र थियो पहिले, आउनुभएको भने थिएन । 

तुलसीपुरबाट गाडी चढेर आउनुभयो । कलंकीमा झर्नुभयो । खासै ठूला घर अनि ठूलो बाटो र सफा सुग्घर पनि लागेन रे काठमाडौं उहाँलाई । 

बिक्रम टेम्पो चढेर बल्खु पुगेर झन् गल्लीको बाटोबाट कोठा छिर्दा त ‘छिः काठमाडौं पनि यस्तो रैछ ! बरु योभन्दा त हाम्रो तुलसीपुर धेरै राम्रो’ भन्ने लागेको रहेछ उहाँलाई । 

उहाँले बीए पद्मकन्या कलेजबाट पास गर्नुभयो । कलेज त खासै जानुभएन तर यता साहित्य लेखनका काम भने अलिअलि भए पनि चल्दै नै थिए । 

समय सकिसकेका कारण उहाँ त्रिविमा एमए भर्ना हुन पाउनुभएन । एमए भर्ना भने रत्नराज्यलक्ष्मी क्याम्पसमा गर्नुभयो । तर, नजिक भएको हुनाले कक्षा भने त्रिविमै लिनुभयो । 

उहाँले नेपाली पढ्छु, पढाउँछु अनि साहित्यमा कलम चलाउन सजिलो पनि हुन्छ भनेर नेपाली पढ्नुभएको होइन । बीएमा उहाँको समाजशास्त्रमा ‘ब्याक’ लागेका कारण यसरी भएन भनेर उहाँले नेपाली रोज्नुभएको रहेछ । 

‘गीतकार कृष्णहरि बरालः सिर्जना र समालोचना’ विशेषांक प्रकाशन गर्दैथ्यो तन्नेरी प्रकाशनले । त्यसमा नै ‘परिष्कृत सौन्दर्य चेतनाका गीतकार कृष्णहरि बराल’ शीर्षकमा समालोचना लेख्नुभएको थियो उहाँले । 

अर्को कारण भने समाजशास्त्र पढ्यो भने काम गर्ने भनेको ‘प्रोजेक्ट’मा हो, जसका लागि काठमाडौंबाहिर जानुपर्ने अनि विवाहित तथा बच्चा पनि सानो भएकाले त्यो संभव नहुने देखेपछि पनि उहाँले समाजशास्त्र नपढ्नुभएको रहेछ । 

अर्को भनेको नेपाली पढ्दा अनिवार्य विषय भएकाले पढ्न, पढाउन जतासुकै पाइने हुनाले पनि उहाँ नेपालीतिर लोभिनुभएको सुनाउनुहुन्छ । 

पढाउँदाको अनुभव

उहाँ पहिलो पटक कलेज पढाउन जाँदा ३० वर्षकी हुनुहुन्थ्यो । कद पनि सानोसानो । 

आरआर क्याम्पस, जुन नेपालकै ठूलो मानविकी क्याम्पस मानिन्छ, यहाँ झण्डै डेढ सय विद्यार्थी थिए होलान् कक्षामा । कक्षामा त केही भएन तर कलेजको ढोकाबाट छिर्दा भने विद्यार्थीसँग नारिएर छिर्नुपर्ने भएपछि भने उहाँले साडी लगाउन थाल्नुभयो । 

यसले गर्दा भोलिपल्टदेखि विद्यार्थीले उहाँलाई ‘यो म्याम हो’ भनेर बाटो छाडिदिन थाले । साडीलाई त्यसपछि उहाँले निरन्तरता दिई नै रहनुभयो ।  

साहित्यिक प्रकाशन तथा सम्पादन

प्रा.डा. कृष्णहरि बराल र उहाँहरूबीच पारिवारिक सम्बन्ध जस्तै थियो । उहाँको घरमा आइरहनुहुन्थ्यो अनि पढेका कुरालाई, मनमा लागेका कुराहरूलाई यसरी लेख्ने भनेर सिकाउनुहुन्थ्यो । 

समालोचनाका लागि पात्र विधान, परिवेश विधान, शिल्प यसरी लेख्ने भनेर सिकाउनुभएको थियो डा. बरालले । यस अर्थमा पनि उहाँ कृष्णहरि बराललाई आफ्नो समालोचनाका गुरु मान्नुहुन्छ ।

‘गीतकार कृष्णहरि बरालः सिर्जना र समालोचना’ विशेषांक प्रकाशन गर्दैथ्यो तन्नेरी प्रकाशनले । त्यसमा नै ‘परिष्कृत सौन्दर्य चेतनाका गीतकार कृष्णहरि बराल’ शीर्षकमा समालोचना लेख्नुभएको थियो उहाँले । 

बीए पढ्दै गर्दा ‘कौशिकी’ तथा ‘मिर्मिरे’मा उहाँका गीत पनि छापिए । यो २०५६ सालको कुरा हो । 

हाल भने उहाँ गीत, समालोचना र कविता लेख्नुहुन्छ ।

उहाँको पहिलो कृति २०६२ सालमा ‘गीति नाट्य परंपरामा राष्ट्रकवि घिमिरे’ थियो । त्यसपछि २०६५ सालमा उहाँको ‘आधारभूत नेपाली समालोचना’ कृति आयो । 

उहाँले ‘नेपाली गीति नाटकका प्रवृत्ति’ विषयमा विद्यावारिधि पनि गर्नुभएको छ । 

यसै बीचमा तन्नेरी प्रकाशनले प्रकाशन गर्दै गरेका भानुभक्त, भीमनिधि तिवारी तथा विश्वेश्वरप्रसाद कोइरालाका विशेषांकको पनि उहाँले सम्पादन गर्नुभयो । 

२०७३ सालमा ‘गीति नाटकः स्वरूप र प्रवृत्ति’ शीर्षकमा विद्यावारिधिको शोधसँग सम्बन्धित उहाँको अर्को कृति प्रकाशन भयो । 

२०७४ सालमा प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित पुस्तक ‘समकालीन प्रगतिवादी कथा’को उहाँले सम्पादन गर्नुभयो । त्यस्तै, २०७५ सालमा ‘नेपाली समालोचनाका नवीन आयाम’ शीर्षकमा समालोचनासंग्रह र ‘ओकल दोकल पीपल पात’ कवितासंग्रह प्रकाशन गर्नुभयो । 

‘समकालीन नेपाली कवितामा समावेशीकरण’ शीर्षकमा २०७७ सालमा प्रज्ञाप्रतिष्ठानबाट अर्को पुस्तक प्रकाशन भएको छ । 

यसरी हेर्दा उहाँका समालोचनका ५ वटा कृति, कवितासंग्रह एक र ४ वटा सम्पादन गरी १० वटा कृति प्रकाशन भएका छन् । 

‘ओकल दोकल पीपल पात’ कवितासंग्रह मदन पुरस्कारका लागि प्रस्तावित सूचीमा परेको कृति पनि हो । 

समालोचनामा सायद कमै मानिसले मात्र कलम चलाउने भएर हो कि किन हो, समालोचनाका लागि उहाँलाई अनुरोध नै आउँथे । तर, कविता भने राम्रो लेख्दालेख्दै पनि कसैको अनुरोध आएन । त्यस कारण पनि उहाँको कविता कृति ढिलै निस्कियो । 

कविताका लागि भने ‘तपाईंको किताब छाप्नुपर्‍यो’ भनेर कोही आएन अनि ‘मेरो किताब छापिदेऊ न’ भनेर उहाँ कतै जानुभएन पनि । यस कारण पनि उहाँलाई कमैले कविको रूपमा चिन्छन् । 

तर, जब उहाँको ‘ओकल दोकल पीपल पात’ कवितासंग्रह मदन पुरस्कारको प्रस्तावित सूचीमा पर्‍यो, त्यसपछि भने उहाँलाई पनि मानिसले कविको रूपमा चिने र कवितासंग्रह पनि राम्रै बिक्यो । 

उहाँको यो कृति २ वटा प्रकाशकबाट अस्वीकृत भएर आएको हो । बल्ल तेस्रो प्रकाशकले मात्र प्रकाशन गरेको सुनाउनुहुन्छ उहाँ ।

मदन पुरस्कारमा प्रस्तावित सूचीमा नपरुन्जेल उक्त कृति त्यति बिकेको पनि थिएन । अब प्रकाशकलाई अर्को बिक्ने कुनै कथा कृति दिएर भरपाइ गराउने उहाँको सोच थियो तर प्रस्तावितमा परेपछि भने राम्रै बिक्री भएको प्रकाशकले उहाँलाई जानकारी गराएको बताउनुहुन्छ । 

सम्मान तथा पुरस्कार

उहाँले २०७२ सालमा युवा तथा खेलकुद मन्त्रालयबाट युवा प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँ २०६१ सालमा मोती जयन्तीमा त्रिविमा भएको गजल प्रतियोगितामा पनि प्रथम हुनुभएको थियो । 

जसराज किराती प्रतिभा पुरस्कार- २०७५ अनि संस्कृति मन्त्रालयबाट प्रदेश ५ को प्रादेशिक प्रतिभा पुरस्कार पनि प्राप्त गर्नुभएको छ बिन्दुले ।