श्रीलंकाबाट ६ सय विदेशी नागरिक निस्कासित

श्रीलंकाबाट ६ सय विदेशी नागरिक  निस्कासित

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

शृंखलावद्ध आतंकी बम विस्फोटपछि श्रीलंका सरकारले दुई सय मुस्लिम धर्मगुरुका साथै ६ सय विदेशी नागरिकलाई देशबाट निश्कासित गरेको छ ।
कोलम्बो । आतंकी बम विस्फोटको घटनापछि श्रीलंका सरकारले ६ सय विदेशी नागरिकलाई देशबाट निष्कासित गरेको छ ।

निष्कासित गरिनेमा दुई सय मुस्लिम धर्म गुरु (मौलवी) छन् ।

श्रीलंकाका सहमन्त्री वाजिरा अभयवर्दनेका अनुसार यी मौलवीले कानुनी रूपमा भिसा लिएर श्रीलंका प्रवेश गरेका थिए । तर, भिसा अवधि समाप्त हुँदा पनि यिनीहरूले श्रीलंका छाडेनन् । बम विस्फोटको घटनापछि जाँच गर्दा यिनीहरू श्रीलंकामा अवैध ढंगले रहेको पाइयो । त्यसैले यिनीहरूलाई जरिवाना गरेर देश निकाला गरियो ।

सहमन्त्रीले यसबारे थप जानकारी दिँदै भने, ‘वर्तमान स्थितिलाई मध्यनजर गरी हामीले आफ्नो भिसा प्रणालीको समीक्षा गर्दै यसलाई थप कडा बनाउने निर्णय गरेका छौं ।’
श्रीलंका सरकारले धार्मिक उपदेशकलाई भिसा दिन अझ कडाई गरिने निर्णय गरेको छ ।

सहमन्त्रीले निष्कासित विदेशी नागरिक कुन–कुन देशका भन्नेबारे केही खुलाएनन् । प्रहरीले भने बंगलादेश, भारत, मालदिभ्स र पाकिस्तानका नागरिकले ‘ओभर स्टे’ गरेको बताएका छन् ।

श्रीलंकामा एक दशकदेखि विदेशी धार्मिक उपदेशकको आवागमन तीव्र भएको छ । देशभर च्याउसरि धार्मिक संस्था खोलिएका छन् ।

आजबाट विद्यालय सञ्चालन

आत्मघाती हमलाको झण्डै दुई सातापछि आजबाट श्रीलंकाका विद्यालय सञ्चालन भएका छन् । हमलालगत्तै श्रीलंकाका विद्यालय बन्द गरिएको थियो ।
देशका सबै विद्यालयमा सुरक्षाको प्रबन्ध गरिएको छ भने विद्यालय छेउछाउ पार्किङ निषेध गरिएको छ ।