रक्ष राई | साहित्य | भदौ १२, २०७८
सबभन्दा धेरै रोएर सबभन्दा धेरै खुसी हुनु रहेछ
सबभन्दा धेरै दुखेर सबभन्दा धेरै सुखी हुनु रहेछ
सम्झिन्छु,
काँडाहरु टेक्दै साइतमा हिंडेको खोलाझैं
लखेट्दै आउने आफ्नै छायाँको हात समातेर देश छोड्नेबेला
कति प्यारा हुँदा रहेछन् आफूले हिंडेका मूलबाटा र गोरेटाहरु
कति आत्मिय हुँदा रहेछन् आफूले नाघेका बारीका कान्ला र खेत गह्राहरु
कति प्रेमीला हुँदा रहेछन् आफूले छाडेका खोलानालाहरु
र कति अमुल्य हुँदा रहेछन् आफूले टेकेका धुला र माटाहरु।
सम्झिन्छु,
बिहानको घामले डोर्याएर नानीहरुलाई स्कुल पुर्यायो होला
मध्यान्हको गर्मीले ठूलाघरेको मेलामा निछाम्माको पसिना खसायो होला
एकले साँझ निर्जन आँगनमा खसेर निछाम्माको खोकी बढायो होला
नाङ्गो खुट्टा तुषारो टेक्दै आउने बूढीआमा जस्तो बिहान देखेर
नानीहरु सिकुवामा निस्केलान् -आमा, घाम आयो... घाम !
- तपाईको खोकी निको होला....
कहिले बग्ला ? दिखुवा जस्तो दुखियाको दुख्ख
कहिले बग्ला ? खोइ ! कहिले बग्ला !
सम्झिन्छु,
साँच्ची नै आफूले टेकेका पाइलाहरु आफैदेखि टाढा -टाढा पुग्दारहेछन्
साँच्ची नै स्मृतिका सिंयालहरु आफ्नै छायाँभन्दा गाढा- गाढा हुँदारहेछन्
साँच्ची नै देश छाडेपछि सबथोक छाडिदारहेछन् ।।
बेलायत।