नेपाल प्रज्ञा–प्रतिष्ठान : ४६ वर्षपछि ‘पूर्वीय काव्यसिद्धान्त’को दोस्रो संस्करण  प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठान : ४६ वर्षपछि ‘पूर्वीय काव्यसिद्धान्त’को दोस्रो संस्करण  प्रकाशित

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १३, २०७८

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘पूर्वीय काव्यसिद्धान्त’को दोस्रो संस्करण प्रकाशित भएको छ । पौरस्त्य काव्यशास्त्रका विद्वान् प्राध्यापक गोविन्दप्रसाद भट्टराईद्वारा लिखित उक्त ग्रन्थ पहिलो संस्करण प्रकाशित भएको ४६ वर्षपछि दोस्रो संस्करणका रूपमा प्रकाशित भएको हो । उक्त ग्रन्थको पहिलो संस्करण वि.सं. २०३१ सालमा प्रकाशित भएको थियो ।

पाठकहरूबाट अत्यधिक माग भइरहेको अवस्थामा पूर्व प्रकाशित तर हाल आएर अप्राप्य अवस्थामा रहेका पुस्तकहरूको पुनः प्रकाशन गर्ने नीतिअनुसार नेपाल प्रज्ञा–प्र्रतिष्ठानले ‘पूर्वीय काव्यसिद्धान्त’को दोस्रो संस्करण प्रकाशन गरेको हो । पूर्वीय काव्यशास्त्रका बारेमा अध्ययन–अनुसन्धान गर्न चाहनेहरूका लागि ‘पूर्वीय काव्यसिद्धान्त’ एक महत्त्वपूर्ण ग्रन्थका रूपमा आएको छ । 

पूर्वीय साहित्य सिद्धान्तका विशिष्ट विद्वान् महाकाव्यकार प्रा.गोविन्दप्रसाद भट्टराईको जन्म वि.सं १९६७ मा सिन्धुलीमा भएको थियो । उहाँको देहान्त वि.सं. २०४२ सालमा भएको थियो । भट्टराई अर्को प्रसिद्ध ग्रन्थ ‘भरतमुनिको नाट्यशास्त्र’को अनुवादकसमेत हुनुहुन्छ ।

३६४ पृष्ठको ‘पूर्वीय काव्यसिद्धान्त’को मूल्य रु. ४०० रहेको छ । उक्त पुस्तक प्रज्ञा–प्रतिष्ठानको विक्री कक्ष र आधिकारिक विक्रेताकहाँ उपलब्ध छ ।