चेतन कार्की प्रतिष्ठान स्थापना : अध्यक्षमा नायिका मिथिला शर्मा

चेतन कार्की प्रतिष्ठान स्थापना : अध्यक्षमा नायिका मिथिला शर्मा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ १६, २०७८

काठमाडौँ । वरिष्ठ गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीको नाममा  १४ भदौ २०७८ मा 'चेतन कार्की प्रतिष्ठान' स्थापना गरिएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी श्रीमती गंगा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो । 

वरिष्ठ चलचित्रकर्मी नायिका मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा वरिष्ठ चलचित्रकर्मी एवं लेखक मोहन निरौला, महासचिवमा कवि मुरारि सिग्देल, कोषाध्यक्ष र सहकोषाध्यक्षमा चेतन कार्कीका सुपुत्र द्वय पारस कार्की  र पंकज कार्की रहेका छन् । 

प्रतिष्ठानको तदर्थ समितिको सदस्यहरूमा क्रमशः साहित्यकार राधेश्याम लेकाली, नायक रवीन्द्र खड्का र कवि दिव्य गिरी रहेका छन् ।

१९९५ सालमा बहाँटारी थुम, स्याङ्जामा जन्मिएका चेतन कार्कीको नेपाली साहित्य तथा चलचित्रका क्षेत्रमा अविस्मरणीय योगदान रहेको छ । चन्द्रमाया कार्की तथा जुद्धवीर कार्कीका सुपुत्र चेतन कार्कीको बाल्यकाल भारतको देहरादूनमा बितेको थियो । चेतन कार्कीले निर्देशन गरेको पहिलो चलचित्र 'विश्वास'हो भने 'भुमरी' दोस्रो तथा 'पहिलो प्रेम' अन्तिम हो । 

यसैगरी परिवर्तन, आत्मा बेचेको छैन, हनिमून, ढलेको गिलास जस्ता उपन्यासहरू तथा कल्पना टूट चुकी है (कविता, हिन्दी-उर्दू)सहित जून निदाउन थाल्यो (कविता र गीतिसंग्रह), माया प्रीतिको चोखो कथा (गीतसंग्रह), हत्केलाले सधैँभरि सूर्य छेकिँदैन (मुक्तकसंग्रह), हो देश मेरो पनि (गजलसंग्रह), बसिबियाँलो (कथासंग्रह), दिल जिगर के टुकडे (उर्दू बयाज) आदि रचनामार्फत नेपाली साहित्य तथा चलचित्रका क्षेत्रमा योगदान पुर्‍याएका छन् । 

कार्कीको पहिलो नाटक ;आत्मा बेचेको छैन' हो भने पहिलो उपन्यास पनि 'आत्मा बेचेको छैन' नै हो । यसैगरी पहिलो गीत संगीत महर्षि नातिकाजीको संगीतमा तारा देवी र भुवन थापा चन्दको स्वरमा रहेको 'दाइलाई बोलाऊँ भने लेक स्वर पुग्दैन, बोलाइरन हुँदैन' हो । 

२०१७ सालदेखि नै नेपाली रंगमंचमा प्रवेश गरेका कार्की चलचित्रमा भने २०२५ सालदेखि आवद्ध भएका हुन् । चेतनले रचना गरेका दर्जनौँ गीतहरू अत्यधिक लोकप्रिय छन् । तीमध्ये 'तीजको रहर आयो बरी लै' सर्वाधिक लोकप्रिय गीत हो । चेतनले 'माया प्रीति', 'कान्छी', 'कन्यादान'सहित थुप्रै फिल्महरूका लागि गीत रचना गरेका छन् । 

यस्तै, शाह वंशको इतिहास, शिक्षाको उज्यालो, मेरो सपना, पृथ्वीनारायण शाह, बुढो चौतारी, मेरो कर्तव्य  के ?लगायत दर्जनौं नाटकहरू पनि नेपाली साहित्यलाई दिएका छन् उनले  । 

प्रतिष्ठानको कार्यालय चेतन कार्कीको ललितपुरस्थित घरमा रहनेछ । यसैगरी चेतन कार्कीद्वारा स्थापना गरिएको हीरासिंहको नामको पुरस्कारलाई निरन्तरता दिने तथा चेतन कार्कीको नाममा सम्मान र पुरस्कारको स्थापना गर्ने, चेतनका प्रकाशित पुस्तकहरू र सम्मानपत्रहरूको संरक्षण गर्ने र अप्रकाशित कृति र रचनाहरूको प्रकाशन गर्नेजस्ता उदेश्यले प्रतिष्ठानको स्थापना गरिएको समेत जनाइएको छ ।