'बाँके कांग्रेसमा पनि विवाद छ, समाधानसहित पहिलो चरणमा अधिवेशनमा सहभागी हुनेछौँ'

'बाँके कांग्रेसमा पनि विवाद छ, समाधानसहित पहिलो चरणमा अधिवेशनमा सहभागी हुनेछौँ'

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  भदौ १६, २०७८

वीरेन्द्रबहादुर शाह नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य एवं नेपाल तरुण दलका बाँके जिल्ला अध्यक्ष हुनुहुन्छ ।२०४२ सालमा नेपालगंजको मंगलप्रसाद माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि उच्चशिक्षा अध्ययन गर्न भारतको लखनऊ जानुभयो र लखनऊस्थित जयनारायण इन्टर कलेजबाट आईएस्सी उत्तीर्ण गर्नुभयो । 

२०४६ सालको जनआन्दोलनमा काठमाडौंमा सक्रिय रहेसँगै उहाँ राजनीतिमा लाग्नुभयो । नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसबाट इतिहास र राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नुभयो । 

२५ चैत २०२६ मा जन्मिनुभएका उहाँ करिब २ दशकदेखि नेपाली कांग्रेसका विभिन्न संगठनमा सक्रिय हुनुहुन्छ । निरन्तर बाँके तरुण दलको संगठन र नेतृत्वमा रहेर काम गरिरहनुभएको छ उहाँले ।

पटक पटक सर्दै आएको नेपाली कांग्रेसको महाधिवेशनको पछिल्लो कार्यतालिका प्रभावित भए पनि वडा तहका अधिवेशन भने सुरु हुने संभावना बढेर गएको छ । नेपाली कांग्रेसको आसन्न महाधिवेशन, जिल्ला अधिवेशन र त्यसको सेरोफेरोमा रहेर नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य एवं नेपाल तरुण दलका बाँके जिल्ला अध्यक्ष वीरेन्द्रबहादुर शाहसँग गरिएको समसामयिक कुराकानी प्रस्तुत छ:

तपाईंको राजनीतिमा झुकाव र प्ररम्भ कसरी भयो ?

निकै महत्त्वपूर्ण सवालबाट कुराकानी सुरु गर्नुभयो । म भारतको लखनऊबाट आईएस्सीको अध्ययन सकेर घर फर्किएको थिएँ । त्यति नै बेला थप अध्ययनका लागि काठमाडौं पुगेँ, जतिखेर २०४६ सालको आन्दोलन चर्किएको थियो । म त्रिचन्द्रमा भर्ना भएको थिएँ । त्रिचन्द्र कलेजमा कांग्रेस निकट नेपाल विद्यार्थी संघको अगुवाइमा आन्दोलनहरू भइरहन्थे । म पनि त्यही आन्दोलनमा सहभागी भएँ ।

मेरो राजनीतिको सुुरुवात त्रिचन्द्र कलेको विद्यार्थी आन्दोलनबाट नै भएको हो । त्यसयता मैले अन्तर्राष्ट्रिय 'सोसलिष्ट' आन्दोलनका दस्ताबेज अनि नेपालमा भइरहेको राजनीतिक गतिविधिलाई नजिकबाट बुझ्न थालेको हुँ । खासगरी शीतयुद्धको अन्त्यपछिको विश्व समुदायको अवस्थाका बारेमा पुस्तकहरू अध्ययन पनि गर्न थालेँ । सरसर्ती भन्नुपर्दा मेराे राजनीति यसरी सुरु भएको हाे । 

पार्टीभित्रको केही स्थानमा रहेको विवादलाई हामीले समाधानको बाटोमा लैजान पहल गरिरहेका छौँ । सम्भवतः छिट्टै निकास निस्कन्छ । जहाँसम्म अधिवेशनको पहिलो चरणमा बाँके सहभागी हुन्छ कि हुँदैन भन्ने कुरा छ नि, आशा गरौँ- सहभागी हुनेछौँ ।

नेपाली कांग्रेसको महाधिवेशनको मिति पटक पटक सारपएको छ । जिल्लामा अधिवेशनकाे तयारी के कसरी गरिरहनुभएको छ नि ?

हो, संगठनभित्रका केही विवादसँगै कोभिड महामारीका कारण हाम्रो पार्टीको महाधिवेशनको तालिका फेरिएको हो । तर, संगठन चलायमान नै छ । हामी हाम्रा गतिविधिलाई नियमित रूपमा अघि बढाइरहेका पनि छौँ ।

के नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुने हो त यो पटक ? यदि त्यसो हो भने विश्वास गर्ने आधारहरू केके छन् ?
 
म पार्टीको निर्णय अक्षरशः मान्ने कार्यकर्ता हुँ । पार्टीका श्रद्धेय सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिले गरेको निर्णय नै महाधिवेशन हुने मुख्य आधार हो । सत्य कुरा हो, पहिल्यै हुनुपर्ने थियो तर विभिन्न कारणले हुन सकेन ।

बाँके जिल्ला पनि विवादको सूचीमा छ भन्ने सुनिन्छ, यो अवस्थामा पहिलो चरणमै अधिवेशनको प्रक्रियामा बाँके सहभागी हुने संभावना छ र ?

पार्टीभित्रको केही स्थानमा रहेको विवादलाई हामीले समाधानको बाटोमा लैजान पहल गरिरहेका छौँ । सम्भवतः छिट्टै निकास निस्कन्छ । जहाँसम्म अधिवेशनको पहिलो चरणमा बाँके सहभागी हुन्छ कि हुँदैन भन्ने कुरा छ नि, आशा गरौँ- सहभागी हुनेछौँ ।

तपाईं त स्व. सुशील कोइरालाको गृहजिल्लामा कांग्रेस विभाजनमा पनि नेपाली कांग्रेस प्रजातान्त्रिकको धार पक्रेर बस्नुभयो । यतिबेला धार वा प्यानलको लडाइँमा कता हुनुहुन्छ नि ?

निकै गंभीर सवाल राख्नुभयो । वास्तवमा म विधि र प्रक्रियाबाट पार्टी चल्नुपर्छ भन्ने मान्यता राख्छु । आदरणीय स्व. सुशील कोइरालासँग मेरो सधैँ राजनीतिक सम्बन्ध रह्यो । उतिबेला शेरबहादुर देउवाजीले विधि र प्रक्रियाका लागि जुन अडान लिनुभयो, म त्यो कुरामा सहमत थिएँ । 

पार्टी विभाजन हुँदा पनि म शेरबहादुर दाइकै लाइनमा थिएँ र निरन्तर अहिलेसम्म पनि छु । संगठन पार्टीको विधान र कार्यकर्ताको भावनाअनुसार चल्नुपर्छ भन्ने नै मेरो आधिकारिक लाइन हुन्छ ।

आसन्न जिल्ला अधिवेशनमा तपाईंको उम्मेदवारी कुन पदमा हुनेछ ?

अधिवेशनको प्रक्रिया सुरु हुन दिऊँ । नेता तथा कार्यकर्तासँग छलफलमै छु । जिल्ला सदस्य भइसकेकाले अब यो पटक क्षेत्रीय सभापतिमा लड्नुपर्छ भन्ने साथीभाइहरूले अनुरोध गरिरहेका छन् । आन्तरिक छलफल भइरहेको छ ।

संगठनमा युवा नेतृत्वबाट कार्यकर्ताहरूले निकै ठूलो अपेक्षा गरेका छन् । तपाईं यो विषयलाई कसरी सम्बोधन गर्न सक्नुहुन्छ ?

अत्यन्तै सान्दर्भिक विषय उठाउनुभयो । वास्तवमा अग्रजको अनुभवलाई सँगालेर युवाको ऊर्जालाई भरपूर प्रयोग गर्नुपर्छ । त्यसका लागि सेरेमोनियल पदमा सिनियर नेताहरूलाई सम्मानका साथ राख्दै कार्यकारी पदमा युवालाई समेट्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैगरी पब्लिक चुनावमा सिनियर र युवाहरूको सम्मिश्रण गरेर लैजानुपर्छ ।

संगठनको चुनाव हो, गुट र उपगुटको प्रभाव त रहला । केन्द्रको जस्तै समूह बन्ने हो त बाँकेमा पनि ?

वास्तवमा राजनीति संभावनाको खेल हो, त्यसैले स्वार्थ मिल्नेहरूको समूह बनाएर स्वस्थ प्रतिस्पर्धा हुनु स्वाभाविक हो । केन्द्रको पूरै प्रभाव त नहोला तर संगठन चलायमान हुन केही हदसम्म 'पोलोराइजेसन' पनि जरुरी छ ।

तपाईंसँग बाँके कांग्रेसको सांगठनिक अवस्थालाई सुधार गर्ने योजना के छन् ?

पार्टीका विभिन्न पदमा बसेकाहरूदेखि सक्रिय सदस्यहरूलाई प्रशिक्षणको व्यवस्था मिलाउनेछु । कार्यकारी पद र सेरेमोनियल पदमा भएकाहरूलाई पार्टीको विधानले व्यवस्था गरेअनुसार गतिशील बनाउन व्यावहारिक रूपमा सबल बनाउने मेरो ध्येय रहनेछ । यसका अलावा म संगठनमा अनुशासनलाई उच्चप्राथमिकतामा राखेर काम गर्नेछु ।
 
तपाईं त जनप्रतिनिधि पनि हुनुहुन्छ, जनताको अपेक्षा कसरी सम्बोधन गर्नुभएको छ ?

२०७४ सालयता एउटा जिम्मेवार वडा अध्यक्षको भूमिकामा वडाबासीहरूको सहज जीवनयापन र राज्यले दिने सेवा, सुविधा सहज रूपमा मिलोस् भन्ने हेतुले काम गरिरहेको छु । कामका दौरान केही त्रुटि भएका छन् भने तत्काल मलाई 'करेक्सन' गर्ने मौका दिनुहोस् भनेर सार्वजनिक रूपमा वडाबासीलाई अपिल पनि गरेको छु । कांग्रेससँग जनअपेक्षा अपार छन्, ऐन, कानुन र स्रोत-साधनको उपलब्धताअनुसार सक्दो सेवा गरिरहेको छु ।

अन्त्यमा केही छुटेका विषय छन् कि ? 

यो अवसरका लागि आभारी छु । विधि र प्रक्रियालाई स्थापित गर्न संगठन मजबुत बनाउनेतर्फ लागौँ भन्ने आह्वान गर्छु । राजनीति सेवा भावले गरौँ भन्ने अपिल पनि गर्छु ।