स्वास्थ्य राज्यमन्त्रीज्यू, खोपको गणित कहाँ बिग्रियो, एक पटक हेर्नुहोस् त यो तथ्यांक
भदौ १७, २०७८

माननीय स्वास्थ्यराज्यमन्त्री उमेशजी, तपाईं लेख्नुहुन्छ- १८ वर्षमाथिका लक्षित २ करोड १७ लाख  ५७ हजार ७६३ जनसंख्यामध्ये खोपको पहिलो मात्रा ५४ लाख २४ हजार ८३६ (तपाईंको शब्दमा १८ प्रतिशत, हुनुपर्ने २४।९३ प्रतिशत) र पूर्ण मात्रा ४६ लाख ६७ हजार ३२८ (तपाईंको शब्दमा १५.४ प्रतिशत, हुनुपर्ने २१.४५ प्रतिशत)लाई खोप पुगेको छ । अर्थात् पहिलो मात्रा र पूर्ण मात्रा खोप प्राप्त गर्ने नेपालीको संख्या एक करोड ९२ हजार १६४ पुगेको छ ।

यहाँनिर भने तपाईंले खोप प्राप्त गर्नेको प्रतिशत ४६.४ (४६.३८ हुनुपर्ने) लगभग ठीक लेख्नुभएको छ । स्पष्ट छ, माथि २ ठाउँमा प्रतिशत हिसाब गर्दा लक्षित वर्गको  नभई  ३ करोड नेपालीको हुन गयो ।

एक करोडभन्दा माथि नेपाली खोपको दायरामा आएकामा सबै नेपालीलाई बधाई, तपाईंलाई पनि बधाई ।

मन्त्रीज्यू, म गणितका जटिल अल्गोरिदम बुझ्दिनँ, सामान्य लेखपढ गर्ने मानिस हुँ । तपाईंकै डाटालाई यसरी ‘एनालाइसिस’ गर्छु ।

नेपालमा १६ भदौ बुधबार तदनुसार १ सेप्टेम्बरसम्मको उपलब्ध डाटाअनुसार सिंगल डोज लाएका मानिसको संख्या तपाईंले भनेअनुसार अथवा स्वास्थ्य मन्त्रालयका अनुसार ५४ लाख २४ हजार ८३६ रहेको छ । पूर्ण खोप अर्थात् दुवै डोज लाउनेको संख्या ४६ लाख ६७ हजार ३२८ छ ।

दुवै डोज लाउनेको संख्याबाट एक डोजमै पूर्ण खोप (दुवै खोपको  काम गर्ने)को गणना हुने जोनसन एण्ड जोनसनको खोप घटाउनुपर्ने हुन्छ । किनकि अन्य खोप २ मात्रामा लाउनुपर्ने हुन्छ । अतः जोनसनको खोपलाई २ डोजको कुल संख्याबाट घटाउनुपर्ने देखिन्छ ।

यसरी हेर्दा सिंगल डोजको जोनसन एण्ड जोनसनको संख्या १३ लाख ६३ हजार ६१८ र दुवै डोजको कुल खोप लागेको संख्या  ४६ लाख ६७ हजार ३२८ बाट १३ लाख ६३ हजार ६१८ घटाउँदा हुन आउँछ ३३ लाख ३ हजार ७१० ।

३३ लाख ३ हजार ७१० जनालाई खोपका २ मात्रा दिँदा भ्याक्सिन खपत हुन आउँछ ६६ लाख ७ हजार ४२०  र  एक डोजका रूपमा बाँडिएको खोप संख्या ५४ लाख २४ हजार ८३६ लाई एकआपसमा जोडी हेर्दा यो संख्या हुन आउँछ एक करोड २० लाख ३२ हजार २५६ थान । यो संख्यामा भ्याक्सिन नेपालमा खपत भएको देखिन्छ ।

उमेशजी, जोनसनको खोपलाई हिसाबमा नराख्दा ऐस्ट्रेजेनेका र भेरोसेलको हिसाब गर्दा नेपालमा खोपको पहिलो डोज लिनेको संख्या ५४ लाख २४ हजार ८३६ र दोस्रो मात्राको खोप लिने मानिसको संख्या ३३ लाख ३ हजार ७१० अर्थात् दुवैको योग ८७ लाख २८ हजार ५४६ हुन आउँछ ।

माननीय मन्त्रीज्यू, स्वास्थ्य मन्त्रालयको डाटाअनुसार नेपालमा  ऐस्ट्रेजेनेका (कोभिशिल्ड) खोप ४४ लाख ८ हजार थान आएका छन् । यदि अन्य कुनै स्रोतबाट खोप आएको भए त्यसको जानकारी सार्वजनिक हुनुपर्ने हो । अन्यथा नेपालमा ऐस्ट्रेजेनेकाका ४४ लाख ८ हजार थान खोप आउँदा ४६ लाख ५५० (आएको भन्दा बढी) कसरी कुन हिसाबले वितरित भए ?

अब यसमा जोनसनको खोप लिनेको संख्या १३ लाख ६३ हजार ६१८ जोड्यो भने योग हुन आउँछ एक करोड ९२ हजार १६४ । यो नै तपाईंले पेस गरेको तथ्यांक हो ।

उमेशजी, मेरो उद्देश्य पृथक्पृथक् खोपको पृथक्पृथक् तथ्यांक केलाउनु रहेको छ ।

तपाईंको तथ्यांकअनुसार नेपालमा जोनसनको खोप लिने १३ लाख ६३ हजार ६१८ मानिसमा यति नै खोप खपत भए । अर्थात् अहिले नेपालसँग एक लाख ७० हजार ३८२ थान खोपको भण्डारण रहेको छ । यसमा केही मात्रामा ‘इनभिजुअल लस’ पनि होला ।

ऐस्ट्रेजेनेका र भेरोसेल भ्याक्सिनको पहिलो र दुवै डोज गरी लाभार्थी भएका ८७ लाख २८ हजार ५४६ जनामा खोप खपत एक करोड २० लाख ३२ हजार २५६ थान रह्यो । यसलाई पृथक् गरेर पनि हेरौँः

पहिला ऐस्ट्रेजेनेका खोपको अध्ययन गरौँ ।

पहिलो मात्रामा खोप लिनेको संख्या २१ लाख ३४ हजार ८४८ अर्थात् खोप खपत २१ लाख ३४ हजार ८४८ ।

दुवै मात्राको खोप पाउनेको संख्या १२ लाख ३२ हजार ८५१ अर्थात् खोप खपत २४ लाख ६५ हजार ७०२ ।

ऐस्ट्रेजेनेकाको कुल खोप खपत पहिलो र दुवै मात्रा गरेर ४६ लाख ५५० ।

भेरोसेलको पहिलो मात्रा खोप लिनेको संख्या ३२ लाख ८९ हजार ९८८ अर्थात् खोप खपत ३२ लाख ८९ हजार ९८८ ।

दुवै मात्राको खोप पाउनेको संख्या २० लाख ७० हजार ८५९ अर्थात् खोप खपत ४१ लाख ४१ हजार ७१८ ।

भेरोसेलको कुल खोप खपत पहिलो र दुवै मात्रा गरेर ७४ लाख ३१ हजार ७०६ ।

माननीय मन्त्रीज्यू, स्वास्थ्य मन्त्रालयको डाटाअनुसार नेपालमा  ऐस्ट्रेजेनेका (कोभिशिल्ड) खोप ४४ लाख ८ हजार थान आएका छन् । यदि अन्य कुनै स्रोतबाट खोप आएको भए त्यसको जानकारी सार्वजनिक हुनुपर्ने हो । अन्यथा नेपालमा ऐस्ट्रेजेनेकाका ४४ लाख ८ हजार थान खोप आउँदा ४६ लाख ५५० (आएको भन्दा बढी) कसरी कुन हिसाबले वितरित भए ? बढी मात्राका खोप कहाँबाट आए ?

मन्त्रीजी, ऐस्ट्रेजेनेकाका कति खोप बाँकी छन् नेपालमा, यो त थाहा भएन । के एक पटक चेक गर्न जानुहुन्छ ?

भेरोसेलबारे मन्त्रालय भन्छ- अहिलेसम्म यसका ७४ लाख डोज नेपाल भित्रिएका छन् । अब ७४ लाखबाट यो ७४ लाख ३१ हजार ७०६ कसरी हुन गयो ? भेरोसेल पनि कति मात्रामा अझै बाँकी छ नेपालसँग, त्यसको जाँच पड्ताल तपाईंले नै गर्नुपर्ने हुन्छ । यी बढी खोपको स्रोत के हो ?

मन्त्रालयले दिने गरेको दैनिक जानकारीअनुसार खोप लगाएको मानिसमा कति खोप वितरित भयो, त्यसको सामान्य गणितले अध्ययन विश्लेषण गरेको हुँ । यसमा कुनै विशेष अल्गोरिदम प्रयोग भएको छ भने म गलत हुन सक्छु । म गलत भए त केही फरक पर्दैन तर यदि आएका भ्याक्सिन र वितरण भएका भ्याक्सिनको तथ्यांक गलत भयो भने धेरै किसिमका प्रश्न उठ्नेछन् ।

उमेशजी, मेरो हिसाबकिताबमा केही गल्ती भए ठीक गरी दिनुहोस् । तपाईं त त्यत्रो ठूलो स्कुल चलाएको मानिस । अहिले त्यत्रो ठूलो मन्त्रालय संचालन गरिरहेको व्यक्ति, तपाईंका लागि यो कुनै ठूलो कार्य होइन । तपाईंको आफ्नै स्कुलको ब्यालेन्स सिट यस्तो आएको भए तपाईं प्रोफेसनल चार्टर्ड अकाउन्टेन्टलाई बोलाएर तत्कालै हिसाब मिलान र तसल्ली गर्नतिर लाग्नुहुन्थ्यो । भ्याक्सिनका सम्बन्धमा पनि यस्तै तदारुकताका साथ ‘ह्विस्की र सोडा’को (कति दूधका दूध पानीका पानी लेख्नु !) हिसाब गरिदिनुहोस् ।

अन्त्यमा कति भ्याक्सिनका मात्र कुरा गर्नु ! अलिक विनोद पनि गरौँ । तपाईंले भर्खरै एउटा अन्तर्वार्तामा भन्नुभयो, ‘म दैनिक ५०० जना मानिसलाई भेट्छु ।’

खुसी लाग्यो, नाम चलेका प्रतिष्ठित दलका नेतागणले कुनै सार्वजनिक कार्यक्रम गर्दा पनि ५०० जनाको भीड जुटाउन देशभरबाट मानिस ओसारेर ल्याउनुपर्ने अवस्था हुँदा तपाईं जस्तो ‘शिक्षा व्यापारी’ राजनीतिमा आउनेबित्तिकै दैनिक रूपमै ५०० जना मानिस भेला पार्ने भइसक्नुभयो ! वाह ! क्या गजब ! अब त अन्य अन्य क्षेत्रका व्यापारी वर्गले पनि तपाईंको सिको गर्दै राजनीतिमा लाग्नुपर्ने हो ।

म भने साधारण गणित मात्र बुझ्ने मानिस, यसको पनि हिसाब गर्नतिर लागेँ ।

उमेशजीले दैनिक रूपमा भेट्ने मानिस संख्या ५०० ।

भेट्न आउने मानिस एकदेखि ५ जनाको समूहमा आउन  सक्छन् यसर्थ औसतमा ३ जना प्रति समूह ।

५०० जनालाई ३ जनाको समूहमा भेट्दा उमेशजीले दैनिक रूपमा १६६ समूहलाई भेट्नुहुन्छ ।

३ जनाको समूहलाई उहाँले दिने न्यूनतम समय ५ मिनेट ।

११६ समूहलाई भेट्दा लाग्ने समय ८३० मिनेट ।

८३० मिनेटलाई घण्टामा परिवर्तन गर्दा १३ घण्टा ५० मिनेट ।

उमेशजीले दैनिक रूपमा १३ घण्टा ५० मिनेटको समय ५०० जनालाई भेट्नमा खर्च गर्नुहुन्छ ।
क्या बात उमेशजी !


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।