ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना अगाडि बढाउँदै विद्युत् प्राधिकरण

ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना अगाडि बढाउँदै विद्युत् प्राधिकरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ १८, २०७८

नेपाल विद्युत् प्रधिकरणले मुलुकको विद्युत् माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । 

प्राधिकरणले ८३५ मेगावाटको दूधकोसी जलाशययुक्त र एक हजार ६१ मेगावाटको माथिल्लो अरुण तथा २१० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरू एकसाथ अगाडि बढाउन लागेको हो । यी ३ वटै आयोजनाहरू अहिले विस्तृत अध्ययनको अन्तिम चरणमा छन् । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ३ वटा जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङलाई अन्तिम रूप दिने, निर्माणका लागि ठेकेदार छनोटका टेण्डर कागजात तयार गर्ने, पहुँच सडक, जग्गा अधिग्रहण, वित्तीय व्यवस्थापनका लागि स्वदेशी वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगका छलफललगायतलाई समानान्तर रूपमा अगाडि बढाइएको बताउँछन् । 

‘दैनिक एवं मौसमी विद्युत् माग र आपूर्तिको सन्तुलन कायम गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् छिमेकी मुलुकमा निर्यातका लागिसमेत जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनलाई उच्चप्राथमिकतामा राखी निर्माण अगाडि बढाउन लागिएको हो’, घिसिङले भने, ‘एक वर्षभित्रमा निर्माणपूर्वका सम्पूर्ण कामहरू सकेर निर्माणमा लैजाने गरी तीब्रताका साथ काम गरिरहेका छौँ ।’

अर्थ मन्त्रालयमार्फत एसियाली विकास बैंक (एडीबी)को नेतृत्वमा दूधकोसीमा लगानीका लागि  युरोपेली लगानी बैंक (ईआईबी), एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र कोरियाली एक्जिम बैंकसँग छलफल भइरहेको घिसिङले जानकारी दिए । 

‘सरकारले कार्यान्वयमा ल्याएको नेपालको पानी जनताको लगानी कार्यक्रमअन्तर्गत सर्वसाधारण नागरिकलाई समेत शेयर निश्कासन गरी रकम जोहो गर्नेछौँ । यसबाट आयोजनाबाट प्राप्त हुने प्रतिफल नागरिक तहसम्म नै पुग्छ’, उनले भने । ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममार्फत सर्वसाधारण नागरिकलाई पनि शेयर निश्कासन गरी माथिल्लो अरुण र चैनपुर सेतीमा लगानी जुटाइने बताइएको छ । 

दूधकोसीको अनुमानित आधार लागत एक अर्ब ५३ करोड डलर (करिब एक खर्ब ७८ अर्ब रुपैयाँ) र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत करिब २ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । अध्ययन भएका जलाशययुक्त आयोजनामध्ये लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोसी तुलनात्मक रूपमा सस्तो र आकर्षक मानिएको छ । 

खोटाङ, ओखलढुंगा र सोलुखुम्बूमा पर्ने आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड युनिट ऊर्जामध्ये हिउँद र बर्खामा क्रमशः एक अर्ब ३६ करोड र २ अर्ब ८ करोड युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाले पहुँच सडक निर्माण र बाँध निर्माणस्थलभन्दा माथि डुबान क्षेत्रमा पर्ने खोटाङतर्फको करिब १३ हजार रोपनी जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना प्रकाशन गरिसकेको छ । 

ओखलढुंगा र सोलुखूम्बुतर्फको जग्गा अधिग्रहणको प्रक्रिया छिट्टै सुरु हुने जनाइएको छ । आयोजनाको निर्माणका लागि ७ वर्ष लाग्ने अनुमान गरिएको छ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी-ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्चप्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाको रूपमा अगाडि बढाइने बताए । ‘जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ४ अंकको जडित क्षमता (१०६१ मेगावाट) र प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो यस आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको शेयर र विश्व बैंक, युरोपेली लगानी बैंकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी संचय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइनेछ’, उनले भने । आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहनेछ । 

विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक करिब एक अर्ब २० करोड अमेरिकी डलर छ । कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ । 

आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो । 

बझाङमा पर्ने चैनपुर सेतीलाई सुदूरपश्चिम प्रदेशको गेम चेन्जर आयोजनाको रूपमा अगाडि बढाइनेछ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहनेछ ।