महेशविक्रम शाह: उच्च प्रहरी अधिकृत, कुशल सम्पादकदेखि प्रसिद्ध कथाकारसम्म
भदौ १९, २०७८

एउटा व्यावसायिक प्रहरी भएका नाताले उहाँले समाजका घटना, द्वन्द्व अनि अपराधलाई नजिकबाट प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नुभयो । 

एउटा सर्जक भएका नाताले त्यसलाई हृदयभरी थुपारेर लेखनीमार्फत छताछुल्ल बनाउनुभएको छ । 

‘अफ्रिकन अमिगो’देखि ‘छापामारको छोरो’ यसरी नै जन्मिएका कृति हुन्, जसले उहाँलाई साहित्यको बेग्लै धरातलमा पुर्‍याएको मात्र नभई मदन पुरस्कार जस्तो प्रतिष्ठित पुरस्कार पनि दिलायो । 

उहाँ कर्तव्य पालनको सिलसिलामा विदेशमा जहाँजहाँ जानुभयो, त्यहाँका पात्र र परिवेशलाई लिएर कृति सिर्जना गर्न सक्नु उहाँको छुट्टै कला र प्रतिभा हो । 

अझ त्यसलाई नेपालीकरण गरेर मौलिक स्वादमा पस्कन सक्नु उहाँको अर्को विशेषता हो । त्यही विशेषताले महेशविक्रम शाहलाई पनि विशेष बनाएको छ । समाजका द्वन्द्वले सर्जकलाई सिर्जनाको विषयवस्तु प्रदान गर्छ भन्ने राम्रो उदाहरण पनि हो उहाँको लेखनी ।

पारिवारिक अवस्था

उहाँका बुबा पनि प्रहरीकै जागिरे । आमाबुबा धनगढीमा बस्नुहुन्थ्यो । उहाँ भने बाजेबज्यैसँग अछाममा बस्नुहुन्थ्यो । उहाँको मामाघर भने बाजुरा । मामाहरू व्यापारी । मामाहरूले तराईबाट नुन, तेल भेडामा बाँधेर पहाडमा ल्याउनुहुन्थ्यो । 

उहाँ पनि अछामबाट ती भेडाहरूसँगै हिँडेर धनगढी पुग्नुभयो, बुबाआमाकहाँ । ‘यात्राहरू, जो कहिल्यै टुंगिँदैनन्’ कथामा उहाँले यसको अनुभव वर्णन गर्नुभएको छ । 

उहाँका बुबाआमाको पहाडमा प्रशस्त जमिन । बुबा प्रहरीमा जागिरे पनि । त्यस हिसाबले आर्थिक स्थिति राम्रै थियो । तर, पनि उहाँ भने मध्यम वर्गीय भन्न रुचाउनुहुन्छ आफ्नो परिवारलाई । 

खासमा पहाडमा त्यतिबेला जागिर खाने प्रचलन पनि थिएन । अछामबाट पहिलो जागिरे भनेकै बुबा हुनुपर्छ भन्ने उहाँलाई लाग्छ । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०२२ सालमा भएको हो । उहाँको ७–८ वर्षसम्मको बाल्यकाल अछाममै बित्यो । त्यसबेलाको अछाम जिल्ला कालीमाटी गाउँ । हाल भने साँफेबगर नगरपालिका वडा नं.– १ । 

पहाडमा पनि बालवय व्यतीत गरेको हुनाले पहाडको पनि उहाँलाई राम्रै अनुभव छ । उहाँको लेखनीमा पनि त्यसको केही प्रभाव देख्न सकिन्छ । 

त्यहाँका महिला तथा श्रमिकका पीडा पनि उहाँको कथामा पाउन सकिन्छ । 

सूर्यचन्द्र मावि कालीमाटीमा हुँदा एउटा सांस्कृतिक कार्यक्रम भएको थियो । उहाँको अगाडिको साथी नाचिरहेको थियो । उहाँले त्यो नाच हेर्नुभयो । उहाँलाई त्यो नाच मनप¥यो । उहाँको पालोमा उहाँले त्यही साथीको नाच नाच्नुभयो । तर, उहाँले नाच्नुपर्ने भने अर्कै थियो । पछि शिक्षकले ‘तिमीले यो के गरेको ? आफ्नो नाच पो नाच्नुपर्छ त’ भन्नुभयो । यसपछि उहाँलाई लाग्यो, ‘आफैँले आफ्नै तरिकाले पो काम गर्नुपर्ने रहेछ !’

एक पटक उहाँ पढ्ने स्कुलमा एक जना साथीको केही चिज हरायो । गुरुले उहाँहरू सबैलाई कोठामा थुनिदिनुभयो । पछि आमाले आएर उहाँलाई लिएर जानुभयो । 

त्यसपछि उहाँलाई स्कुल जान मन लागेन । स्कुल जान मन नगरेपछि उहाँलाई कुट्दै काकाले स्कुल लगेको पनि राम्रै सम्झना छ । 

उहाँ तथा काकाहरू बूढीगण्डकीमा पौडी खेल्ने र साँफेबगरमा प्लेन आएका बेला कुद्दै हेर्न जाने गर्नुहुन्थ्यो । उहाँहरू बूढीगण्डकीमा ढुंगामा हात हालेर खुब माछा मार्नुहुन्थ्यो त्यसबेला । 

एक दिन ढुंगामा हात हाल्दा मोटोमोटो माछा जस्तो लागेर खुब जोडले तान्नुभयो । तर, त्यो त सर्प रहेछ । सबैको भागाभाग भयो । त्यसपछि भने उहाँले ढुंगामा हात हालेर माछा मार्न छाड्नुभएछ । 

एक पटक उहाँलाई काकाले ‘बाउँत हालेर बूढीगण्डकी पार गर’ भनेर छाडिदिनुभयो । उहाँ पनि आँट गरेरै जानुभयो । तर, बूढीगण्डकीले उहाँलाई बगायो । त्यसपछि उहाँको कान्छो काका आएर उहाँलाई बचाउनुभएको उहाँ बताउनुहुन्छ । 

प्रारम्भिक शिक्षा

उहाँले बाह्रखरी सिकेको चाहिँ सूर्यचन्द्र माविबाट हो । उहाँका बाजेले पनि त्यही स्कुलमा पढाउनुहुन्थ्यो । उहाँहरू त्यसबेला निगालाको कलमले मसीमा चोपेर लेख्नुहुन्थ्यो । 

स्कुलमा बस्नका लागि डेस्क–बेञ्च थिएनन् । उहाँहरू भुइँमा अनि बोरामा बसेर पनि पढ्नुभयो । 

बुबा धनगढीमा भएको हुनाले त्यसपछि भने उहाँ पढ्नका लागि धनगढी आउनुभयो । वनदेवी स्कुलमा भर्ना हुनुभयो । त्यसपछि उहाँ त्रिनगर स्कुलमा जानुभयो । त्यो भने प्राथमिक स्कुल थियो । 

वनदेवी स्कुलमा भने बस्नका लागि डेस्क–बेञ्चहरू थिए । छात्राहरूको संख्या उल्लेख्य नभए पनि केही थियो । 

स्कुलमा सांस्कृतिक कार्यक्रम हुन्थ्यो । कार्यक्रममा भाग लिनुपर्ने । गीत गाउनुपर्ने । कविता सुनाउनुपर्ने । उहाँलाई भने त्यसले नै साहित्यतर्फ मोडेको जस्तो लाग्छ । यो नै आफ्नो साहित्यको प्रारम्भिक यात्रा थियो भन्ने ठान्नुहुन्छ महेश । 

उहाँको बसाइँ त्यसपछि कैलालीमा सर्‍यो । बुबाले त्यहाँ घर बनाउनुभयो । 

टीकापुर स्कुलमा पढ्दा साहित्यकारहरू कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, रमेश विकल, भवानी भिक्षु, भीमनिधि तिवारी, बीपी कोइराला, पारिजात, गोविन्द गोठाले, विजय मल्ल, मोहन कोइराला आदिका पुस्तकहरू पुस्तकालयमा हुन्थे ।

उहाँको पढाइ धर्मापुरमा पनि भयो । जनता मावि गर्दै उहाँ टीकापुर आइपुग्नुभयो पढ्नका लागि । कक्षामा त्यसबेला १०–१५ जना मात्र हुन्थे विद्यार्थी । 

उहाँ पढाइमा राम्रै हुनुहुन्थ्यो । नेपाली भने उहाँलाई पढ्नै पर्दैैनथ्यो । गणित केही कमजोर थियो । पछि भने उहाँले गणितमा सुधार ल्याउनुभयो । 

नेपाली, इतिहास र भूगोल उहाँलाई मनपर्ने विषय हुन् । उहाँले २०३७ सालमा एसएलसी दिनुभएको हो । त्यसबेला उहाँको ब्याचमा एसएलसी दिने १० जना थिए । दशै जना पास भए । अर्थात् सत प्रतिशत । तीमध्ये २ जना प्रथम श्रेणीमा । त्यसबेला ३ हजार ११ जनाको प्रथम श्रेणी आएको थियो । उहाँ पनि त्यसमध्येको एक हुनुहुन्थ्यो । 

एसएलसीपछि उहाँ आईएस्सी पढ्नका लागि अमृत साइन्स क्याम्पसमा भर्ना हुनुभयो । त्यसबेला कक्षामा झण्डै ५० जनाजति विद्यार्थी हुन्थे । छात्राहरू भने १०–१५ जनाजति । 

त्यसबेला फस्र्ट डिभिजन आएकाले डाक्टर बन्नुपर्छ भन्ने सोच थियो समाजको । साइन्स पढ्न आएको केटो तर डाक्टर भने हुन सकेन । यसका २ कारण रहे । 

पहिलो त साइन्समा खास रुचि नै थिएन उहाँलाई । अर्को भनेको कलेजमा खासै पढाइ नहुने । यहाँ अरू विद्यार्थी ट्युसन पढ्ने रहेछन् भन्ने कुरा उहाँलाई थाहा भएन । 

‘गाउँबाट आएको म, यसरी पढ्नुपर्छ भनेर गाइड गर्ने मान्छे पनि भएनन्’ उहाँ भन्नुहुन्छ । 

आईएस्सीमा उहाँको पढाइमा धेरै अवरोध पनि भयो । बीएस्सी भने चाँडै नै सकियो । 

कीर्तिपुरमा उहाँ एमएस्सीमा भर्ना त हुनुभयो तर पढाइ भने जागिरका कारण पूरा गर्न पाउनुभएन । पछि भने उहाँले एमपीए, बीएल पनि गर्नुभयो । 

साहित्यतर्फको यात्रा

उहाँको स्कुलमा पढ्दादेखि नै साहित्यतर्फ विशेष रुचि थियो । साहित्यका पुस्तक पढ्ने, लेख्ने काम भइरहन्थे । कवितामा पनि छन्दबद्ध कविता हुन्थे त्यसबेला उहाँको रुचिमा । निबन्ध, गीत, कथा पनि लेख्नुहुन्थ्यो उहाँ । 

उहाँ टीकापुर स्कुलमा पढ्दा साहित्यकारहरू कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, रमेश विकल, भवानी भिक्षु, भीमनिधि तिवारी, बीपी कोइराला, पारिजात, गोविन्द गोठाले, विजय मल्ल, मोहन कोइराला आदिका पुस्तकहरू पुस्तकालयमा हुन्थे । उहाँ ती सबै साहित्यकारका पुस्तक पढ्नुहुन्थ्यो । 

उहाँलाई उहाँका नेपाली गुरुले पनि ‘तिम्रो साहित्य राम्रो छ, तिमी यसलाई नछोड, तिमी राम्रो साहित्यकार बन्न सक्छौ’ भनेर प्रोत्साहन गर्नुभएको थियो । 

त्यो प्रेरणाले पनि उहाँलाई एसएलसीपछि साहित्य नै पढ्ने इच्छा रहेछ । तर, उहाँका बुबाआमाको इच्छा भने छोरालाई डाक्टर बनाउने । 

बुबाआमाको सल्लाहमा उहाँ अमृत साइन्स क्याम्पसमा आएर आईएस्सीमा भर्ना हुनुभयो । रुचि साहित्यमा भएको हुनाले उहाँलाई साइन्सतिर त्यति इच्छै नलाग्ने ।

उहाँले आईएस्सी, बीएस्सी त पढ्नुभयो तर डाक्टर भने बन्न सक्नुभएन । 

साइन्स पढ्दा समय अनि मिहिनेत पनि धेरै गर्नुपर्ने हुँदा उहाँको साहित्ययात्रामा भने बिराम लाग्यो । उहाँ १८ घण्टासम्म पढेको बताउनुहुन्छ त्यसबेला । 

१० वर्षको उमेरमै कविताबाट उहाँको लेखन यात्रा प्रारम्भ भएको थियो । 

उहाँको पहिलो रचना ‘आमा’ शीर्षकको कथा २०३६ सालमा छापिइसकेको थियो । 

एक पटक २०३५ सालमा साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’ नेपाल देश दर्शनको सिलसिलामा त्यहाँ आउनुभएको थियो । त्यस समय भएको कार्यक्रममा उहाँ निबन्धतर्फ प्रथम हुनुभएको थियो । 

त्यसबेला यात्रीले महानन्द सापकोटामाथि लेखिएको उहाँको निबन्ध र कविता सुनसरीबाट निस्कने ‘हिमाली सौगात’ पत्रिकामा प्रकाशन गरिदिनुभएको थियो । त्यो नै उहाँको पहिलो कविताको प्रकाशन थियो । 

उहाँको पहिलो कथा महेन्द्रनगरको ‘साप्ताहिक वार्ता’मा छापियो । साल थियो २०३६ । 

उहाँ साइन्स पढ्दाको आफ्नो समयलाई साहित्यतर्फको शीतनिद्रा भन्न रुचाउनुहुन्छ । 

उहाँमा लेखनको जिजीविषा भने अद्यापि छँदै थियो । उहाँ अध्यक्ष भएर टीकापुर भूतपूर्व विद्यार्थी समाज भन्ने एउटा संस्था गठन गर्नुभएको थियो काठमाडौंमा ।

टीकापुर भूतपूर्व विद्यार्थी समाज प्रकाशक रहेको ‘अनुराग’ र  ‘टीकापुर आवाज’ पत्रिका पनि प्रकाशन गर्नुभएको थियो । त्यसपछि उहाँले कथा, कविता आदि लेख्नुभयो । 

प्रहरीको जागिर

उहाँ कीर्तिपुरमा एमएस्सी भर्ना गरेका बेला प्रहरीमा अधिकृतका लागि दरखास्त खुल्यो । उहाँ त्यसबेला टीकापुरमा हुनुहुन्थ्यो । 

बुबाले इन्स्पेक्टरमा खुलेको छ भनेपछि उहाँले आएर निवेदन दिनुभयो । उहाँले आवेदन दिनु मात्र भएन, पास पनि हुनुभयो । अनि बन्नुभयो प्रहरी निरीक्षक । यो २०४६ सालको कुरा हो । 

प्रहरीमा उहाँको तालिम सकिएपछि पोस्टिङ भरतपुरमा भयो । भरतपुरको वातावरण उहाँलाई एकदमै तपोवन जस्तै लाग्यो । सालका ठूलाठूला रूख । चारैतिर हरियाली । यसले उहाँलाई लेख्ने वातावरण दियो । 

उहाँलाई पनि बाल्यकालका कुरा लेखौँलेखौँझैँ लाग्यो । उहाँले त्यहाँ बस्दा थारू जनजीवनका बारेमा कथा लेख्नुभयो, जुन ‘मधुपर्क’मा छापिए । र, धेरै चर्चित पनि भए । 

त्यसपछि उहाँलाई लाग्यो, ‘मेरो साहित्यिक प्रतिभा खत्तम भइसकेको रहेनछ ।’ म अझै लेख्न सक्छु भन्ने लाग्यो उहाँलाई । 

प्रहरीमा अनेक केस आउँछन् । हत्या, लुटपाट, डकैती तथा अपराधका अन्त्यहीन शृंखलाका केसहरू । यसले एउटा सर्जकलाई निश्चित रूपले शान्त भएर लेख्न दिँदैन । तर, उहाँको केस भने अलिक फरक रहेछ । 

उहाँको तालिम सकिनेबित्तिकै पोस्टिङ भरतपुरको तालिम केन्द्रमा भयो, जहाँको वातावरण अलि शान्त थियो भने काम पनि पढाइ, लेखाइ अनि प्राज्ञिक किसिमको । 

प्रशिक्षण संस्था भएको हुनाले आफू पढ्ने, पढाउने र हमेसा त्यसको तयारीमा लागिरहनुपर्ने हुनाले दैनिक प्रहरीको जागिरेमा हुने अपराधका घटनामा प्रत्यक्ष संलग्न हुनुपरेन । यसले पनि उहाँको साहित्य कर्म मौलाउने अवसर पायो । 

उहाँ भन्नुहुन्छ, ‘सायद तालिम सकिनेबित्तिकै जिल्ला प्रहरी कार्यालयतिर पोस्टिङ भएको भए साहित्यकार बन्नमा बाधा भने आउँथ्यो होला ।’

३० वर्षे जागिरे जीवनमा उहाँको १५ वर्ष त तालिम केन्द्रमै बित्यो । यस हिसाबले पनि लेखनमा सहज भएको उहाँ बताउनुहुन्छ । 

उहाँमा जिल्लामा पनि नबस्नुभएको होइन । तर, जिल्लामा बस्दा कुनै नलेखी नहुने कुनै प्लट दिमागमा आएका खण्डमा केही दिन बिदा लिने गर्नुहुन्थ्यो ।

विवाह

उहाँको विवाह २०५० सालमा भएको हो । विवाह प्रेम नै हो । तर, अभिभावकको सहमतिमा भएको हुनाले प्रेम तथा मागी दुवै भन्नुहुन्छ उहाँ । 

उहाँका दुई छोराहरू हुनुहुन्छ । एक जना छोरा भने आफ्नो रुचिअनुसार फोटोग्राफी तथा डकुमेन्ट्रीको क्षेत्रमा हुनुहुन्छ । अर्को छोरा भने बैंगलोरमा बीबीए पूरा गरेर काम गर्ने सोचमा हुनुहुन्छ । 

सम्पादन

‘टीकापुर भूतपूर्व विद्याार्थी समाज’ नामक सामाजिक संस्थाबाट प्रकाशित ‘टीकापुर आवाज’ (साहित्यिक संगालो)को प्रधानसम्पादक  हुनुहुन्छ भने टीकापुर भूतपूर्व विधार्थी समाजद्वारा प्रकाशित ‘सेट्स स्मारिका’को सम्पादन पनि महेशले गर्नुभएको छ ।

साहित्यिक त्रैमासिक ‘अनुराग’को संस्थापक सम्पादक महेशले वैद्यनाथ क्षेत्र विकास संस्था, अछामद्वारा प्रकाशित ‘वैद्यनाथ क्षेत्र स्मारिका’को सम्पादन पनि गर्नुभएको छ ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगंजबाट पहिलो पटक प्रकाशित वार्षिक पत्रिका ‘गुरुकुल’को प्रधानसम्पादक रहनुभएका शाहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट वार्षिक रूपमा प्रकाशन हुने ‘प्रेरणा’को सम्पादन पनि गर्नुभएको छ । 

प्रकाशन

उहाँको पहिलो कृति ‘सटाहा’ हो, जुन २०५३ सालमा छापिएको हो । ‘सटाहा’ थारू संस्कृतिअन्तर्गतको कुरा हो । यसलाई हामी सामान्य भाषामा ‘साटफेर’ पनि भन्छौँ । अर्थात् छोरी दिने अनि बुहारी लिएर आउने प्रचलन ।

अर्को कृति हो, ‘अफ्रिकन अमिगो’, २०६० सालमा । अमिगोको अर्थ साथी हो पोर्चुगाली भाषामा । 

त्यसपछि आयो ‘सिपाहीकी स्वास्नी’, २०५९ सालमा । ‘छापामारको छोरो’ २०६३ सालमा प्रकाशन भयो, जुन कृतिले मदन पुरस्कारसमेत प्राप्त ग¥यो । 

‘काठमाडौंमा कामरेड’, २०६५ सालमा प्रकाशन भयो भने २०६९ सालमा ‘ज्याक्सन हाइट’, २०७४ सालमा ‘भुइँखाट ।’

हालसम्म उहाँका ७ वटा कृति प्रकाशन भएका छन् । उहाँका अन्य व्यावसायिक कृति पनि रहेका छन्, जसमा ‘फोटोग्राफी’ (प्रारम्भिक घटनास्थल अनुसन्धान भाग– १,  नेपाल प्रहरी प्रोजेक्ट, २०५५), ‘चेलीबेटी बेचबिखन अपराध निर्देशिका’ (संयुक्त लेखन, युनिसेफ नेपाल, २०५६), ‘बाल यौन शोषण अपराध अनुसन्धान निर्देशिका’, (संयुक्त लेखन, युनिसेफ नेपाल, २०५६) र ‘भौतिक सबुत संकलन तथा संरक्षण’, २०६१ (समग्र प्रकाशन) प्रमुख छन् ।

मान, सम्मान तथा पुरस्कार 

पुरस्कारका हिसाबले साहित्यमा श्रेष्ठ मानिने मदन पुरस्कार उहाँले २०६३ सालमा ‘छापामारको छोरो’ कथासंग्रहका लागि प्राप्त गर्नुभएको थियो । 

नेपाल सरकारबाट पनि प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ उहाँले । अरू थुप्रै पुरस्कार तथा सम्मान रहेका छन् उहाँका । 

प्रेमप्रकाश मल्ल स्मृति पुरस्कार, पूर्णिमा साहित्य रत्न पुरस्कार, विकास पन्त स्मृति प्रतिभा पुरस्कार, सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार, लोकेन्द्र साहित्य पुरस्कार, मैनाली कथा पुरस्कार, गोविन्दचन्द्र गौतम दीपवती देवी स्मृति पुरस्कारलगायत दर्जनौँ पुरस्कार र सम्मान उहाँका खातामा छन् । 

प्रबल गोरखा दक्षिणबाहु चौथो, वीरेन्द्र–ऐश्वर्य स्मृति पदक, रजत महोत्सव पदक, प्रहरी सेवा पदक, परदेश सेवा पदक स्वदेशी पदक प्राप्त गर्नुभएका शाहले संयुक्त राष्ट्रसंघ सेवा पदक, मोजाम्बिक, संयुक्त राष्ट्रसंघ सेवा पदक, पूर्वी टिमोर, संयुक्त राष्ट्रसंघ सेवा पदक, हैटी र संयुक्त राष्ट्रसंघ सेवा पदक, डार्फर पनि प्राप्त गर्नुभएको छ ।