माइतिघर

माइतिघर

शर्मिला तिमल्सिना  |  साहित्य  |  भदौ १९, २०७८

आमाले पकाएको तामाको तरकारी, 
कत्ति मिठो हुन्थ्यो नि खाँदा बरिलै
दहर खाने दिनैमा आमा साथमा नहुँदा,
रुन्छ मन माइतीघरमा जाँदा बरिलै  

बारीबाट केराको घरी ल्याई बाबाले, 
गबाएर राखिदिन्थे तीजमा बरिलै 
पञ्चमीको दिनको लागि गाभा टिपी दादाले, 
चासो दिन्थे दर खाने चिजमा बरिलै 

हरियो दतिउन केलाएर भाउजुले, 
आफु पनि गइन् अरे माइत बरिलै 
पूजाको सरदम जुटाएर घरमा, 
दिदी लिन आएछ भाइत बरिलै 

तीजमा माइत जानलाई विदा दिनुस् सासू ज्यु, 
पञ्चमीको भोलीपल्ट आउँला बरिलै 
माइतीघरको आँगनीमा छमछम्ती नाचौंला, 
दिदी बैनी मिलेर गाउँला बरिलै 

कैले आउली बैनी भन्दै बाटो हेर्दै बसेछन्,
दाइ हजुरले चौतारीमा कुरी बरिलै 
भेट्ना साथै अँगालो हाली रुने मन थियो, 
कोरोनाको डरले राखें दूरी बरिलै 

चाडैं घर आएस् बुहारी भन्नू भाछ सासुले, 
छुट्ने दिन आयो फेरि खिन्न बरिलै 
सकारात्मक सोच राख्छु मनमा पिडा भएनि, 
रमाइलो तीजमा चिन्ता लिन्न बरिलै ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दु नारीहरुलाई हरितालिका तीजको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !